काठमाडौँ । ‘यो पुरस्कार पाएर मैले आफूलाई झन् जिम्मेवार महसुस गरेको छु। मलाई ठूलो भार थपिएको छ, म अझै राम्रो कृति लेख्नेछु।’ कुनै पुरस्कृत लेखकले पुरस्कार पछि बोलेको सारगर्भित मन्तव्यबीचको अंश हो यो । त्यसपछि ताली बज्छ, दर्शक, निर्णायक र उनका स्वजन भावुक हुन्छन् । त्यो समयको अत्यन्त ठूलो त्यो संवाद त्यसपछि हावा फुस्केको बेलुनजस्तै हुन्छ। त्यसपछि त्यो लेखकको कुनै कृति वा कविता चर्चामा आउँदैन, उनी लगभग त्यो पुरस्कारको लेबल बोकेर बाँँच्छन् तर कसैले उनको अर्को कृति खोजेर पढेको बिरलै पाइन्छ।
यस्तो घटना नेपाली साहित्यमा धेरै घटेका छन्, दोहोरिएका छन्। विशेषतः ठूला धनराशिका पुरस्कार पाएका कृतिका लेखक त्यसरी नै पछि ओझेल परेका छन्। पुरस्कारले महत्वपूर्ण अर्थ र औकात राख्ने नेपाली साहित्य समाजमा पुरस्कार निम्ति दौडधूप चलिरहेकै हुन्छ । दौड त पहिले र अहिले पनि छ, तर धूप बाल्ने कामचाहिँ आजकाल लेखकतर्फबाट भन्दा प्रकाशक तर्फबाट बढ्न थालेको छ। पुरस्कारको स्वरूप र राशि पनि बढेपछि आजकाल निःसन्देह यसले झन् धेरै ठूलो आयतन ओगटन थालेको छ। पुरस्कारको घोषणा सुन्नेबित्तिकै प्रकाशकले लेखकलाई यसरी उभ्याउँछ, मानौँ लेखक सडक बालबालिका हो र प्रकाशक उनीहरूका लागि माग्नेको ठेकेदार। पुरस्कार पाउनु, पुरस्कार पाउनअघि नै प्रकाशकले अस्वाभाविक शैलीमा पुस्तकको प्रचार, प्रवद्र्धन र कार्टेलिङ गरिनु आजको साहित्यिक धर्म भएको छ।
‘किचेन केमेस्ट्री’भित्र परेका दैनिक अखबारका समीक्षकलाई हप्ताबन्दी दिएर पुस्तक समीक्षाको वर्क–फ्लो देखाइरहनुले पुरस्कारदाताप्रति दबाब, प्रभाव अनि स्वभाव स्वतः देखिन्छ। हरेक प्रकाशक, जो आफूलाई राम्रो प्रकाशक भन्न रुचाउँछ वा हुँ भनेर पहिचान राख्छ, पुरस्कार पाउनका निम्ति लेखकको कृति छाप्न हौसिन्छन्, यिनको वर्षभरिको धन्दा नै यही हुन्छ, लेखकलाई घोडदौडमा सामेल गराउने। जसरी अभिभावकले आफ्ना बच्चालाई कन्भेन्ट स्कुल भर्ना गराउन कुस्ती खेल्ने गर्छन्, यो यहाँ पनि छ र त्यहाँ पनि छ। सन् १९८२ मा जब कोलम्बियाका उपन्यासकार ग्राबिएल गासिया मार्खेजलाई ‘एकान्तको सय वर्ष’ (हन्ड्रेड इयर्स अफ सोलिच्युड) मा नोबेल पुरस्कार दिइयो, त्यसपछि उनले गम्भीर भएर भनेका थिए ।
‘युरोप बाहिरका देशले सायद गम्भीर भएर पहिलोपटक ल्याटिन अमेरिकी उपन्यासको ऊर्जा र शक्तिसित परिचित हुन थाले।’ नोबेल पुरस्कारबारे आफ्नो असहमति जाहेर गर्दै धेरैपटक अर्जेन्टाइन लेखक हार्खे लुई बोर्खेसले भनेका छन्, ‘किताबको खोल हेरेर दिइने यो पुरस्कार बाँडिने मौसम मलाई अलि चिसो चिसो लाग्छ।’ नोबेल पुरस्कार दिने रोयल स्विडिस एकेडेमीलाई ल्याटिनी अमेरिकी र पूर्वयुरोपिय देशलाई सार्थक साहित्यिक नजर दिने मौका यसपछि मिल्यो होला, तर मार्खेजकै भाषामा उनी यसअघि जति आफ्नो मुलुकमा पढिन्थे, त्यसभन्दा बढी बाहिर पढिन थाले। उनलाई आफ्नै मुलुकमा चिन्नेको संख्या कम हुन थाल्यो। यो उनको मात्र होइन, हरेक नोबेल पुरस्कार विजेता लेखकको विडम्बना हो।
कैयौँ लेखकले पुरस्कार पाइसकेपछि यसो पनि भनेका छन्, ‘यो पुरस्कार पाउँला भनेर मैले सोचेको पनि थिइनँ।’ केही लेखकले पुरस्कार नपाएपछि यसो पनि भन्छन्, ‘मैले पुरस्कार पाउँला भनेर पुस्तकलाई लाममा लगाएको होइन, यो त मेरो प्रकाशकको रुचिले आवेदन हालेका हुन् ।’ निक्र्योलमा के देखिन्छ भने लेखकको राजी स्वीकृति नभई कुनै प्रकाशकले लेखकलाई रेस कोर्समा दौडाउन सक्दैन। हाम्रै नेपाली साहित्य समाजमा ‘आमाको सपना’ कविता संग्रह गोपालप्रसाद रिमालको स्वीकृतिमा अन्य दुई लेखक (शंकर लामिछाने र तारानाथ शर्मा) ले कीर्ते सही गरी पुरस्कारका निम्ति दाबी गरेका थिए र सो कृतिले पुरस्कार पायो तर रिमालले सो पुरस्कार पाउँदा आफ्नो खुसी वा आश्चर्य पनि व्यक्त गर्न पाएनन्। नागरिक दैनिकबाट…
