काठमाडौं । शिक्षण सामग्रीको अभावमा अपांगता भएका ७० हजार बालबालिकालाई वैकल्पिक शिक्षण सिकाइ गतिविधिमा सहभागी हुन समस्या भएको छ । बहुअपांगता भएका बालबालिकालाई अझ धेरै समस्या छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्लास रिपोर्ट ०७५ अनुसार पूर्वप्राथमिक तहमा तीन हजार दुई सय ७०, आधारभूत तह ९कक्षा १–८० मा ५२ हजार तीन सय ६६ र माध्यमिक तह ९९–१२० मा १४ हजार पाँच सय ८९ अपांगता भएका बालबालिका अध्ययनरत छन् । तर, अनलाइन तथा वैकल्पिक विधिको शिक्षण क्रियाकलापमा उनीहरूको सिकाइमा सहयोगी हुने शिक्षण सामग्री पर्याप्त छैनन् ।
लगनखेलस्थित नमुना मछिन्द्र माविका प्रधानाध्यापक राधाकृष्ण महतले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरेर सिकाउन कठिन रहेको, तर प्रयास जारी राखेको बताए । यो विद्यालयमा तीन सय ६२ दृष्टिविहीन बालबालिका अध्ययन गर्छन् । चित्र, नक्सा भएका पाठ तथा गणित विषय दृष्टिविहीनका लागि बुझाउन कठिन हुने प्रधानाध्यापक महतले बताए । अनलाइन कक्षामा शिक्षकले गृहकार्य दिने, नोट दिने गरे पनि दृष्टिविहीनका लागि ब्रेल पुस्तक नहुँदा सिकाइमा असर परेको महतले बताए ।
‘प्रत्यक्ष कक्षा सञ्चालन भएको भए अडियो सामग्री दिइन्थ्यो, अहिले सम्भावना छैन, काठमाडौंवरिपरि बस्नेले ब्रेल पुस्तक पाए, बाहिर टाढा जानेलाई समस्या भएको छ,’ उनले भने, ‘पारिवारिक अवस्था राम्रो भएका अभिभावकले आफ्ना बालबालिकालाई सहयोग गर्नुभएको छ, अरूलाई बढी समस्या छ ।’ अपांगता भएका बालबालिकालाई सहयोग हुने सामग्रीलगायत उपलब्ध गराउने विषयमा स्थानीय तहबाट समेत कुनै पहल भएको छैन । केन्द्रले तयार गरेका स्वअध्ययन सामग्रीसमेत स्थानीय तहले पर्याप्त उपलब्ध गराएका छैनन् । ‘सामान्य अवस्था भएका विद्यार्थीलाई पनि समस्या छ, अपांगता भएका विद्यार्थी त समस्यामा हुने नै भए ।
उनीहरू सिकाइबाट विमुख छन् । बहुअपांगता भएका झनै पीडित छन्,’ महतले भने । बहिरा विद्यार्थीको समस्या पनि उस्तै छ । उनीहरूले सबै प्रकारको ज्ञान दृश्यबाट लिनुपर्छ । तर, स्पष्ट संकेत र डिभाइस राम्रो नहुँदा सिकाइ प्रभावित भएको छ । केन्द्रीय बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक उपेन्द्र पराजुलीले अहिले पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म अनलाइन कक्षा सञ्चालन भइरहेको बताए । उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई भिडियो सामग्री तयार गर्न आग्रह गरेको बताए ।
केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बहिरा विद्यार्थीका लागि उपयोगी सामग्री उत्पादनको तयारी भएको बताए । राष्ट्रिय बहिरा महासंघसँग सम्झौता गरी कान नसुन्ने विद्यार्थीका लागि सामग्री उत्पादनको काम भइरहेको उनले बताए । अपांगता भएका विद्यार्थीका लागि पर्याप्त सामग्री नभएको भन्दै केही गुनासा पनि आएको उनले बताए । कोरोना भाइरसका कारण गत चैतदेखि विद्यालय बन्द थिए । लामो समय विद्यालय बन्द भएपछि शिक्षा मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको छ भने केन्द्रले केही स्वअध्ययन सामग्री तयार पारेको छ ।
तर, अपांगता भएका बालबालिकाले आफूलाई सहज हुने सामग्री माग गरेका छन् । नेपाल अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अपांगता नभएका विद्यार्थीलाई समेत वैकल्पिक विधिबाट शिक्षण क्रियाकलाप गर्न कठिन भएको अवस्थामा अपांगता भएकालाई झनै कठिन भएको बताए । सरकारले उनीहरूका लागि उपयुक्त सामग्री उत्पादन र सिकाइ क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
काठमाडौं महानगरका विद्यालय तत्काल नखुल्ने
कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि तत्काल विद्यालय नखोल्ने निष्कर्ष निकालिएको हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौंमा कोभिड नियन्त्रणमा नआएकाले हतार गर्नु नहुने बताए ।
स्वास्थ्य मन्त्रालयका महानिर्देशक महेन्द्रमान श्रेष्ठले पनि पुसभित्र करिब ५० हजारको एन्टिजेन टेस्ट गर्ने तयारी रहेकाले त्यसको अवस्था हेरेर मात्रै अघि बढ्नुपर्ने बताए । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाला निकायसँग छलफल गरेको उल्लेख गर्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताए । ‘जिल्ला विपत् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाब दिएका छन्,’ ढकालले भने, ‘यसबीच हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइरहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौं । अहिले तत्कालचाहिँ खुल्ने अवस्था रहेन ।’ नयाँ पत्रिका दैनिकबाट….
