DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भूराजनीतिक खिचातानीको वर्ष २०२२


  • पुष १७, २०७९
  • 193 Views
भूराजनीतिक खिचातानीको वर्ष २०२२ image

काठमाडौँ । विभिन्न आरोह–अवरोहबीच सन् २०२२ लाई हामीले बिदा गरेका छौं । गएका ३ सय ६५ दिनमा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक उन्नति र संकट, प्राकृतिक प्रकोप, विकास र सुधारका विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पायो । तर पनि यो अवधिमा खासगरी रुस–युक्रेन युद्ध चर्चा र चासोको केन्द्रमा रह्यो

चीन, अमेरिका बेलायत, रुस, भारतलगायत शक्ति राष्ट्रहरूमा विकसित राजनीतिक घटनाक्रम र ती देशहरूका विभिन्न भूराजनीतिक स्वार्थका कारण उत्पन्न तनाव पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका मुख्य समाचार बने । त्यसका साथै, हामीले गएको वर्ष राजनीति, साहित्यदेखि खेल जगत्का केही महत्त्वपूर्ण व्यक्तिहरूलाई गुमाएका छौं ।

युक्रेनमाथि रुसी आक्रमण

उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । पश्चिमा देशको उक्साहटप्रति युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको अडान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दम्भका कारण नौ महिनाभन्दा लामो समयदेखि चलिरहेको युद्धका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गइसकेको छ । एक करोड ५० लाखदेखि ३ करोड विस्थापित भइसकेको जनाइएको छ । रुसका ६ हजार सैनिकको ज्यान गइसकेको रुसी रक्षामन्त्री सर्गेई सोइगुको भनाइ छ । युक्रेनमा भने हालसम्म एक लाख सैनिक मारिएका वा घाइते भएका अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय युक्रेनले कतिपय क्षेत्रहरू फिर्ता लिएको छ । जसका कारण रुसी फौजले ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण थालेको युक्रेनी अधिकारीहरूको दाबी छ । आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभिसकेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी उसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्र लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो । युक्रेनमाथि आक्रमण सुरु गरेपछि देश नछाड्ने अभिव्यक्ति दिएका युक्रेनी राष्ट्रपति जेलेन्स्की त्यसयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको केन्द्रमा छन् । प्रतिष्ठित म्यागेजिन टाइमले ‘दशकौंयता फरक तरिकाबाट विश्वलाई जोडेका’ भन्दै जेलेन्स्कीलाई ‘सन् २०२२ को वर्ष व्यक्ति’ समेत घोषित गरेको छ ।

शक्तिका पर्याय चिनियाँ राष्ट्रपति सी

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको यस वर्ष भएको महाधिवेशनबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल निश्चित गरेका छन् । सीले आगामी पाँच वर्षसम्म देशमा शासन गर्नका लागि आफ्नो नयाँ समूह चयन गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त समूहलाई ‘बफादार टिम’ को संज्ञा दिएका छन् ।

नयाँ वर्षको शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ
दोस्रो नेताका रूपमा ली चियाङ चयन भएका छन् । पार्टीको ७ सदस्यीय स्थायी महासचिव सीसहित ली चियाङ, चाउ लेजी, वाङ हुनिङ, चाई ची, तिङ सेसाङ र ली सी छन् । यीमध्ये चाउ र राजनीतिक वाङ मात्र दोहोरिएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को उच्च निकायका रूपमा रहने समूह चीनको राष्ट्रपतीय क्याबिनेट मानिन्छ । दोस्रो स्थानमा रहेका प्रधानमन्त्री ली खछ्याङ भने नयाँ टिममा अटाएका छैनन् । आफ्नो कार्यकाल सकिएपछि स्ट्यान्डिङ कमिटी हेरफेर हुनु सामान्य मानिन्छ । तर ली र अन्य केही नेता चयन नहुनुलाई सीले आफ्नो दृष्टिकोणभन्दा फरक मत नराख्नेहरूबाट घेरिन चाहेका देखिएको छ ।

स्वतन्त्रताका हिमायती इरानी महिला

डेढ शताब्दीदेखि समानताका लागि लडिरहेका इरानी महिलाले यो वर्ष आआफ्नो आवाज निकै बुलन्द बनाएका छन् । हिजाब कानुन उल्लंघन गरेको आरोपमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको रहस्यमय मृत्यु भएपछि इरानमा महिलाहरूको अगुवाइमा तीन महिनाभन्दा लामो समयदेखि आन्दोलन जारी छ ।

