महाकाली वारिपारि सिमानाले छुट्याउँछ, संस्कृतिले जोड्छ


  • माघ ९, २०७९
  • 14 Views
महाकाली वारिपारि सिमानाले छुट्याउँछ, संस्कृतिले जोड्छ image

दार्चुला । झोलुंगे पुलको वारिपारि, जहाँ वारिपारि सुरक्षाकर्मीको पहरा छ, राति हम्मेसी आउजाउ चल्दैन । जब बिहानको ७ बज्छ, नाकामा वारिपारि आउजाउ सुरु हुन्छ । महाकाली नदीले छुट्याएको नेपाल–भारत सीमालाई दार्चुलामा १० वटा झोलुंगे पुल र केही तुइन एवं ट्युबले जोडेको छ । खुला सिमानाबाट वर्षौंदेखि दुवै मुलुकका नागरिक आवतजावत गरिरहेका छन् । सीमावर्ती क्षेत्रका नेपाली भारतीय बजारमा निर्भर छन् । उस्तै भूगोललाई सिमानाले छुट्याए पनि सामाजिक सम्बन्धले वारिपारि जोडेको छ, कतिपय अवस्थामा जीविकोपार्जनमा पनि एकअर्कालाई छ ।

सीमान्त जिल्ला दार्चुलाको बीचबाट महाकाली नदी बगेको छ । वारि नेपाल र पारि भारत पर्छ । सीमान्त क्षेत्रको रहनसहन एवं संस्कृति मिल्दो छ । महाभारतकालदेखि भारतको कुमाउँ समुदायको संस्कृतिसँग दार्चुलाको समाज जोडिएको छ । त्रिदेशीय सीमाबिन्दुमा अवस्थित दार्चुलाको अधिकतर सम्बन्ध भारतको सीमान्त क्षेत्रसँग मिल्दो रहेको दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक नरेन्द्रराज अवस्थी बताउँछन् । ‘भूगोलले दार्चुला र धारचुलाको सम्बन्ध छुट्याएको भए पनि पारिवारिक, वैवाहिक सम्बन्ध र धार्मिक संस्कृतिले जोडेको छ,’ उनी भन्छन्, ‘महाकाली वारिपारि हिन्दु बहुल बसोबास छ ।’

दार्चुलाको लेकम–३ लालीदेखि व्यास गाउँपालिकाको लिम्पियाधुरासम्मको भूगोल महाकाली नदीले छुट्याएको छ । व्यास क्षेत्रको माथिल्लो भाग र सदरमुकामको खलंगा क्षेत्रमा वारि र पारि सौका समुदायको बसोबास छ । दुवै क्षेत्रमा समान समुदायको बसोबास रहेकाले जन्मदेखि मृत्यु संस्कारमा वारिका पारि र पारिका वारि आउजाउ गर्छन् ।

महाकाली नदीको वारि र पारि दुवैतिर विशाल पहाड छन् । नेपालबाट हेर्दा भारतीय पहाडमा बिहानको सूर्य पहिले उदाउँछ । भारततिरबाट हेर्दा नेपाली पहाडमा सूर्यको पहिलो किरण परेको देखिन्छ । पहाडको त्यही फेदीमा एकातिर दार्चुलाको खलंगा बजार छ, अर्कातिर भारतीय राज्य उत्तराखण्डको धारचुला बजार । दुवै बजार महाकाली नदीमाथिको एउटा निकै पुरानो, धरापजस्तो झोलुंगे पुलले जोडिएका छन् । यो पुल दुई देशको सीमा हो ।

पुलको दुवैतर्फ जस्ताका ढोका बनाइएका छन्, जुन बिहान खुल्छन् र साँझ बन्द हुन्छन् । भारतीय सुरक्षाकर्मीले पुलको तस्बिर खिच्न दिँदैनन्, नेपाली सुरक्षाकर्मीले भने तस्बिर खिचे–नखिचेको त्यति वास्ता गर्दैनन् । सीमाका दुवैतिर बस्ने जनताको सुरक्षित आवागमनको पुरानो पुल यही हो । महाकालीको दुवैपट्टि किनारामा ठूलो बस्ती छ । दुवैपट्टिका बासिन्दाका बीचमा राम्रो सम्बन्ध छ । बिहेबारी, बजार र दुःखसुखको सम्बन्ध रहेको पूर्वशिक्षक शास्त्री केशवदत्त बडूले बताए ।

उनका अनुसार ब्रिटिसकालदेखि नै भारतमा विकासले फड्को मारेको हुनाले नेपालको तुलनामा सम्पन्नतामा अगाडि छ । दशकअघि भारतले धारचुलासम्म सडक मार्गको पहुँच पुर्‍याएपछि विकास र रोजगारीको अवस्था राम्रो छ । स्थानीयलाई सरकारी सेवासुविधा पनि नेपालमा भन्दा राम्रो पाइन्छ । पहिलादेखि बजार विस्तार र सीमा क्षेत्रमा सडक निर्माण गरिएको हुनाले सीमावर्ती बस्तीका मानिसहरू भारतमा बढी निर्भरता बढाएको बडूको भनाइ छ । पञ्चायतसम्म जिल्लाका दुई नाकाबाट मात्र भारत आवतजावत गर्न मिल्थ्यो । अहिले लेकमको लालीदेखि व्यासको सीतापुलसम्म करिब एक दर्जन ठाउँमा झोलुंगे र काठेपुलबाट वारिपारि आउजाउ भइरहेको छ ।

