DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बा–आमाको शव सुरक्षित राख्न ‘डिप फ्रिज’


  • पुष ३०, २०७९
  • 197 Views
बा–आमाको शव सुरक्षित राख्न ‘डिप फ्रिज’ image

बागलुङ । तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीन, चार दिनसम्म जसरी भए पनि आइपुग्छौं ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिका आफन्तको मृत्यु हुँदा उनीहरू नआइपुगुन्जेलसम्म शव सुरक्षित गर्न बागलुङको गलकोट–८ काँडेबास स्वास्थ्यचौकीमा राखिएको डिप फ्रिजको तस्बिर हो यो । गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने ? अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीन, चार दिनसम्म शव कुरेर को बस्ने ? दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर शव सुरक्षित राख्ने ।

२ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, शवलाई सुरक्षित राखियो । चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अन्त्येष्टि गरे । चूडामणिको अन्त्येष्टि भयो तर गाउँमा एउटा उपाय जन्मियो । वैदेशिक रोजगारीले साराका सारा युवा विदेशिएको गाउँमा छोराहरू फर्किउन्जेल शव राख्न डिप फ्रिज भरपर्दो साधन ठहरियो ।

त्यसैले डिप फ्रिजलाई व्यक्तिको घरबाट गलकोट–८ पचुवास्थित काँडेबास स्वास्थ्यचौकीमा राखिएको छ । जसलाई आपत् पर्छ, उसले सेवा लिने व्यवस्था गरिएको छ । गएको जेठ २८ मा गलकोट–९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटाको मृत्यु भयो । छोरा प्रकाश न्युजिल्यान्ड थिए । सरसल्लाहपछि छिमेकीले चन्द्रकुमारीको शव स्वास्थ्यचौकीको डिप फ्रिजमा लगेर राखे ।

कुरुवा पनि चाहिएन । चौथो दिन स्वदेश फर्किएका प्रकाशले आमाको काजकिरिया गरे ।गलकोट नगरपालिकाका ११ वटै वडा र ताराखोला गाउँपालिकाका केही वडासमेतलाई गलकोट क्षेत्र भनिन्छ । यहाँका धेरैजसो युवा जापान र युरोपमा छन् । यो क्षेत्रका करिब ६० हजार जना विदेशमा रहेको अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाको भनाइ छ ।

‘करिब ५० हजार जना त जापानमै छन् । कोरियामा ४ हजार छन्, युरोप पनि छरिएका छन्,’ भन्छन्, ‘एकै घरका ४र५ जना पनि जापान पुगेका छन्, घरमा त आमाबाबु र बालबालिका मात्रै ।’ थापाका अनुसार विश्वका १२ देशमा गलकोट समाज गठन भइसकेको छ । जापान र कोरियामा बस्नेले घरमा पैसा पठाउँछन् भने युरोप पसेकाले परिवारै पनि लैजाने गरेका छन् ।

गाउँमा बाबुआमाको मृत्यु हुँदा आउँछन् । तर, फर्कन दुईरचार दिनदेखि सातारदस दिनसम्म लाग्नु सामान्य हो । बाबुआमाको मुख हेर्ने धोको पूरा गर्नेहरूलाई डिप फ्रिज उपयोगी भएको छ । गत वर्षको माघ ११ मा बाँस्खोलाकै गगनबहादुर मल्लको निधन हुँदा छोराबुहारी नेपालमा थिएनन् । जापानमा काम गर्ने छोरा राजुसहित परिवारका सदस्य आइपुग्न ५ दिन लागेको थियो ।

तर शव सुरक्षित थियो । छैटौं दिन उनीहरूले बाबुको काजकिरिया सुरु गरे । वैदेशिक रोजगारीबाट धानिएको बस्ती भएकाले डिप फ्रिज उपयोगी भएको बताउँछन् भैरव मावि बाँस्खोलाका शिक्षक विष्णु मल्ल । ‘यसरी शव सुरक्षित राख्न सकिन्छ भन्ने न जानकारी थियो न सुविधा ।

समयमा आउन नपाउने छोराछोरीले बाबुआमाको मुख देख्न नपाउने नियति थियो तर अहिले सबैलाई यो सुविधा प्राप्त भएको छ ।’ काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले एउटा कोठा छुट्याएर डिप फ्रिज राखिएको बताउँछिन् ।

भन्छिन्, ‘बिजुली नियमित भए धेरै दिनसम्म पनि शव सुरक्षित रहन्छ, यो विषयमा धेरैको भावना पनि जोडिएको छ । धेरै जनाले यो सेवाको प्रशंसा गर्नुभएको छ ।’ डिप फ्रिजलाई नियमित बिजुली दिँदा स्वास्थ्य चौकीको खर्च भने बढेको उनको भनाइ छ । शव राख्दा कुनै शुल्क लिइँदैन ।

‘स्वस्फूर्त कसैले केही रकम दिनुभएको छ, त्यसैले कोष बनाउने तयारी गर्दै छौं,’ भन्छिन्, ‘कोष बनेपछि विद्युत् खर्च र मर्मत गर्नुपरेमा त्यसबाटै गर्ने तयारी छ ।’ यो समाचार आजको कान्तिपुरमा छ ।

 


Thali Mobile Pvt.Ltd.