तेहरानमा सेप्टेम्बर १८ मा सुरु भएको प्रदर्शन पछिल्ला दिनमा सबैजसो प्रमुख सहरहरूमा फैलिइसकेको छ । ३१ प्रान्तका १६० सहरमा प्रदर्शनहरू फैलिएको जनाइएको छ । प्रदर्शनकारीमाथि सरकारी फौजले गरेको चरम दमनका क्रममा ५ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई जनालाई मृत्युदण्ड दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब २० हजार पक्राउ परिसकेका छन् । अमिनीको मृत्युसँगै सुरु भएको प्रदर्शन इरानी महिलाले लामो समयदेखि नरुचाएको हिजाब कानुन र त्यसको कार्यान्वयन गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ को ज्यादती, अपमान र दण्ड सजायका कारण पनि चर्केको हो । त्यसका साथै, इरानी शासक वर्ग, देशको आर्थिक अवस्था र भ्रष्टाचारविरुद्ध पनि चर्कोसँग आवाज उठेको छ ।

प्रदर्शनकारीले इरानको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति लक्षित गर्दै विरोध प्रदर्शन जारी राखेका छन् । खामेनीको उत्तराधिकारीका रूपमा हेरिएका मोज्ताबाविरुद्ध पनि चर्का नाराबाजीहरू गरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विगतका वर्षमा फाट्टफुट्ट विरोध प्रदर्शनहरू हुने गरेका भए पनि यस पटक आर्थिक संकटले प्रदर्शनकारी थप रुष्ट बनेको देखिएको छ । परमाणु कार्यक्रमको प्रतिक्रियामा अमेरिकाले कठोर प्रतिबन्ध लगाएपछि इरानले अर्थतन्त्रको मुख्य स्रोत तेल बिक्री गर्न पाएको छैन ।

चर्कंदै अमेरिका–चीन तनाव

अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि चिसिएको अमेरिका–चीन सम्बन्ध पछिल्लो समय थप चर्केको छ । चीनको बारम्बारको चेतावनीको बेवास्ता गर्दै अमेरिकी सभामुख पेलोसी आफ्नो एसिया भ्रमणका क्रममा अगस्ट पहिलो साता ताइवान उत्रेकी थिइन् । चिनियाँ विदेशमन्त्री वाङ यीले पेलोसीको भ्रमणले ‘एक चीन’ नीति उल्लंघन गरेको आरोप लगाउँदै चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको बताएका थिए । अमेरिकाले ताइवानसँग चीनको एकीकरण प्रक्रिया अवरुद्ध पार्ने, चीनको विकासको बाधक बन्ने, भूराजनीतिक अवस्थालाई तोडमोड गर्ने र सही–गलतबीचमा द्विविधा उत्पन्न गराउने काम गरेको चीनको दाबी छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि सभामुख पेलोसीको ताइवान भ्रमण क्षेत्रीय अस्थिरता बढाउने अमेरिकी रणनीतिको एउटा हिस्सा भएको बताएका छन् ।

त्यसका साथै, अमेरिकाले पछिल्लो समय चीनबाट आफ्नो देश प्रवेश गर्ने यात्रुलाई रोक लगाउने जनाएपछि चीन थप चिढिएको छ । अमेरिकी अधिकारीहरूले पछिल्लो समय चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेको र यसबारेको सूचनामा पारदर्शिता नभएका कारण नयाँ नियम ल्याउन बाध्य भएको जनाएका छन् । तर ‘पश्चिमा देश र सञ्चारमाध्यमहरूले स्थितिलाई बढी उछालेका र नयाँ नीतिको गलत व्याख्या गरेको’ चीनको दाबी छ ।

भारत र चीनको बल्झिरहने ‘सीमा घाउ’

भारत र चीनको सीमा क्षेत्रमा डिसेम्बर दोस्रो साता पुनः झडप भएको छ । भारतको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्र तवाङमा भएको झडपमा केही भारतीय सैनिक घाइते भएको घटना सार्वजनिक भएसँगै भारतीय राजनीतिसमेत तातेको थियो । झडपका विषयमा संसद्मा छलफल हुनुपर्ने भारतका विपक्षी दलहरूको माग सरकारले अस्वीकार गरेपछि केही समय भारतीय राजनीति गरम बनेको थियो ।

पछिल्लो घटनापछि भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढाएर हालसम्मकै धेरै पुर्‍याइएको जनाएको छ । ‘हामीले चीनसँगको सीमा क्षेत्रमा अभूतपूर्व संख्यामा भारतीय सैनिकहरू परिचालित गरेका छौं,’ भारतीय विदेशमन्त्री एस जयशंकरले भनेका छन् । चिनियाँ पक्षबाट हुनसक्ने उग्र कदमको प्रतिवाद गर्न सैनिक संख्या बढाएको उनको दाबी छ ।

