भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

थारू बस्तीमा माघीको उल्लास


  • माघ १, २०७७
  • 702 Views
थारू बस्तीमा माघीको उल्लास image

कैलाली । कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको उल्लास सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीले गाउँघरमा रौनक बढाएको छ । थारू समुदायका मानिसहरू अहिले माघीमा परम्परागत खानाका परिकार बनाउन खाद्यान्न तयार गर्ने, दुना–टपरी गाँस्ने, घर–आँगन लिपपोत तथा सरसफाइ गर्नेजस्ता तयारीमा जुटेका छन् । घर लिपपोत र आँगन सरसफाइ गर्न, दुना–टपरी गाँस्न तथा ढिक्रीलगायत खानाका परिकारको तयारीको कामले महिलालाई भ्याइनभ्याई छ । पुरुषहरू मासुको जोहोमा जुटेका छन् ।

हरेक वर्ष पुस मसान्तबाट २ माघसम्म थारू समुदायले माघी पर्व मनाउने गर्छन् । माघी थारू समुदायको सबैभन्दा ठूलो पर्व भएकाले धुमधामका साथ मनाउन साताअघि नै तयारी सुरु हुन्छ । माघी आउनै लाग्दा गाउँघरमा उल्लास छाएको भजनी नगरपालिका–५, लालबोझीका रामु चौधरी बताउँछन् । ‘खानाका परिकार बनाउन खाद्यान्न कुटानीपिसानी भइसकेको छ,’ चौधरी भन्छन्, ‘माघीमा मासु खानका लागि टोलका मान्छे मिलेर बंगुर खोजिरहेका छौँ ।’

माघीमा मीठा–मीठा परिकार खाने चलन छ । ढिक्री माघीमा खाने महत्वपूर्ण परम्परागत परिकार हो । यो चामलको पिठोबाट बनाइन्छ । माघीमा प्रत्येक घरमा ढिक्री, अन्डीको चामलको रोटी र बंगुरको मासु अनिवार्य पाक्ने गरेको चौधरीले बताए । मासु, ढिक्रीजस्ता परिकार सालको पातबाट बनाइने दुना र टपरीमा राखेर खाने गरिन्छ ।

माघीमा विवाहिता छोरीचेलीलाई पनि माइत बोलाउने चलन रहेको थारू अगुवा प्रभातकुमार चौधरी बताउँछन् । उनका अनुसार माघीको पहिलो दिन बंगुर काट्ने र खानाका परिकारहरू बनाउने गरिन्छ । मीठा–मीठा खानाका परिकार खाएर राति नाचगान गर्ने चलन छ । परम्परागत गीतमा झुम्रा, खसियालगायत नाचहरू नाचेर रमाइलो गर्ने चलन रहेको चौधरीको भनाइ छ ।

माघीको दोस्रो दिन अर्थात् १ माघ बिहानै नदीखोलामा नुहाइ–धुवाई गरेपछि पूजापाठ गरिन्छ । त्यसपछि गाउँटोलमा गई आफूभन्दा ठूला मान्यजनलाई ढोगेर आशीर्वाद लिने तथा सानालाई आशीर्वाद र दक्षिणा दिने चलन छ । १ माघबाट थारू संवत् सुरु हुने गर्दछ, त्यसैले थारू समुदायले १ माघलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । ‘आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले यो पर्वले आपसी सद्भाव बढाउने काम पनि गरेको हुन्छ,’ थारू कल्याणकारिणी सभा कैलालीका पूर्वसभापतिसमेत रहेका चौधरी भन्छन्, ‘खास गरेर खानपान, नाचगान रमाइलो गरेर नै यो पर्व मनाइन्छ ।’ मासु, जाँड अनिवार्यजस्तै हुने उनले बताए ।

१ माघको दिन बिहान नुहाइधुवाई गरेपछि घरको आँगनमा चामल र मासको दाल छोएर अलग राख्ने गरिन्छ, पछि त्यसलाई छोरीचेलीलाई दिने चलन छ । त्यसरी छोएर अलग राख्ने खाद्यान्नलाई निसराउ भन्ने गरिएको चौधरीले बताए । माघी पर्व मनाएपछि गाउँमा थारू समुदायले भल्मन्सा चयन गर्ने, छुट्टिन चाहेका परिवारले अंशबन्डा गर्ने, विवाहलगायत नयाँ कार्यको थालनी गर्ने चलन छ ।

नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.