संखुवासभा । खाँदबारीस्थित जिल्ला कारागार संखुवासभामा सुरक्षाघेराभित्रै दुई कैदीको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि १० सुरक्षाकर्मी र नौ कैदी पक्राउ परेका छन् । प्रहरीकै मिलेमतोमा कैदीहरू आकाश बलामी र विनोद तोलांगीको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न नमानिरहेका वेला जिल्ला प्रहरी कार्यालयले घटनाका वेला कारागारको सुरक्षामा खटिएका असइ लक्ष्मी चौधरीको नेतृत्वको टोलीलाई हिरासतमा लिएको हो ।
घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले भने, ‘१९ जनालाई नियन्त्रणमा लिएर फराकिलो ढंगबाट अनुसन्धान भइरहेको छ, चाँडै निष्कर्षमा पुग्छौँ ।’ पक्राउ पर्नेमा हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनीष राई, दमनसिंह राई र सुमन गुरुङ पनि छन् ।
त्यस्तै, कारागारका चौकीदार रामकुमार कार्कीसहित कैदीहरू कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारू, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले हिरासतमा राखेको छ ।मंगलबार राति कारागारभित्र भएको कुटपिट घटनामा नुवाकोट ककनी– ७ का २३ वर्षीय बलामी र संखुवासभा मादी नगरपालिका– ५ का १९ वर्षीय तोलांगीको बुधबार बिहान मृत्यु भएको थियो । उनीहरू मंगलबार राति कारागारमा रहेको शौचालयको झ्यालबाट बाहिर भागेकामा प्रहरीले नियन्त्रणमा लिएर कारागारभित्र प्रहरी बन्दीगृहको ब्लक ‘ए’ लगेर राखिएको थियो । ब्लक ‘ए’मा ६६ जना कैदीबन्दी बस्दै आएका थिए ।
घटनाबारे संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । जसमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दा फाँटका नायब सुब्बा तारणी घिमिरे सदस्य छन् ।
घटनामाथि कोसी प्रदेश प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । कारागारको सिसिक्यामेरा फुटेज बिहीबार नै कोसी प्रदेश प्रहरी एसपी ऋषिराम कँडेल नेतृत्वको टोलीले नियन्त्रणमा लिइसकेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रदेश प्रहरीको टोलीमा प्रहरी निरीक्षक जितेश दाहाल, सइ रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई छन् ।
पीडितले दिएको जाहेरी लिने सहमति
गृहले गठन गरेको कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वको पाँच सदस्यीय टोली संखुवासभा आइपुगेको हो । डिएसपी कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र खड्काको टोलीले घटनास्थलको अनुगमन गरेको छ । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग कोसी प्रदेशका प्रमुख उपसचिव पवनकुमार भट्टको नेतृत्वमा तीन सदस्यीय टोलीले पनि घटनाको अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार गृह र मानव अधिकार आयोगको टोली, जनप्रतिनिधि, प्रशासन, प्रहरी र पीडित पक्षबीच शुक्रबार छलफल भएको छ । छलफलले शनिबार शवको पोस्टमार्टम गर्ने, आफन्तले शव बुझ्ने र जाहेरी प्राप्त भएपछि मुद्दा चलाउने प्रक्रिया सुरु गर्ने सहमति भएको छ । नयाँ पत्रिका दैनिकबाट…