विश्व अर्थतन्त्रमा उदाउँदै दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सीमा विवादलाई लिएर दुई देशबीच पटक–पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । सन् २०२० जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा २० भारतीय र केही चिनियाँ सैनिकको मृत्यु भएको थियो । त्यसअघि भुटान र चीनबीच सीमा विवाद रहेको दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच आमने–सामने भएका थिए । भारत र चीनबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् १९६२ मा सीमा विवादका कारण दुई देशबीच युद्ध नै भएको थियो ।

भारतीय मूलका सुनक बेलायतका प्रधानमन्त्री

लामो समयको राजनीतिक रस्साकसीपछि गत अक्टोबरमा ऋषि सुनक बेलायतको प्रधानमन्त्री निर्वाचित भए । विभिन्न विवादमा परेपछि बोरिस जोन्सनले राजीनामा दिएपछि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । त्यतिबेला ट्रसले सुनकलाई पराजित गरेकी थिइन् । तर प्रधानमन्त्री भएको ४५ दिनमै ट्रसले पनि राजीनामा दिएपछि कन्जरभेटिभ दलको नयाँ नेता छान्नका लागि तोकिएको समयमा भने सुनकको मात्र उम्मेदवारी परेपछि उनी प्रधानमन्त्री बनेका हुन् ।

बेलायतका पूर्वअर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन्न गराएपछि ती निर्णयहरू फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् । सुनकसामु आयव्ययबीच सन्तुलन मिलाई अर्थतन्त्र सुदृढ पार्ने र पछिल्लो समय राजनीतिक रूपमा विभाजित कन्जरभेटिभ दललाई एकीकृत बनाउने मुख्य चुनौती छन् ।

अमेरिकी चुनावमा अप्रत्याशित नतिजा

अमेरिकामा यस वर्ष भएको संसदीय चुनावमा अप्रत्याशित नतिजा आएको छ । खासगरी सत्तारूढ दलले माथिल्लो सदन सिनेटमा ल्याएको बहुमत आकलन गरिएको भन्दा भिन्न हो । सिनेटमा बहुमत ल्याएसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राहत मिलेको छ । राष्ट्रपतिको सिफारिसका आधारमा सिनेटमा बहुमत हुने दलले सर्वोच्च अदालतसहित संघीय अदालतहरूमा भने नियुक्ति गर्ने सक्ने व्यवस्था छ । देशको अर्थतन्त्रमा आएका समस्या र चार दशकयताकै ठूलो मूल्यवृद्धिका कारण पछिल्लो समय अलोकप्रिय बन्दै गएका बाइडेनका कारण डेमोक्रेटिक दलले निकै ठूलो हार व्यहोर्ने चुनावी सर्वेक्षणहरूले देखाएका थिए ।

एक सय सदस्यीय सिनेटमा नियन्त्रण कायम गरेको डेमोक्रेटिक दलले तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स ९प्रतिनिधिसभा० मा पनि उल्लेखनीय प्रदर्शन गरेको छ । प्रतिनिधिसभाका ४ सय ३५ सदस्यीय सदनमा रिपब्लिकन दलले २ सय २२ सिट जितेको हो । अनपेक्षित चुनावी परिणामका जिम्मेवार ठानिएपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्नका लागि असहज देखिएको छ ।

खुलापनका सूत्रधारको निधन

सोभियत संघलाई बाहिरी दुनियाँसँग खुला गरेका मिखाइल गोर्भाचेभलाई विश्वले यसै वर्ष ९१ वर्षको उमेरमा गुमायो । सन् १९८५ मा ग्लासनोस्त ९खुलापन० र पेरेस्त्रोइका ९पुनःसंरचना० नीति अख्तियार गरेका कारण उनी शीतयुद्धकालीन महाशक्ति सोभियत संघको अन्तिम राष्ट्रपति बनेका थिए । साम्यवादमा सुधार आवश्यक रहेको बताएपछि रुसबाहिर उनी निकै सम्मानित भए पनि देशभित्र भने उनलाई ‘गद्दार’ र अमेरिकी दलाल’ का रूपमा चित्रण गरियो । पश्चिमा जगत्मा उनलाई ‘सुधारका प्रणेता’ का रूपमा हेर्ने गरिन्छ । पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको जनाउँदै सन् १९९० मा गोर्भाचेभलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने नेता सिन्जो आबेको यसै वर्ष अप्रत्याशित निधन भयो । लिबरल डेमोक्र्याटिक पार्टीका लागि मत माग्ने क्रममा नारा सहरको चुनावी सभालाई सम्बोधन गरिरहेका आबेमाथि एक व्यक्तिले घरैमा बनाएको बन्दुकबाट गोली हानेका थिए । आक्रमणलगत्तै अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा निधन भएको हो । सन् १९५४ मा जन्मिएका आबे सन् २०१२ मा सरकारको नेतृत्वमा पुगे र २०१४ र २०१७ मा पुनः प्रधानमन्त्री चुनिए । आबेले चाल्ने अर्थनीति पनि उनलाई सधैंभर सम्झिने महत्त्वपूर्ण आधार रहेको सञ्चारमाध्यमहरूको विश्लेषण छ । उनको अर्थनीतिलाई ‘आबेनामिक्स’ का रूपमै विश्लेषण हुने गरेको छ ।

