DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने


  • कार्तिक १४, २०७८
  • 391 Views
न्यायाधीशहरू आज  पनि इजलासमा नबस्ने image

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली र प्रवृत्तिविरुद्ध तथा न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आइतबार पनि इजलासमा नबस्ने भएको छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आइतबार कार्यालय आउँदै छन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।

शुक्रबारको बैठकमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नेबारे सामान्य छलफल गरेका थिए, तर टुंगोमा पुगेका थिएनन् । आइतबार विस्तृत छलफल गर्ने गरी बैठक सकिएको ती न्यायाधीशले बताए । नागरिकको न्याय पाउने हक कुण्ठिन नहोस् भन्नेमा पनि आफूहरू सजग रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । उनीहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए । तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए ।

त्यसयता संघर्षरत न्यायाधीशहरू इजलासमा बसेका छैनन् । प्रधानन्यायाधीशले आफू संवैधानिक प्रक्रियाबाट आएकाले सोही प्रक्रियाबाट जाने र ‘सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने’ अडान राख्दै आएका छन् ।

बारले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घन्टा धर्ना दिने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आइतबारदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गर्दै छ । बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाका बीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।

‘मिति ०७८ कात्तिक १४, १५, १६ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने,’ बारले पदाधिकारी बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस अवधिमा पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याउने बारको योजना छ । इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने गरी बारले छलफल गरिरहेको छ ।

‘अहिले हामीले घोषणा गरेका कार्यक्रमहरू सर्वोच्चकेन्द्रित मात्र छन् । अन्य अदालतका सेवाग्राहीलाई मर्का नपरोस् भनेर तिहारसम्म धर्नाको कार्यक्रम सार्वजनिक गरेका हौँ,’ बारका महासचिव लीलामणि पौडेलले भने, ‘१८ कात्तिकबाट तिहार बिदा सुरु भएपछि २२ गते मात्र सर्वोच्च खुल्छ । त्यतिवेलासम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए हामी बैठक बसेर कडा आन्दोलनका कार्यक्रम तय गर्छौँ ।’

नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.