काठमाडौं । तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेलिकोप्टर र जहाज बिहीबारदेखि सर्वसाधारणका निम्ति खुला गरिएको हो । जहाज र हेलिकोप्टर राखिएपछि अवलोकनकर्ताको भिड बढेको छ ।
हेलिकोप्टर र जहाज राखिएको ठाउँ राजदरबारको मुख्य भवनको पछाडि हो । त्यस ठाउँमा घोडाको रेस हुन्थ्यो, त्यसबाहेक चेसलगायत विभिन्न खेल प्रतियोगिता हुन्थे । तर, अहिले उक्त चौरमा घाँस छ भने बीच भागमा हेलिकोप्टर र जहाज राखिएका छन् ।
हेलिकोप्टर र जहाज राखिएको चौरलाई वरिपरि तारबार गरिएको छ । जहाज र हेलिकोप्टर राखिएको ठाउँ पिच भए पनि दायाँबायाँ पानी भरिएको छ । सोही कारण सर्वसाधारणले नजिकैबाट जहाज र हेलिकोप्टर नियाल्न पाउँदैनन् । तर, दुई–तीन महिनामै चौरलाई पार्क बनाइने र फूल तथा बोटबिरुवा रोपिने सूचना अधिकारी थापाले बताए ।
उनले पछिल्लो समय जहाज र हेलिकोप्टर पनि अवलोकनका निम्ति खुला गरिएकाले आगन्तुकको संख्या बढ्ने बताए । ‘अहिले जहाज र हेलिकोप्टर अलि परैबाट मात्र हेर्न सकिन्छ, नजिकै जान ठाउँ व्यवस्थित छैन,’ उनले भने, ‘अब यसलाई व्यवस्थित बनाएर नजिकैबाट जहाज र हेलिकोप्टर अवलोकन गर्न सक्ने बनाउँछौँ ।’नारायणहिटीमा दैनिक दुई हजारदेखि तीन हजारसम्मले अवलोकन गर्छन् । उनीहरूले दरबार क्षेत्रमा रहेका सबैजसो ठाउँ र वस्तु हेर्न पाउँछन् । त्यस्तै, नक्सालपट्टि रहेको गणतन्त्र स्मारक पनि अवलोकनका निम्ति खुला भइसकेको छ । नारायणहिटीकै शुल्क तिरेको टिकट प्रयोग गरी त्यहाँ छिर्न पाइन्छ ।
विगतका वर्षका तुलनामा पछिल्लो समय दरबार अवलोकनका लागि आउनेको संख्या बढेकाले यसलाई थप सजावट र व्यवस्थित बनाउन आवश्यक रहेको सूचना अधिकारी थापा बताउँछन् । उनका अनुसार बजेट सीमित हुँदा दरबार परिसरमा बिरुवा रोप्ने, सजाउने र फूल रोप्ने कार्य गर्न कठिन भइरहेको छ । नारायणहिटीमा प्रवेश गर्दा दुई सय रुपैयाँ शुल्क लिइन्छ । त्यस्तै, विद्यार्थीलाई ५० रुपैयाँ र ज्येष्ठ नागरिकका लागि शुल्क लाग्दैन । त्यस्तै, विदेशी पर्यटकलाई पाँच सय रुपैयाँ लाग्छ ।
पुराना संरचना मर्मत गर्नसमेत कठिन भइरहेको छ । तर, यसपटक सरकारले नीति तथा कार्यक्रममा दरबार परिसरमा रहेका पुराना संरचना पुनर्निर्माणलाई पनि समेटेकाले पुराना भवन पुनर्निर्माण हुने सूचना अधिकारी थापाको भनाइ छ । ‘दरबार परिसरमा रहेका केही पुराना संरचना पुनर्निर्माणका लागि सरकारले यसपटक कार्यक्रममा समेटेको छ,’ उनले भने, ‘पुरानै शैलीमा दरबार क्षेत्रमा रहेका संरचनाको संरक्षण गर्छौँ ।’
सन् १९८१ मा बनेको हेलिकोप्टर स् विपतमा प्रयोगदेखि राजापरिवारका सदस्यले तालिमसमेत लिए
दरबारमा राखिएको हेलिकोप्टर नेपाली सेनाको हो । यो हेलिकोप्टर १९८१ मा एरोसपटाइल कम्पनीले फ्रान्समा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो । यो हेलिकोप्टर १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । नेपाली सेनाले यसलाई विशेष प्रयोजनमा प्रयोग गर्दै आइरह्यो ।
सेनाको गनसिप, तोराबोराका साथै अन्य हवाई मिसनमा यो हेलिकोप्टर प्रयोग गरियो । यसबाहेक नेपालमा हुने विपत्जन्य घटनामा पनि प्रयोग भयो । नेपाली सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण महोत्सव तथा समारोहमा प्रयोग गरेको थियो । यसबाहेक राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । महोत्सव तथा समारोहमा ब्यानर डिस्प्ले फ्लाइटका रूपमा यही हेलिकोप्टर प्रयोग गरिन्थ्यो ।
