भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

मिर्गौला प्रत्यारोपणमा लैंगिक असमानता


  • माघ २७, २०७९
  • 280 Views
मिर्गौला प्रत्यारोपणमा लैंगिक असमानता image

काठमाडौँ । उदयपुरका ३५ वर्षीय सुरेश दनुवार काभ्रेको नालास्थित विद्यालयमा पढाउँछन् । पत्नी राधिकाकुमारी दुई सन्तान र घर–व्यवहार सम्हाल्छिन् । सुरेशको खुट्टा अचानक सुन्निन थाल्यो । बनेपास्थित डेरादेखि नालासम्म हिँडेरै विद्यालय आउजाउ गर्ने भएकाले सुन्निएको भन्ठाने, वास्ता गरेनन् ।

टेक्नै नसक्ने गरी सुन्निन थालेपछि अस्पताल गए । नसाको औषधि खाँदै थिए, दसैंमा माछामासु खाएपछि व्यथाले झन् चाप्न थाल्यो । उनी भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे । मिर्गौला फेल भएको पत्ता लाग्यो । डायलसिस सुरु गरेको एक महिनापछि चिकित्सकले मिर्गौला दाता खोजेर चाँडै प्रत्यारोपण गर्न सुझाए । पत्नी मिर्गौला दिन तयार भइन् ।

‘मिर्गौला दिनेलाई केही समस्या हुन्न भनेर डाक्टर र त्यहाँ आउने बिरामीले भने,’ राधाकुमारीले भनिन्, ‘अरू कोही छैनन्, म मरे पनि श्रीमान् बाँचे भने बच्चाहरू पाल्छन् भनेर तयार भएँ ।’ डायलसिस सुरु गरेको एक वर्षपछि गत साता सुरेशले पत्नीबाट मिर्गौला प्रत्यारोपण गराएका छन् ।

केन्द्रले सेवा थालेको १० वर्षमा एक हजार सात जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । ०६९ माघमा केन्द्रले सेवा सुरु गरेको हो । प्रत्यारोपण सेवा लिएका लाभग्राहीको विवरण राखेर केन्द्रले हालै ‘१००० सफल मिर्गौला प्रत्यारोपण’ स्मारिका निकालेको छ, जसमा महिलाबाट मिर्गौला लिने पुरुष अधिक देखिन्छन् । वीर अस्पतालमा भने हालसम्म १८० जनाको प्रत्यारोपण गरिएको छ तर मिर्गौला दाताको लैंगिकता छुटिने गरी तथ्यांक नराखिएको सूचना अधिकारी सागर मिश्रले बताए ।

प्रत्यारोपण सेवाले हजारौं मिर्गौला बिरामीलाई अकालमा मृत्युको मुखबाट नयाँ जीवनमा फर्काए पनि मिर्गौला दिने र लिनेबीच लैंगिक असमानता देखिन्छ । परिवारमा पुरुष सदस्यको मिर्गौला प्रत्यारोपण गर्नुपर्दा दाताका रूपमा महिलालाई अघि सारिन्छ वा राधिकाकुमारीझैं आफैं अघि सर्छन् । वैदेशिक रोजगारीमा रहेका युवा स्वदेश फर्कंदा मिर्गौलाको समस्यासहित फर्किने दर बढिरहेको अध्ययनहरूले देखाएका छन् । मिर्गौला दानमा लैंगिक असमानता रहिरहने हो भने महिला नै प्रभावित हुने सम्भावना छ ।

‘म कमाइ गर्ने मान्छे, मैले दिएँ भने कमजोर हुन्छु भन्ने मानसिकता पुरुषमा छ तर महिलामा समर्पण भाव छ, छोराको मिर्गौला फेल भयो भने आमा दिन तयार भइहाल्छिन् । बाउको मिर्गौला फेल भयो भने छोरीहरूले दिन्छु भन्छन्, दिन्छु भन्ने छोरा कम छन्,’ प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘श्रीमतीको मिर्गौला मिलेन भने माइतीबाट भए पनि ल्याऊ भन्छन्, सासूले दिने कि, सालीले दिने भनेर । यसले एकदमै ठूलो लैंगिक विभेद देखाउँछ ।’

कोही पुरुषले पत्नीलाई मिर्गौला दिने इच्छा राखे पनि परिवारले रोक्छन् । भारतको पटनामा मिर्गौला फेल भएकी पत्नीलाई पतिले दिन चाहँदा दाजुभाइले रोकेपछि भागेर केन्द्रमा आएर सेवा लिएको डा श्रेष्ठले सुनाए । अंग दानसम्बन्धी ऐनअनुसार अंग ग्रहण गर्नेको नजिकको नातेदार ९पति, पत्नी, छोराछोरी, धर्मपुत्र, धर्मपुत्री, बाबुआमा, धर्मपुत्र वा पुत्री राख्ने बाबुआमा, भतिजा, भतिजी, सासू, ससुरा, भदाभदै, भिनाजु, ज्वाइँ, जेठान० लगायतलाई प्रत्यारोपणका लागि प्राथमिकतामा राखिन्छ ।

