चितवन । एक समय कहावतजस्तै थियो, साइकल चलाउन नजान्नेलाई चितवनवासीले बुहारीका रूपमा भित्र्याउँदैनन् । कहावतमाथि बहसका अनेक कोण हुन सक्लान् तर चितवनवासीका निम्ति जनजीवनकै एउटा अंगजस्तै मानिन्थ्यो साइकल । घाँसपात, दाउरा बोक्नेदेखि दूध तथा अन्य कृषि उपज बजारमा लैजाने दैनन्दिनको यात्रामा समेत साइकल अनिवार्य थियो ।
बाहिरी जिल्लाबाट चितवन झर्नेहरू यहाँका पुरुषदेखि महिलासम्म, युवादेखि वृद्धसम्म साइकलमा हुइँकिएको दृश्य बढो चाख मानेर हेर्थे । २०५२ सालदेखि साइकल व्यवसायमा संलग्न धर्मराज सापकोटा व्यापारमा बहारका पुराना दिन सम्झिँदा मात्रै पनि रोमाञ्चित हुन्छन् । नयाँ शैक्षिक सत्र सुरु हुने बेला र उतिबेलाको एसएलसी परीक्षाको नतिजा आएपछि पसलमा ग्राहकको ताँती लाग्थ्यो ।
अभिभावकहरू आफ्ना सन्तानका लागि नयाँ स्कुलरकलेजको खोजीसँगै आउजाउ गर्न साइकल किन्न हिँड्थे । ‘रिजल्ट आएपछिको समयमा त कुनै दिन दैनिक २० वटासम्म साइकल बिक्थे,’ उनले भने, ‘तर अब त यी दिन सम्झनामा मात्रै रहे ।’ हिजोआज पनि सापकोटाको व्यवसाय उही हो तर साइकलको बिक्री भने उल्लेख्य भएका दिन बढीमा पाँच वटासम्म बेच्छन् । उनका अनुसार हेर्दाहेर्दै स्कुल र कलेज जानेहरू साइकल चढ्न छाडे । आउजाउको साधन पनि साइकल बन्नै छाड्यो ।
६० को दशकमा उत्कर्षमा पुगेको यहाँको साइकल व्यापार त्यसपछिका वर्षमा घट्न थालेको साइकल व्यवसायीहरू बताउँछन् । कालोपत्र सडकको संख्या बढेसँगै सुरु भएको अटोरिक्साजस्ता सवारी साधनको वृद्धिले पनि साइकललाई विस्थापित गर्न मद्दत गरेको उनीहरू बताउँछन् । साइकलको व्यापार कति घटेको छ भनेर बुझ्न साइकल व्यवसायीको संख्यामा देखिएको उतारचढावलाई हेरे पुग्छ । ०७३ देखि ०७५ सालसम्ममा साइकल व्यवसायी संघ चितवन–नवलपुरमा ६ सय व्यवसायी आबद्ध थिए । जुन अहिले ३ सय १५ मा सीमित भएको छ ।
चितवनबाट साइकल विस्थापित हुनुमा घरजग्गा कारोबार पनि कारण रहेको साइकल व्यवसायी सापकोटा बताउँछन् । ०६३ सालपछि चितवनमा घरजग्गाको कारोबार बढ्यो । जग्गा बेचेर आएको पैसा स्थानीयले मोटरसाइकल, स्कुटर र गाडी किन्न खर्चन थाले । रहर, देखासिकी, सहजता र सम्पन्नताले मोटरसाइकल र स्कुटर चलाउने बढे ।
बिस्तारै साइकल घटेको उनले बताए । ‘जग्गाको मूल्य राम्रो पाएपछि मान्छेले साइकल छाडेर मोटरसाइकल रोजे, कार रोजे । महिलाले स्कुटर चलाउन थाले,’ उनले भने, ‘साइकल भनेको पैसा भएकाले चढ्ने साधन होइन भन्ने मान्यता समाजमा स्थापित हुँदै गयो ।’ पहिलाको भन्दा साइकलको बिक्री अहिले आधाले कमी आएको साइकल व्यवसायी संघ चितवन–नवलपुरका वर्तमान अध्यक्ष बलराम अधिकारी बताउँछन् ।