यो हेलिकोप्टरबाट नेपाली सेनाले नेपालमा हुने आधारभूत पाइलट तालिम लिन्थ्यो भने राजपरिवारका सदस्यले पाइलट सीप र तालिम लिने गरेका थिए । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । यो हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ । त्रिभुवन विमानस्थलमा ग्राउन्डेड गरेर राखिएको यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ ।
राज परिवारले प्रयोग गरेको र विपत्जन्य घटनामा प्रयोग भएकाले यो हेलिकोप्टरलाई संग्रहालयमा राखिएको तथा यसलाई खिया लाग्न र थप बिग्रनबाट बचाइने नारायणहिटी दरबार संग्रहालय विकास समिति सूचना अधिकारी थापाको भनाइ छ ।राजपरिवार यो हेलिकोप्टर लिएर हिमाली र पहाडी जिल्लामा समेत पुगेको थियो । काठमाडौं आसपासका नागार्जुन, शिवपुरीलगायत ऐतिहासिक ठाउँमा जाँदा यही हेलिकोप्टर प्रयोग हुन्थ्यो । ‘यो हेलिकोप्टर राजपरिवारका सदस्यले पाइलट तालिम लिन पनि प्रयोग गर्नुभयो,’ नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले भने, ‘निजी घुमघाम तथा अवलोकनमा जाँदा राजपरिवारका सदस्य यही जहाज र हेलिकोप्टर प्रयोग गर्नुहुन्थ्यो ।’
श्री ५ सरकारले किनेको दुई अर्ब ६७ करोडको जहाज चल्दाचल्दै ग्राउन्डेड
हाल दरबार संग्रहालयमा राखिएको नेपाली सेनाको विमान पनि राजपरिवारले प्रयोग गर्दै आइरहेको थियो । यो जहाज ०७७ मा नारायणहिटीमा लगेर ग्राउन्डेड गरी राखिएको हो । यो जहाजमा अन्य यात्रुवाहक जहाजमा जसरी सिट राखिएको छैन । राजपरिवारले यसका सिट मोडिफाई गरी जहाजभित्र सुरक्षाकर्मी र आफूहरू बस्ने सोफा तथा कम्फर्टेबल सिट राखेका थियो ।
०३१ मा तत्कालीन श्री ५ सरकारद्वारा दुई अर्ब ६७ करोड पाँच लाख ५४५ मा बेलायतबाट यो जहाज खरिद गरी नेपाल भित्र्याइएको थियो । नाइन एन–आरएसी रजिस्ट्रेसन नम्बर रहेको यो जहाज नितान्त भिभिआइपी उडानको निम्ति खरिद गरिएको थियो । १ वैशाख ०३८ मा तत्कालीन शाही नेपाली सेनालाई जहाज हस्तान्तरण भएको थियो । यो जहाजमा तत्कालीन राजपरिवार र अन्तर्राष्ट्रिय प्रमुखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने गरिएको थियो ।
नेपाली सेनाले राजपरिवारको आवश्यकता र निर्देशनअनुसार यो जहाज सञ्चालन गर्दै आएको थियो । राजतन्त्रपछि पनि यो जहाजलाई सेनाले महत्वपूर्ण उडानमा प्रयोग गर्दै आइरहेको थियो । त्यसपछि २००१ मा भारत तथा २०१५ मा पाकिस्तानमा भूकम्प जाँदा यस जहाजले नेपालका तर्फबाट राहत सामग्री पुर्याएको थियो । नेपालमा ०७२ मा गएको भूकम्पका वेला यो जहाजले अन्तिम उडान भरेको थियो । यो जहाजले हालसम्म नौ हजार ८१२ उडान भरेको छ ।
सरकारले राजपरिवारको इतिहाससँग जोडिएको यो विमानलाई संरक्षणका लागि नारायणहिटी दरबार परिसरमा लगेको थियो । तर, उड्ने अवस्थामै रहेको जहाजलाई थन्क्याएको भन्दै कतिपयले विरोधसमेत गरेका थिए । दरबार क्षेत्रमा राखिएको जहाज अब सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् ।
राजपरिवारसँग जोडिएको जहाज भएकाले यसलाई चल्दाचल्दैको अवस्थामा संरक्षण गरिएको नारायणहिटी दरबार संग्रहालय विकास समितिका सूचना अधिकारी थापाको भनाइ छ । तर, नेपाली सेनाका सहायक रथी सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार जहाज र हेलिकोप्टर चालू अवस्थाका होइनन् ।
