DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालको पहिलो फ्लाइओभर ग्वार्को चोकमा निर्माण हुने


  • फाल्गुन २३, २०७७
  • 765 Views
नेपालको पहिलो फ्लाइओभर ग्वार्को चोकमा निर्माण हुने image

काठमाण्डाैं । नेपालको पहिलो फ्लाइओभर ग्वार्को चोकमा बन्ने भएको छ । फ्लाइओभर बनाउन यो वर्षको अन्तसम्म बोलपत्र आह्वान गरी यसै आर्थिक वर्षभित्र निर्माण कम्पनी छनोट गर्ने सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणमा रहेको भन्दै केन्द्रले यी तीन चोकमध्ये पहिलो चरणमा ग्वार्को चोकको फ्लाइओभर निर्माणमा जुटेको जनाएको छ ।

यो क्षेत्रमा सवारी चाप बढी देखिएकाले तत्काल सवारी व्यवस्थापन गर्नका लागि ग्वार्को चोकको फ्लाइओभर निर्माण गर्नुपरेको केन्द्रले जनाएको छ । विकास केन्द्रका अनुसार ग्रेड सेपरेटेड इन्टरसेक्सनको डिजाइन गर्दा अन्डरपास र फ्लाइओभर दुवै बनाउन सक्ने गरी डिजाइन तयार गरिएको छ ।

यो वर्षमा कलंकी–कोटेश्वर सडक खण्डमा निर्माणका लागि ग्वार्को, सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माणका लागि डिजाइनको काम पूरा भएको र ग्वार्को चोकमा भने यसै वर्षबाट नै निर्माणमा जुटेको हो । पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर, सातदोबाटो र एकान्तकुनामा अन्डरपास बनाउने गरी तयारी थालिएको विकास केन्द्रका प्रमुख विजय जैशीले बताए ।

“यी तीनै चोकको डिजाइन तयार भएर स्वीकृत हुने क्रममा छ,” उनले भने, “डिजाइनअनुसार अन्डरपास र फ्लाइओर दुवै बन्न सक्ने गरी तयार भएको छ ।” उनका अनुसार ग्वार्को चोकमा सवारी चाप बढी र सडक खण्ड पनि कर्भ आकारमा भएकाले तत्काल लागत कम लाग्ने भएकाले गर्दा पनि फ्लाइओभर बनाउँदा उपयुक्त हुने निष्कर्षमा पुगेको हो ।

तीन चोकको परामर्शदाताले डिजाइन तयार पारेर दिएकाले डिजाइन स्वीकृत भएपछि ग्वार्को चोकको फ्लाइओभर निर्माणका लागि मन्त्रालयले अर्थ मन्त्रालयलाई बजेट विनियोजनका लागि सिफारिस गरेर यो आर्थिक वर्षभित्रै काम थाल्ने गरी विकास केन्द्र अगाडि बढेको हो ।

शुक्रबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राजधानीमा बढिरहेको सवारिचाप सहजीकरण गर्न सरकारले फ्लाइओरभ निर्माणको प्रकृयामा रहेको बताएका थिए ।

एमसीबी वाल प्रयोग गरी पिल्लर निर्माण गरेर ७ मिटर उचाइको फ्लाइओभर तयार गरिने छ । केन्द्रका अनुसार डिजाइनअनुसार प्रारम्भिक अनुमान १५ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । करिब ५ सय मिटर लामो सो फ्लाइओभरले कलंकी–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडक खण्डबाट गुड्ने छन् ।

विकास केन्द्रले चक्रपथको कलंकी अतिव्यस्त सवारी चाप रहेको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने प्रकृया अगाडि बढाएको थियो । फ्लाइओभर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) जियोकम-बीडीए-रेज जेभीले तयार पारेको हो ।

यो समाचार आजको कारोबार देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.