सल्यान। राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन। आर्थिक वर्ष २०७५र७६ मा एक अर्ब रुपियाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो। चालू आर्थिक वर्षमा सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्। तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन्।
पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन्। ठुल्ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ। सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८।४ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक–पटक ताकिता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको, पत्रपत्रिकामा सूचना र एपीजी निकालेको छ।
२०७६र७७ मा ऊर्जारकृषकरमस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला एक किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। तर नालामात्र निर्माण गरेर बाँकी काम अलपत्र छाडेको छ। सिद्धकुमाख गाउँपालिका–१ पटारेका स्थानीय राजेश परियारले सकडमा काम अलपत्र हुँदा धुलो र धुँवाले हैरान बनाउनुका साथै बस्न नसक्ने अवस्थामा रहेको बताउनुभयो। उहाँका अनुसार बर्सात्मा सडक हिलाम्मे र हिउँदमा धुलोले आजित बनाएको छ। चोरखोला कपुरकोट क्षेत्रको छ किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम तीन वर्ष अघिबाट सुरु गरिए पनि काम सम्पन्न भएको छैन।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सडकको तत्कालै मर्मत–सम्भार र स्तरोन्नति गर्न भन्दै पटक–पटक छलफल र निर्णयसमेत हुने गरेकोे भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो। उहाँका अनुसार ठेकेदारले काम गर्छौं भन्ने जवाफ दिने गरे पनि काम हुन सकेको छैन। सांसद प्रकाश ज्वालाले राप्ती राजमार्ग तीन जिल्ला रुकुम, सल्यान र रोल्पाको जनताका लागि मुख्य सडक भएकाले छिटोछरितो र गुणस्तरीय बनाउन चासो दिएको बताउनुभयो। गोरखापत्र दैनिकबाट….
