DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विमान दुर्घटनाका पाँच प्रश्न


  • माघ ३, २०७९
  • 249 Views
विमान दुर्घटनाका पाँच प्रश्न image

काठमाडौं । नेपालले फेरि एकपल्ट अकल्पनीय हवाई दुर्घटना बेहोर्नुपरेको छ । काठमाडौंबाट आइतबार बिहान पोखरा उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती नदी खोंचमा दुर्घटनाग्रस्त हुँदा नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो क्षति पुगेको छ । विमानमा यात्रुदल सदस्यसहित ७२ जना सवार रहेकामा सोमबार साँझसम्म ६८ जनाका शव भेटिएका छन्, ४ अझै बेपत्ता छन् ।

हवाई मार्गलाई यातायातको सबैभन्दा सुरक्षित माध्यम मानिए पनि र काठमाडौं–पोखरा उडानलाई देशभित्र तुलनात्मक रूपमा सुरक्षित भनिए पनि आइतबार जुन दुर्घटना हुन पुग्यो, त्यसले एकसाथ कैयौं प्रश्न जन्माएको छ । खासमा छोटो–छोटो समयमै एकपछि अर्को गरी मुलुकमा किन हवाई दुर्घटना भैरहेका छन् रु यो प्रश्नको उचित निरूपण हुनैपर्छ । खासमा पछिल्लो यो आपत्ले हाम्रो उड्डयन सुरक्षामा आमूल सुधारको खाँचो झन् टड्कारोसित औंल्याएको छ, जसलाई सरकारले बिनाबियाँलो हृदयंगम गर्न आवश्यक छ ।

सर्वप्रथम त, मौसम अनुकूल नै हुँदा पनि यतीको पछिल्लो विमान किन दुर्घटना हुन पुग्यो रु पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार उक्त उडान अवतरण गर्ने तरखरमा छँदा विमानस्थलको ‘भिजिबिलिटी’ ७ किलोमिटर थियो, जबकि अवतरण गर्न ५ किलोमिटर दृष्टिक्षेत्र हुनु नै पर्याप्त हुन्छ । हावाको गति पनि प्रतिघण्टा साढे ५ किलोमिटर मात्र थियोस जहाजलाई अवतरणमा बाधा पुग्ने स्थिति थिएन । तैपनि धावनमार्गबाट १८ सय मिटरनजिक पुगिसकेको विमान दुर्घटनामा पर्‍यो, यसको यकिन कारण पत्ता लगाउनुपर्छ ।

मन्त्रिपरिषद्ले दुर्घटनाबारे छानबिन गर्न आइतबारै पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँचसदस्यीय आयोग गठन गरेको छ । विज्ञसहितको आयोगले पक्कै उचित छानबिन गर्ला तर लोक त्यति विश्वस्त देखिन्नस कतिले त अन्तर्राष्ट्रिय जाँच टोली नै बनाउन माग गरेका छन् । खास गरी यसअघिका दुर्घटनापछि गठित आयोगहरूले अक्सर मौसम वा मानवीय कारणलाई मात्रै दोषी देखाउने गरेकाले उड्डयन सुरक्षा सुध्रिन नसकेको धेरैको गुनासो छ, जसलाई यसै खारेज गर्न सकिँदैन ।

अनुसन्धानहरू मौसम या मानवीय त्रुटि मात्र औंल्याएर टुंगिँदा हवाई सुरक्षालाई प्रणालीगत रूपमै थप सुरक्षित र जिम्मेवार बनाउने अभिभारामाथिको प्रश्न गौण बन्ने गरेको यथार्थ बिर्सिदिन मिल्दैन । तसर्थ, यस आयोगसित सत्यतथ्य पत्ता लगाउने चुनौती अहम् छ, जसलाई उसले जुनसुकै सर्तमा पूरा गर्नुपर्छ ।

दोस्रो, आयोगको औचित्य र स्वायत्तता दुवैमाथि प्रश्न छ । गत जेठमा मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटना सम्बन्धी छानबिन प्रतिवेदन अझै सार्वजनिक नभएको परिप्रेक्ष्यमा भोलि यस आयोगको प्रतिवेदनलाई पनि गम्भीरतापूर्वक नलिइएला भन्न सकिन्न । अर्को, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ ले यस्ता जाँच आयोगहरू स्वायत्त हुनुपर्ने आवश्यकता औंल्याएको छस यस सन्दर्भमा सरकारी अधिकारीसहितको यो आयोग कति स्वायत्त हुन सक्छ, आफैंमा प्रश्न छ । यसर्थ, फेरि अर्को एक जाँच आयोग मात्रै बन्न र अर्को एक थान झाराटारुवा प्रतिवेदन मात्रै जारी गर्नबाट बच्न यसका सदस्यहरू सतर्क रहनुपर्छ । नियामक निकायदेखि उड्डयन व्यवसायीसम्म कसैको पनि अनुचित दबाब–प्रभावमा नपरीकन आयोगले दुर्घटनाका कारण खोतल्दै कार्यदेश अनुसार हवाई सुरक्षाका उपाय पहिल्याउनुपर्छ ।

