DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बोक्सीको आरोपमा यातनापछि मूर्तिजस्तै भइन् मूर्तिदेवी, टोलाएर हेर्छिन्, केही बोल्दिनन्, आँसु मात्रै झार्छिन्


  • आश्विन २१, २०७७
  • 356 Views
बोक्सीको आरोपमा यातनापछि मूर्तिजस्तै भइन् मूर्तिदेवी, टोलाएर हेर्छिन्, केही बोल्दिनन्, आँसु मात्रै झार्छिन् image

बोक्सीको आरोपमा दिसा खुवाएर निर्घात कुटपिट गरिएकी मूर्तिदेवी यादव उपचारपछि तंग्रिएलिन् भन्ने आस गरेका थिए, परिवारजनले । तर, उनी भने अस्पतालबाट फर्केको एक साता बितिसक्दा पनि सामान्य दैनिकीमा फर्किन सकेकी छैनन् । घरमा भेट्न आउने आफन्तजनलाई टोलाएर हेर्छिन्, केही बोल्दिनन्, बरर आँसु मात्रै झार्छिन् । मंगलबार मध्याह्न नयाँ पत्रिकाकर्मी सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डी गाउँस्थित उनको घरमा पुग्दा उनी मूर्तिजस्तै बसिरहेकी थिइन् । उनलाई भेट्न आफन्तजन आइरहेका थिए । उनी सबैका कुरा एकनासले सुनिरहेकी थिइन् । आफन्तले ढाडस दिइरहेका थिए । तर, उनी भने कसैसँग पनि एक शब्दसमेत बोलिनन् । आफन्तजनले बोलेको सुनिरहिन् । उनीहरूलाई टोलाएर हेरिरहेकी उनले बीचबीचमा बरर आँसु मात्रै झारिन् ।

उनलाई भेट्न आएका आफन्तजन पनि निन्याउरो मुहार लगाएर फर्किन्छन् । उनी नबोलेपछि उनकी छोरी संगीतासँग कुराकानी गर्छन् । ‘विक्षिप्त हुनुहुन्छ । केही बोल्नुहुन्न, अरूले सम्झाउँदा रुनु मात्रै हुन्छ,’ छोरी संगीताले भनिन् । आफूहरूसँग पनि नबोल्ने गरेको संगीनाले सुनाइन् । संगीता आमाको हेरचारका लागि नै माइतीघर आएकी छिन् । जति गर्दा पनि नबोल्ने गरेकाले अप्ठ्यारो भएको उनले बताइन् । ‘बोक्सी भनेर कुटपिट गरेको पीडाले होला केही बोल्नुहुन्न । अर्को अनुहारमा पनि चोट लागेकाले बोल्न असजिलो हुन्छ होला,’ संगीताले अनुमान लगाइन् ।

कुटपिटबाट मूर्तिदेवीको अनुहारको बायाँपट्टिको चारवटा दाँतले ठाउँ छोडेको छ भने चिउँडोको हड्डी भाँचिएर स्टिल हालिएको छ । उनले २४ दिनदेखि ठोस खानेकुरा खान पाएकी छैनन् । त्यसैले होला उनको शरीर पनि गलेको छ । ‘मुख नै चलाउन नमिल्ने भएकाले जुस, दालको झोल, दूध मात्रै खुवाइरहेका छौँ । अन्य खानेकुरा खुवाउन सकिएको छैन,’ संगीताले भनिन् । बोक्सीको आरोपमा स्थानीयले २७ भदौको मध्यराति मन्दिरमा लगेर निर्घात कुटपिट गरेका थिए । सख्त घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । १३ दिन अस्पताल बसाइपछि उनी ११ असोजमा गाउँ फर्किएकी थिइन् । फेरि पनि उनको परिवारलाई पीडकहरूले धम्क्याउन छाडेका छैनन् । अप्रत्यक्ष रूपमा कुटपिट गर्नेका आफन्तले घटना सार्वजनिक गरी गाउँको बदनाम गराएको भन्दै धम्की दिइरहेको मूर्तिदेवीका पति रामनारायणले बताए । ‘गाउँको घटना मिडियामा दिएको र त्यही कारण मुद्दा दर्ता भएको छ भनेर धम्की दिइरहेका छन्,’ रामनारायणले भने, ‘राम्रो हुँदैन भन्दै अप्रत्यक्ष रूपमा धम्क्याउन थालेका छन् ।’

उपचारले बोकायो ऋणको भारी

एकातिर मूर्तिदेवी बोलचाल गरिरहेकी छैनन्, अर्कातिर कुटपिट गर्नेका आफन्तजनले धम्क्याइरहेका छन् । झन् त्यसमाथि उपचारमा लागेको ऋणले मूर्तिदेवीको परिवार सकसमा परेको छ । उनको उपचारमा डेढ लाख ऋण लागेको रामनारायणले बताए । ‘धरानमा उपचार गराउँदा डेढ लाख खर्च भयो । त्यो सबै सयकडा तीन रुपैयाँका दरले ऋण निकालेर लगेको हुँ,’ उनले भने । आर्थिक रूपमा कमजोर रहेको उनको परिवार खेतीपातीमै निर्भर छ । मिल चलाएर परिवार पाल्दै आएका रामनारायण उपचारमा समस्या भएको बताउँछन् । उपचार गरेर फर्केपछि पनि १८ असोजमा फलोअपका लागि गएका थिए । त्यसमा पनि १० हजार खर्च भएको उनले बताए । ‘फलोअपमा जाँदा पनि ऋण निकालेरै लगेको हुँ । फेरि एक महिनापछि आउनू भनेका छन्, अब कहाँबाट पैसा जुटाउने भन्ने चिन्ता लागेको छ,’ रामनारायणले भने ।

अझै पक्राउ परेनन् आरोपी

बोक्सीको आरोप लगाएर मूर्तिदवीलाई कुटपिट गर्ने आठजना अझै पनि पक्राउ परेका छैनन् । आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्मा पौडेलले बताए । ‘घटनामा संलग्नको नेपालकै सम्भावित ठाउँमा खोजी गरिरहेका छौँ । भारतीय समकक्षीसँग पनि समन्वय गरी खोजी गर्दै छौँ, ढिलोचाँडो पक्राउ पर्छन्,’ डिएसपी पौडेलले भने । मूर्तिदेवीका पति रामनारायणले ४ असोजमै जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका थिए । उनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । नयाँ पत्रिकाबाट ……

 


Thali Mobile Pvt.Ltd.