‘साइकल नै बेचेर गुजारा चल्ने आर्जन नभएपछि धेरै व्यवसायीले पसल नै बन्द गरेर अरू व्यवसाय सुरु गरेका छन्,’ पूर्वी चितवनको खैरहनी–१ ज्यामिरेमा साइकल पसल चलाइरहेका उनले भने, ‘मैले पनि अचेल नयाँ साइकल बेच्नभन्दा पुराना मर्मत गरेर बस्न थालेको छु ।’ चितवन र साइकल कतिसम्म परिपूरक थिए भने हेटौंडा घर भएकी जमुना अर्यालको सम्झना ताजै छ । हेटौंडा छँदा जमुना टीभीमा चितवनको कुनै दृश्य देखियो भने पृष्ठभूमिमा साइकलैसाइकल मात्र देख्ने गरेको बताउँछिन् ।
०७३ सालयता भरतपुरमा बस्न थालेपछि उनले टीभीमा त्यस्तो दृश्य देख्नै नपाएको बताइन् । ‘अहिले त साइकल सहरका रूपमा चितवनले पाएको परिचय नै फेरिंदै गएको छ,’ उनले भनिन्, ‘साइकलको ठाउँ अहिले स्कुटर र मोटरसाइकलले लिइरहेका छन् ।’ चितवनका पर्यावरणकर्मीदेखि साइकलप्रेमीसम्म यहाँको पुरानो चिनारी फर्काउने प्रयत्नमा लागेका छन् । उनीहरूले ०७६ साउनमा साइकल चलाउने र साइकल व्यवसायीको भेला बोलाएर ‘चितवन साइकल राइडर्स क्लब’ खोलेका छन् ।
नारायणगढकी शिक्षक रुक्मिनी सापकोटाको आर्थिक हैसियत स्कुटर या अन्य गाडी चढ्न नसक्ने छैन । तर उनी घर र स्कुल साइकलमै आवतजावत गर्छिन् । उनलाई चितवनले साइकल सहरका रूपमा पाएको परिचय फर्काउनुपर्छ भन्ने लागेको छ । त्यही भएर उनी ‘एक सपना साइकल र सफा नेपालको’ नारासहितको अभियानमा सक्रिय छिन् ।
साइकल पर्यावरणमैत्री मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि उपयुक्त भएको उनको अनुभव छ । ‘श्रीमान्सँगै हरेक दिनजसो नारायणगढ–देवघाट साइकलमै ओहोरदोहोर गर्छु,’ उनले भनिन्, ‘दैनिक साइकल यात्राले शारीरिक रूपमा स्वस्थ रहन पनि ठूलो मद्दत गरेको छ ।’ पटिहानीका अपिल घिमिरेको घरमा साइकल र मोटरसाइकल दुवै साधन छन् । तर त्यसको प्रयोग कतिबेला र कसरी गर्ने भन्ने उनको आफ्नै नियम छ ।
जस्तो कि, उनी गाउँवरपर सातरआठ किलोमिटरसम्म जान परे साइकल प्रयोग गर्छन् भने त्यसभन्दा पर जान परे मोटरसाइकल रोज्छन् । ‘विकसित देशमा साइकल पहिलो रोजाइमा पर्छ तर हाम्रोमा उल्टो छ,’ उनले भने, ‘वातावरण र स्वास्थ्यका लागि साइकल चलाउनुपर्छ भन्ने मान्यता बसाल्न सकेमात्रै पनि साइकल लहर आउँथ्यो ।’
साइकल सहरको परिचय फर्काउने अभियानमा लागेकाहरूले साइकल चलाउनुको शारीरिक फाइदाको विषयमा पनि आममानिसलाई बुझाउने प्रयत्न गरिरहेका छन् । ‘साइकल चलाउनुअघिसम्म शरीर दुखेर कक्रक्क पर्ने समस्या थियो,’ १० वर्षदेखि साइकल चलाइरहेका चितवन साइकल राइडर्स क्लबका संस्थापक अध्यक्ष नवीन खरेलले भने, ‘जब साइकल चलाउन सुरु गरें, अहिले शरीर एकदम तन्दुरुस्त छ ।’
