भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

माथिदेखि तलसम्मकै सत्ताको हलचल, सत्ताबाट हात धुुदा राप्रपामा तनाव


  • फाल्गुन १४, २०७९
  • 445 Views
माथिदेखि तलसम्मकै सत्ताको हलचल, सत्ताबाट हात धुुदा राप्रपामा तनाव image

काठमाडौं । राष्ट्रपति निर्वाचनमा बनेको आठदलीय मोर्चाले संघदेखि प्रदेशसम्मकै सत्तामा हलचल ल्याएको छ । कांग्रेस, माओवादीसहितको नयाँ मोर्चा बनेको भोलिपल्टै रापप्रा समर्थनसमेत फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । निर्णय गरिनसकेको एमाले पनि सत्ताबाट बाहिरिने लगभग निश्चित देखिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गत पुस १० मा प्रधानमन्त्री बनाउने बेला एक ठाउँमा रहेका सात दलमध्ये माओवादी, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नयाँ आठदलीय मोर्चामा छन् । मोर्चाले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ ।

सत्तारूढ दल एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सातदलीय गठबन्धन कायमै रहेको तर्क गर्दै नयाँ गठबन्धन नबनेको जिकिर गरेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने सत्ता समीकरणबारे ठोस छलफल नभए पनि राष्ट्रपति निर्वाचनले नयाँ सत्ता समीकरणको ढोका खुलेको बताए ।

‘आठ दलभित्र सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ,’ उनले भने, ‘निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्न सक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ ।’

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला राष्ट्रपतिको निर्वाचनमा बनेको गठबन्धनले समग्र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउँछन् । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले संघीय सरकार र प्रदेश सरकारमा समेत फेरबदल हुन सक्छ,’ उनले भने ।

जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले पनि नयाँ गठबन्धन संघदेखि प्रदेशसम्म विस्तार हुने विश्वास व्यक्त गरेका छन् । ‘संविधान रक्षाका लागि जनभावनाका साथ गठबन्धन बनेको हो, अब यसलाई केन्द्रदेखि प्रदेशससम्मको सत्ता समीकरणमा स्थापित गर्नुपर्छ,’ उनले भने ।

राष्ट्रपति निर्वाचनको आठदलीय मोर्चा सत्ता गठबन्धनमा बदलिए केन्द्र सरकारबाट एमाले बाहिरिनेछ । कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सरकारमा सहभागी हुनेछन् । वर्तमान सत्ता गठबन्धनमै रहेर पनि असन्तुष्टिसहित सरकारमा सामेल नभएका जसपा र नागरिक उन्मुक्तिलाई सरकारमा जाने वातावरण निर्माण हुन सक्छ ।

‘अहिलेको सरकारसँग हाम्रो प्रत्यक्ष सम्बन्ध जोडिएको छैन, आठ दलबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई लिएर सहमति भएको हो,’ जसपा प्रवक्ता मनीष सुमनले भने, ‘राप्रपाले जसरी एमालेले समर्थन फिर्ता लियो र सरकारलाई आवश्यक पर्‍यो भने हामी सरकारमा जान सक्छौं, आठदलीय सहमतिले त्यसका लागि वातावरण बनाएको छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.