भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

गठबन्धन बैठकमा दाहालले भने : एमसीसीबारे माओवादीभित्रै दुई धार छन्


  • भाद्र २५, २०७८
  • 518 Views
गठबन्धन बैठकमा दाहालले भने : एमसीसीबारे माओवादीभित्रै दुई धार छन् image

काठमाडौँ  । एमसीसी उपाध्यक्षसहितको टोली नेपाल आएकै दिन बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बोलाएका थिए । आ–आफ्नो पार्टीभित्र तथा एमसीसी टोलीसँग छलफल गरेपछि मात्र निष्कर्षमा जाने सहमति भएको छ ।जनता समाजवादी पार्टीका नेताहरू ‘प्राविधिक कारणले’ उपस्थित हुन नसकेपछि बैठकलाई अनौपचारिक भनिएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने बेला आएकाले सहयोगी दलको साथ मागेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने आफ्नो पार्टीमै एकमत नरहेको जानकारी गराएका थिए । ‘माओवादीभित्र पनि दुई धार छन्, सम्झौतालाई संशोधन गरेर अगाडि बढाउनुपर्ने र सम्झौतालाई अनुमोदन गर्नै नहुने धार देखिएका छन् ।

एमसीसीले दिएका जवाफमा थप प्रस्ट भएपछि टुंगोमा पुग्नुपर्छ । यसका लागि केही समय आवश्यक छ,’ बैठकमा सहभागी एक नेताले दाहाललाई उद्धृत गर्दै भने । त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रश्न–उत्तरकै आधारमा टुंगोमा पुग्न नसकिने धारणा राखे । ‘पहिले पार्टीभित्रै बसौं, त्यसपछि गठबन्धनमा छलफल गरौं । तबमात्र निष्कर्षमा पुग्न सकिन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो दल एमसीसीको विपक्षमा रहेको स्पष्ट पारिन् । गठबन्धन दलको बैठकमा पनि आफ्नो धारणा त्यही रहेको उनको भनाइ छ । अहिले एमसीसीबारे सत्ताधारी दलबीच खटपट भई गठबन्धनको भविष्यमाथि समेत अड्कल गर्न थालिएको छ । पौडेलले भने एमसीसीकै कारण गठबन्धन नटुट्ने बताइन् । ‘यो प्रतिगमनविरुद्धको गठबन्धन हो, एमसीसीकै कारण भत्किने सम्भावना रहँदैन,’ उनले भनिन्, ‘बरु एमसीसी कसरी फिर्ता गर्ने भन्नेबारे छलफल हुन सक्छ ।’

दिउँसो ३ बजे बोलाइएको बैठकमा कांग्रेसबाट सभापति एवं प्रधानमन्त्री देउवाका साथै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मन्त्रीहरू सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार मन्त्रिपरिषद् दुई चरणमा विस्तार गर्ने सहमति भएको छ । छिट्टै (दुई–तीन दिनमै) सरकार विस्तार गर्ने र केही समयपछि बाँकी मन्त्री थपेर तेस्रो चरणमा सरकारलाई पूर्णता दिने सहमति भएको ती नेताले बताए । सत्ता गठबन्धन दलको आन्तरिक समस्याका कारण दुई महिना पुग्दा पनि सरकारले पूर्णता पाएको छैन । १६ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हालिरहेका छन् । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.