सो जहाज नेपाली सेनाको सैनिक हवाई निर्देशनालयमा कार्यरत पाइलटले उडान भर्दै आइरहेका थिए । जहाज पाइलट तेजेन्द्रजंग थापालगायतको टोलीले उडान भर्दै आइरहेको थियो । यी दुवै मर्मतसम्भार गर्नुपर्ने अवस्थाका हुन् । तर, संग्रहालयमा राखिने भएपछि मर्मत गरिएन । ‘जहाज र हेलिकोप्टर चालू अवस्थाका होइनन्, सो जहाज नेपाली सेनाको सैैनिक हवाई निर्देशनालयमा कार्यरत पाइलटले उडान भर्दै आउनुभएको थियो,’ उनले भने ।
रानी ऐश्वर्यका निजी बगैँचा पनि खुला
नारायणहिटी दरबार परिसरमा रहेको रानी ऐश्वर्यको निजी बगैँचा पनि बिहीबारदेखि खुला गरिएको हो । यो बगैँचा रानी ऐश्वर्यले ०४७–०५१ को बीचमा निर्माण गरेकी थिइन् । तर, राजतन्त्रको अन्त्यसँगै उक्त बगैँचा झाडीमा परिणत भएको थियो । नारायणहिटी दरबार संग्रहालय हेरचाह समितिले सो बगैँचालाई दुई वर्षयता सजावट गरेर पुरानै अवस्थामा पुर्याएको हो ।
समितिका सूचना अधिकारी थापाका अनुसार यो बगैँचा रानी ऐश्वर्यकै चाहनाअनुसार बनेको थियो । बगैँचाको डिजाइन र सजावट पनि उनको इच्छाअनुसारकै हो । ‘आफ्नै निजी बगैँचा बनाउने र त्यसमा काम गर्ने उहाँका सोख थियो, सोहीअनुसार बगैँचा बनेको थियो,’ थापाले भने, ‘समय मिलेका वेला उहाँले बगैँचामा गोलमेल र सरसफाइ पनि गर्नुहुन्थ्यो ।’
बगैँचाभित्र गोला ढुंगाको झरना छ । रानीले बगैँचामा विश्वमा शान्ति फैलियोस् भन्ने सन्देश दिन स्तम्भ पनि बनाइकी थिइन् । यसबाहेक यो बगैँचाको आकर्षण पञ्चपल्लव रूखले बनेको आरामस्थल हो । दरबार क्षेत्र घुम्ने पर्यटकले अब यस बगैँचामा प्रवेश गर्न पाउनेछन् । तर, यहाँ फोटो खिच्न निषेध गरिएको छ ।
नारायणहिटी दरबार परिसरको बदामेचौरमा राखिएको जहाज र हेलिकोप्टरका आ–आफ्नै कथा
सरकारले राजपरिवारको इतिहाससँग जोडिएको यो विमानलाई संरक्षणका लागि ०७७ मा नारायणहिटी दरबार परिसरमा लगेको थियो । यो जहाजमा अन्य यात्रुवाहक जहाजमा जसरी सिट राखिएको छैन । राजपरिवारले यसका सिट मोडिफाई गरी जहाजभित्र सुरक्षाकर्मी र आफूहरू बस्ने सोफा तथा कम्फर्टेबल सिट राखेका थियो । ०३१ मा तत्कालीन श्री ५ सरकारद्वारा दुई अर्ब ६७ करोड पाँच लाख ५४५ रुपैयाँमा बेलायतबाट यो जहाज खरिद गरी नेपाल भित्र्याइएको थियो ।
नाइन एन–आरएसी रजिस्ट्रेसन नम्बर रहेको जहाज भिभिआइपी उडानका निम्ति खरिद गरिएको थियो । यो जहाजमा तत्कालीन राजपरिवार र अन्तर्राष्ट्रिय प्रमुखलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने गरिएको थियो । यो हेलिकोप्टर ०७६ देखि नारायणहिटी दरबार परिसरमा संग्रहका रूपमा राखिएको छ, जसलाई फ्रान्सको एरोसपटाइल कम्पनीले १९८१ मा निर्माण गरेको थियो । यसले १३ जुन १९८२ देखि नाइन एन–आरएएफका रूपमा भिभिआइपी उडान गर्ने गरेको थियो ।
पछि १ जुलाई १९९१ मा नेपाली सेनाको ११ नम्बर बाहिनी अड्डालाई हस्तान्तरण गरिएको थियो । सेनाले विपत् व्यवस्थापन, खोज, उद्धार, राहत वितरण र राजपरिवारमा हुने महत्वपूर्ण समारोहमा प्रयोग गरेको थियो । राजपरिवारका सदस्य घुम्न जाने साधन पनि यही थियो । यसले १९ फेब्रुअरी २०१५ मा अन्तिम उडान गरेको थियो । हेलिकोप्टरले सञ्चालन अवधिभर नौ हजार सात घन्टा उडान भरेको छ । नयाँ पत्रिका देनिकबाट….