तेस्रो, तारन्तारको दुर्घटनाकै सन्दर्भमा एउटा प्रश्न उठेको छ( के नेपालको आन्तरिक उडानमा प्रयोग हुने सबै विमान सम्पूर्ण रूपमा चल्नयोग्य छन् रु विमान कहिल्यै थोत्रा हुँदैनन्, बनेको मिति मात्र पुरानो हुँदै जान्छ भनिन्छ, सिद्धान्ततः त्यो सही पनि होला, तर विमानलाई चुस्त–दुरुस्त राख्न जुन खाले प्राविधिक परीक्षण वा मापदण्डको पालना भैरहनुपर्छ, त्यो भएको छ त रु कि एयरलाइन्सहरूले ‘चलिहाल्छ नि’ शैलीमा पनि विमान उडाइरहेका छन्  ? अहिलेसम्म भएका सबै दुर्घटनाहरू वास्तवमै टार्नै नसकिने आपत् थिए कि सम्बन्धित निकायहरूका गैरजिम्मेवारीका उपज पनि रु यती एयरलाइन्सकै हकमा पनि स्थापनाको २४ वर्षमा ३७ विमान प्रयोगमा ल्याउँदा ११ वटा दुर्घटनामा पर्नुलाई के सहजै स्वाभाविक मान्न सकिन्छ रु आफैंमा संगीन लाग्ने यी प्रश्नहरूको पाटोमा पनि नियामक निकायले उचित ध्यान पुर्‍याउनुपर्छ ।

चौथो, नियामक निकाय लगायतकै मिलेमतोमा कतै सम्झौता गरेर विमान उडाउने गरिएको त छैन भन्ने जुन आम–आशंका छ, सरकारले त्यसलाई चिर्ने गरी उड्डयन क्षेत्रमा संरचनागत सुधार गर्नुपर्छ । अहिले नियामक निकायको हैसियत र दक्षता दुवैमाथि प्रश्न छ । सेवा प्रदान र नियमन एउटै निकायले गर्नु नै जग हँसाउन पर्याप्त छ । एक दशकदेखि मुलुकको वायुसेवा युरोपेली संघको कालो सूचीमा पर्नुको एउटा कारण पनि यही हो । परन्तु यस क्षेत्रको नियामक निकाय हवाई उड्डयन प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक निकाय अलग–अलग बनाउने विधेयक स्वार्थ समूहहरूको चलखेलका कारण संसद्मा अघि बढ्नै सकेन । अतः दुर्घटना न्यूनीकरणमा सरकार र संसद्को यसतर्फ उचित ध्यान जानैपर्छ ।

पाँचौं, आइतबारको दुर्घटनाले नेपालको उद्धार क्षमतामा पनि पुनः प्रश्न तेर्स्याएको छ । दुर्घटनाबारे खबर पाएको १० मिनेटभित्रै सेना, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी घटनास्थल पुगे पनि विमानमा लागेको आगो निभाउन पानी, दमकल वा अन्य उपकरण तत्काल उपलब्ध नहुनु आफैंमा टीठलाग्दो अवस्था हो । पोखराजस्तो सहरमा पनि आपत्कालीन उद्धार संयन्त्र र उपकरण दुवैको अभाव देखिनु चिन्ताको विषय हो । यस्ता घटनाबाट पाठ सिकेर सरकारले प्रभावकारी उपकरण व्यवस्थापन र त्यसमा केन्द्रित संयन्त्र तयार पार्न जोड दिनुपर्छ, ताकि भविष्यमा परेका बेला समयमै उद्धार हुन सकोस् ।

मूल प्रश्न भने फेरि पनि उडान सुरक्षाको हो, त्यसतर्फ सम्पूर्ण शक्तिले सुधार थाल्नैपर्छ । यस्ता घटनामा कमी ल्याउन यो शोकका बेला सम्बन्धित सबैको सार्थक संकल्पको जरुरी छ । अहिले आन्तरिक उडान भरेको विमान सकुशल अवतरण नहुन्जेलसम्म त्यसमा सवार यात्रु र तिनका आफन्त धुकचुक–धुकचुक भएर बस्नुपर्ने अवस्था छ । सर्वत्र सबै याममा मोटर नगुड्ने हाम्रोजस्तो देशमा हवाई यात्राको महत्त्व त्यसै धेरै छ, त्यसमाथि आन्तरिक उडान असुरक्षित हुँदा त्यसको सोझो असर आन्तरिक र बाह्य पर्यटनमा पनि पर्छ । अतः सबैका लागि विश्वसनीय बनाउन यस क्षेत्रमा महसुस गर्न सकिने गरी ठोस सुधारको खाँचो छ । त्यसका निम्ति हवाई दुर्घटनालाई आफैंमा नियमित नियति बन्नबाट जसरी हुन्छ रोक्नुपर्छ, सबैले ढुक्कसँग यात्रा गर्न सक्ने वातावरण बन्नुपर्छ । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.