साइकल सहरको परिचय फर्काउन लागिपरेकाहरू केही नीतिगत सुधार, पूर्वाधारको प्रबन्ध र जनचेतनाबिना यो अभियान सफल नहुने बताउँछन् । अहिले राइडर्स क्लबका सदस्यहरूले महानगरसँग साइकल लेन बनाउनुपर्ने सहितका माग राखिरहेका छन् । ‘तर महानगरले साइकल लेन भनेर कृष्णपुर क्षेत्रमा तीनरचार किलोमिटर राखे पनि त्यसको सही उपयोग भइरहेको छैन,’ उनले भने, ‘साइकल लेन भनेर मार्क गरेको ठाउँमा कार र अटोरिक्सा पार्क गरिरहेको भेटिन्छ ।’
०३७ सालदेखि साइकलको व्यापार गर्दै आएका विष्णुप्रसाद लामिछाने करसम्बन्धी केही नीतिगत सुधार गर्न सके पनि साइकल संस्कृति बढ्ने बताउँछन् । आयातित इन्धनको भर पर्न नपर्ने, व्यक्तिगत स्वास्थ्य एवं पर्यावरणलाई सुधार्न सहयोगी हुने र सहर पनि व्यवस्थित हुने भएकाले साइकल प्रयोगलाई जोड दिन संघीय सरकार, स्थानीय सरकार र जिल्लावासी सबैले मद्दत र पहल गर्नुपर्ने उनको भनाइ छ । ‘साइकल अहिले प्रायः भारत र चीनबाट आयात भइरहेको छ,’ उनले भने, ‘फाट्टफुट्ट थाइल्यान्ड र अन्य देशबाट पनि आउँछ ।’ साइकल आयातमा ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । १५ प्रतिशत भ्याट लाग्छ । कम्तीमा भ्याट मात्रै नलागे साइकलको मूल्य सस्तो हुने र सबैले किन्न सक्ने अपेक्षा गर्न सकिने उनले बताए ।’
चितवन मात्रै नभइ तराईका धेरै जिल्लामा साइकल प्रयोगकर्ता घटेका छन् । पूर्वाधार विकास, रोजगारी, क्रय क्षमता, कृषि प्रणालीमा आएका परिवर्तन लगायत थुप्रै कारक छन् साइकलको प्रयोग घटाउन । परम्परागत प्रयोग घटे पनि स्वस्थ जीवन बाँच्न चाहनेलाई साइकल साथीका रूपमा छ । यस्तो बुझेकाहरू साइकल प्रवर्द्धनमा लागेका छन् । चितवन साइकल राइडर्स क्लबका वर्तमान अध्यक्ष पदमबहादुर बानियाँ साइकलको महत्त्व बुझ्दै जानेहरूको संख्या बढिरहेको बताउँछन् । क्लबमा सदस्य संख्या बढेको देखेर साइकलको महत्त्व बढ्दै गएको उनको बुझाइ छ ।
डा। जीवन क्षेत्री साइकल चढनेहरूको बढ्दो संख्यासँगै चितवनले पाएको साइकल सहरको परिचय फर्काउन सकिने बताउँछन् । नियमित साइकल चढ्ने क्षेत्रीले साइकल यात्रा प्रवर्द्धन गर्न साइकल पसलसमेत खोलेका थिए । तर कोरोनाकालमा खुलेको पसलले गति लिन नसकेपछि बन्द गर्नुपरेको नमिठो अनुभव उनले सँगाले । ‘अहिलेसम्मको मानसिकता भनेको साइकल गरिबले नै चढ्ने साधन हो भन्ने छ,’ उनले भने, ‘यो मानसिकता नबदलेसम्म साइकलको लहर ल्याउन भने गाह्रै छ ।’