कठोरताको प्रतीक तालिवान

सन् २०२१ को अगस्टमा अफगानिस्तानको सत्ताकब्जा गरेको तालिवान शासक झन् अनुदार बन्दै गएको छ । खासगरी महिला अधिकार निषेध गर्ने र प्रेस स्वतन्त्रता खुम्चाउने काममा तालिवान शासक अगाडि देखिएका छन् । सत्तामा आएलगत्तै छात्राहरूलाई माध्यमिक तह अध्ययनमा रोक लगाएको तालिवानले हालै एक निर्णय सार्वजनिक गर्दै विश्वविद्यालयमा महिलाहरूलाई प्रवेशमा रोक लगाएको छ । गतवर्ष सत्ताकब्जा गरेसँगै तालिवानले महिला शिक्षाका लागि आफूहरू उदार रहने प्रतिबद्धता जनाएको थियो । तर त्यसविपरीत महिला अधिकारमाथि निरन्तर आक्रमण गर्दै आएको छ । तालिवानले सरकारको नेतृत्व गरेयता शिक्षण संस्था, कार्यालय, पार्क, जिमखानालगायत थुप्रै सार्वजनिक स्थलमा महिलाको उपस्थितिमा बन्देज लगाइसकेको छ । त्यस्तै, सत्तामा आएपछि तालिवानले आफूहरू ‘स्वतन्त्र प्रेस’ को पक्षमा रहेको बताए पनि प्रेस स्वतन्त्रता खुम्चाउने कदम चालेका छन् ।

सात दशकको शासनपछि अस्ताइन् एलिजाबेथ

बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा यसै वर्ष अस्ताइन् । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा बढी समय र विश्वमा फ्रान्सका लुई १४ औं पछि लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा रहेकी एलिजाबेथ महारानी बन्ने सम्भावना निकै कम थियो । तर सन् १९३६ डिसेम्बरमा राजा एडवर्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्न सिंहासन त्याग्ने निर्णय लिएपछि १० वर्षकी उनलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । उनको मृत्युपछि जेठा छोरा चार्ल्स तृतीय बेलायतका राजा बनेका छन् ।

पाकिस्तानमा मनसुनी विपत्

पाकिस्तानमा जुनदेखि सुरु भएको बाढीपहिरोका कारण यस वर्ष एक हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीका कारण दसौं हजार विस्थापित भएका थिए । सिन्ध, बलुचिस्तान, गिलगिट, बाल्टिस्तान, खैबर पख्तुनख्वा र पञ्जाब प्रान्त बाढीका कारण बढी प्रभावित भएका हुन् । बाढीको विनाशका कारण १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । अस्वाभाविक बाढीका लागि जलवायु परिवर्तन मुख्य कारक रहेको विज्ञहरूको भनाइ छ । पाकिस्तानमा सन् २०१० को बाढीपहिरोका कारण २ हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यतिबेला २० प्रतिशतभन्दा बढी पाकिस्तानी भूभाग जलमग्न भएको थियो ।

अर्जेन्टिनालाई विश्वकप

फ्रान्सलाई टाइब्रेकरमा हराउँदै यसपटकको फुटबल विश्वकप अर्जेन्टिनाले हात पारेको छ । खाडी देश कतारमा आयोजित खेलको फाइनल खेल ३–३ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा अर्जेन्टिना फ्रान्सलाई ४–२ ले हराएर विश्व च्याम्पियन भएको हो । ३६ वर्षपछि विश्वकप हात पार्ने क्रममा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरेका छन् ।

अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो । यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना विश्वविजेता भएको थियो । २३ वर्षे केलियन एमबाप्पे विश्वकपको ९२ वर्ष लामो इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यसपालि कुल ८ गोलसहित उनले गोल्डेन बुट अवार्ड जिते । सात गोल र तीन असिस्ट गरेका मेसीले उत्कृष्ट खेलाडीको अवार्ड ‘गोल्डेन बल’ हात पारे । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.