करिब डेढ दशकअघिसम्म दार्चुलामा अधिकांश ठाउँका बासिन्दा भारतीय बजारमा आश्रित थिए । दार्चुला सदरमुकामसम्म राष्ट्रिय राजमार्ग र सदरमुकाम जिल्लाका शाखा सडक सञ्चालनमा आएपछि निर्भरता घटेको छ । तर, सीमावर्ती बस्ती भने पारिकै बजारको भर छ । सीमावर्ती बस्तीका नेपालीका लागि दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि निर्माण सामग्रीसम्म भारतीय बजारबाट आपूर्ति हुने गरेको छ । वारिको बजारमा ग्राहक थोरै छन् ।

‘हाम्रो पूरै व्यापार नेपाली ग्राहकमा निर्भर छ,’ भारत धारचुला बजारका व्यवसायी कैलाश भट्टले भने, ‘हाम्रो सम्बन्ध व्यापारको मात्रै होइन, पूजापाठका लागि नेपाल नै जान्छौं । हाम्रो परिवारको कुल पुज्न नेपाल नै जानुपर्छ ।’ महाकाली नगरपालिका–४ जमन महरा नजिकै पर्ने भारतीय बजारबाट नेपालीले खेतीका बेला चाहिने बीउ, मल ल्याउँछन् । सजिलो हुने भएकाले गाउँलेले दैनिक उपभोग्य सामान ल्याउने गरेको उनी बताउँछन् ।

सीमा जोडिएकाले मजदुरीलगायत रोजगारका लागि अन्य ठाउँका तुलनामा सीमावर्ती बस्तीका बासिन्दालाई सहज छ । सीमा वारि र पारिका पिछडिएका समुदायका लागि खुला सिमाना बरदान जस्तै छ । वारिका मानिस घर छाडेर खाडी बहराइनलाई होइन कि छिमेकी भारतको नजिकका बजार एवं ठाउँहरूमा गएर आयस्रोत बनाएका छन् । ती ठाउँ उनीहरूका लागि जीवनयापन गर्ने राम्रो स्रोत सिद्ध भएको छ । उनीहरूमा प्रत्येक एक जनाले वर्षमा लाखौं आम्दानी गर्ने गरेका छन् । उनीहरूका लागि ती ठाउँ वैदेशिक रोजगारको थलो भएको छ । यस्तै सीमापारिका समुदायका मानिसहरू निर्माणजन्य कामका लागि नेपाल भित्रिने गरेका छन् ।

जिल्लाबाट हजारौं मानिसहरू रोजगारीका लागि भारत जाने भए पनि भारतबाट पनि सयौंको संख्यामा मजदुरीका लागि आउने गरेका छन् । दक्ष मिस्त्रीहरू नेपालभन्दा भारतीय बढी हुन्छन् । पेन्टिङ, कारपेन्टिरी, घर निर्माणमा मिस्त्रीहरू भारतकै बढी छन् । भारतीय कामदारको उपलब्धता वारिका लागि सहयोगी रहेको निर्माण व्यवसायी चक्रसिंह बोहराले बताए ।

सीमावर्ती क्षेत्रका बासिन्दाको आयस्तर राम्रो छ । विकास निर्माणमा भारतले धेरै फड्को मारेपछि सीमावर्ती क्षेत्रका स्थानीयले मजदुरी पाएका छन् । नजिक बस्तीका मानिसहरू राति घर फर्कने र दिनमा भारतमा गएर मजदुरी गर्ने गरेका छन् । महाकाली नगरपालिका, व्यास, मालिकार्जुन र लेकम गाउँपालिकाबाट भारतसित सीमा जोडिएका गाउँमा मजदुरीका लागि आउजाउ चल्छ । रोजगारीका अवसर सहज छन् । भारतमा धेरै अघि विद्यालय खुलेको हो । पहिले–पहिले पारि पढ्न जाने धेरै हुन्थे । ६० को दशकअघिसम्म यहाँका धेरै मानिसहरू उच्च शिक्षा पढ्नका लागि भारतमा निर्भर थिए । जिल्लाका धेरै ठाउँमा उच्च शिक्षासम्म पढाउने संस्थाहरू खुलेपछि भारत पढ्न जानेहरू घटेको स्थानीय दानसिंह टिंकरीले बताए ।

अहिले सीमा विवादले सीमा क्षेत्रका नागरिकमा यसअघिको सम्बन्ध चिसिन थालेको छ । भारतले सीमा नदी महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गर्न थालेपछि नागरिकस्तरमा वारिपारि ढुंगा हानाहानको घटना भइसकेको छ । अवरोधकै बीच भारतीय पक्षले एकलौटी तवरले काम अगाडि बढाउँदा दार्चुलावासी ढुंगामुढामै उत्रिएका हुन् । स्थानीय नागरिकमै गत मंसिर १८ को घटनायता बिग्रिएको सम्बन्ध सुधारको प्रयासमा दुवै देशका प्रशासनिक निकायले छलफल गर्नुपरेको थियो । उक्त छलफलपछि अहिले नागरिकस्तरमा सम्बन्ध सुधारिँदै छ । कान्तिपुर दैनिकबाट…