व्यवस्थित सहरका लागि सार्वजनिक यातायात र साइकल अपरिहार्य भएको उनी बताउँछन् । मोटरसाइकल, स्कुटर र साना निजी गाडीले काठमाडौं भद्रगोल भइसकेको र छिट्टै नसोचे चितवन र भरतपुर पनि त्यही हालतमा पुग्ने डा। क्षेत्रीले बताए । ‘काठमाडौंमा अहिले दुई किलोमिटर बाटो छिचल्नुपरेमा पनि लामो समय जाममा बस्नुपरेको छ,’ उनले भने, ‘व्यवस्थित सार्वजनिक यातायात र साइकल चल्ने विकसित देशमा यस्तो समस्या हुन्न ।’
स्थानीय तहले केही नगरे पनि क्लबका सदस्य साइकल प्रवर्द्धनमा सक्रिय देखिन्छन् । क्लबका सदस्यहरूले चितवन र आसपासका पहाडी भेगमा पनि लगातारजस्तो ‘अफरोड’ साइकल यात्रा गर्ने गरेका छन् । जसले साइकल संस्कृतिको प्रचार गर्नुका साथै साइकल यात्रामा धेरैलाई जोड्ने उनीहरूको विश्वास छ । उनीहरूले साइकललाई पर्यटनसँग पनि जोड्न सकिने सम्भावनालाई अघि सार्दै पटिहानीको छितामाईदेखि बाटुली पोखरीसम्म ५ किलोमिटर र भरतपुरको भतेरीदेखि लामाचौर निस्कने १५ किलोमिटर जंगलमा साइकल रुट नै बनाएका छन् ।
कोरोनाकाल सुरु हुनुअघि ०७६ सालको पुसमा यी रुटमा साइकल चल्न सुरु भएका थिए । स्थानीयले घाँस–दाउरा गर्ने गोरेटोलाई सामान्य सुधार गरेर साइकल गुड्ने बनाइएको हो । त्यसै गरी भरतपुर गणेशस्थान हुँदै दाहखानीको सिमलधामबाट पदमपुर निस्कने ‘जुमानजी ट्रेल’ पनि उनीहरूले तयार पारेका हुन् । ‘२५ किलोमिटरजतिको यो रुटमा साइकल चलाउँदा जंगल सफारीको आभास हुन्छ,’ नवीन खरेलले भने, ‘जुमानजी ट्रेल घना जंगलबीचको रोमाञ्चक यात्रा भएकाले तीन जनाभन्दा कमले यात्रा नगर्ने र अनुभवी साइकलयात्रीलाई मात्रै सिफारिस गर्न गरेका छौं ।’
चितवन र साइकल
चितवनको राजनीतिक इतिहाससँग पनि साइकल जोडिएको छ । चितवनको निर्वाचन इतिहासमा विद्यावारिधि राजेन्द्रप्रसाद रेग्मीका अनुसार २०१५ सालको पहिलो संसदीय निर्वाचनको प्रचारप्रसारमा चितवनमा साइकल भित्रिएको थियो । त्यतिबेला नेपाली कांग्रेसका उम्मेदवार विश्वबन्धु थापाले चुनावी माहोल ल्याउन चारवटा साइकल ल्याएका थिए । रेग्मीले ती साइकल नै चितवनमा पहिलो पटक भित्रिएको दाबी गरे ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनकै बासिन्दा हुन् । ०७८ सालको चैतमा नारायणगढमा आयोजना भएको साइकल दौड प्रतियोगिता उद्घाटन गर्न आएका बेला उनले साइकलसँग जोडिएका सम्झना सुनाएका थिए । ‘मेरो बिहेमा दुलही लिन साइकल चढेरै गएको थिएँ,’ त्यसबेला उनले भनेका थिए । उनको भनाइले पनि साइकल चितवनको सामाजिक जीवनसँग राम्रैसँग जोडिएको प्रस्ट पार्छ । नेपाल साइकल व्यवसायी संघ चितवन नवलपुरका पूर्वअध्यक्षसमेत रहेका धर्मराज सापकोटाका अनुसार चितवनमा ०१७ सालमा जितबहादुर कार्कीले साइकल बेच्नका लागि नारायणगढमा जेबी साइकल पसल खोलेका थिए । कान्तिपुर दैनिकबाट…