चितवनको भरतपुर–२९ का कर्णबहादुर मगर पोखरामा र्‍याफ्टिङमा काम गर्थे । पाँच वर्षअघि जापान उडेका उनले त्यहाँ पनि र्‍याफ्टिङमै काम पाए । एक वर्षपछि कमजोरी महसुस हुने, काम गर्न नसक्ने, सास फेर्न गाह्रो हुने समस्या देखियो । जँचाउँदा मिर्गौला फेल भएको थाहा भयो । उनलाई पहिल्यैदेखि उच्च रक्तचाप थियो । कामको व्यस्तताले उतिधेरै वास्ता गरेका थिएनन् । सातामा तीन पटक डायलसिस गराएर बाँकी समय काममा जान्थे ।

डायलसिसभन्दा प्रत्यारोपण दीर्घकालीन हुने भएपछि घरमा सल्लाह भयो– परिवारभित्र जसको मिर्गौला मिल्छ, उसैबाट प्रत्यारोपण गराउने । प्रत्यारोपणकै लागि गत वर्ष उनी नेपाल आए । बुबाले मिर्गौला दिने मनसाय राखेपछि ६ महिनाअघि उनीहरू भक्तपुरको प्रत्यारोपण केन्द्र पुगे । तर, उनको मुटुमा समस्या देखियो । आमा र बहिनी पनि अघि नसरेका होइनन् । प्रेसर र सुगर भएकाले आमाले दिन मिलेन । बहिनीलाई भने दाइले रोके ।

‘बिहे गरेर गएको मान्छे, भोलि परिवारले नमीठो वचन लगाउलान्, बरु मै दिन्छु भनेर माइलो दाइले रोक्नुभयो र आफैं दिने हुनुभयो,’ उनले भनिन् । ३३ वर्षीय कर्णलाई उनका माइला दाइले मिर्गौला दिएपछि सोमबार केन्द्रमा प्रत्यारोपण गरिएको छ ।

विशेषज्ञ डा श्रेष्ठको भनाइमा पछिल्ला वर्ष मिर्गौला रोगीको संख्या थपिँदो छ । ‘संसारभर मधुमेह र उच्च रक्तचाप बढेको छ, उच्च रक्तचापले मिर्गौलालगायत अंगमा पनि हान्छ, मिर्गौलामा प्रोटिन चुहिने रोग पनि बढी देखिन्छ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानेहरू कडा गर्मीमा काम गर्छन्, खानपानमा ध्यान दिँदैनन्, जीउ दुख्यो भनेर जथाभावी औषधि खाने गर्दा मिर्गौला फेल हुने क्रम बढेको छ ।’ उनले भनेजस्तै अत्यधिक गर्मी, तनाव, अधिक कार्यभार, निर्जलीकरण, अनिद्रा र मोटोपनाले आप्रवासी कामदारको मिर्गौलामा जोखिम देखिएको अध्ययनले देखाउँछन् ।

‘आप्रवासी नेपाली कामदारमा मिर्गौला स्वास्थ्यको जोखिम’ बारे एक वर्षअघि प्रकाशित जर्नलमा मलेसियालगायत खाडी मुलुकबाट फर्केका कामदारमा मिर्गौलासम्बन्धी समस्या उच्च रहेको उल्लेख छ । उक्त अध्ययनमा खाडी मुलुकबाट फर्केका ४० वर्षमुनिका ३८ जना ९३२ पुरुष र ६ महिला० लाई सहभागी गराइएको थियो ।

नेपालको ग्रामीण भेगका उनीहरू कामकै सिलसिलामा बिरामी भएर स्वदेश फर्केका हुन् । उत्तरदातामध्ये धेरैजसो ९९२।१ प्रतिशत० मिर्गौलासम्बन्धी समस्या भएका थिए । आप्रवासी कामदारमा सामान्य नेपालीको तुलनामा मिर्गौलासम्बन्धी समस्या उच्च ९७६।३ प्रतिशत० हुन सक्ने भएकाले वैज्ञानिक जाँच गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

दुई वर्षअघि प्रकाशित ‘नेपाली आप्रवासी कामदारहरूमा दीर्घकालीन मिर्गौला रोग’ सम्बन्धी जर्नलले अध्ययन अवधिमा ६३।६ प्रतिशतले डायलसिस सेवा सुरु गरेको, ६।८ प्रतिशतको प्रत्यारोपण गरिएको उल्लेख गरेको छ । यस्तै, २५ प्रतिशतमा मिर्गौलाको समस्या सुरु भएको र चाँडै डाइलसिसको तयारीमा रहेको, २।३ प्रतिशतको मिर्गौला रोगका कारण मृत्यु भएको र २।३ प्रतिशत फलोअपमा नआएको अध्ययनमा देखाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका औसत ३७र३८ वर्षका ४४ जनालाई सर्वेक्षणमा संलग्न गरिएको थियो । तीमध्ये ९५ प्रतिशत पुरुष थिए । मलेसियाबाट फर्केका २७।३ प्रतिशत र खाडीबाट फर्केका ७२।७ प्रतिशत सहभागी थिए । एक वर्षको फरकमा प्रकाशित यी दुई जर्नललाई अध्ययन गर्दा वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारमा दीर्घकालीन मिर्गौला रोगको मात्रा वृद्धि भइरहेको अनुमान लगाउन सकिन्छ ।

पुरुष दाता अघि नसर्ने हो भने बढ्दो मिर्गौला रोगीको उपचार गर्न महिलामाथि नै बोझ थपिने देखिन्छ । गत वर्ष प्रकाशित एक अध्ययनले ०७७ चैतसम्म देशभरका १ हजार ५ सय जनाको प्रत्यारोपण हुँदा मिर्गौला दाताहरूमा ७५ प्रतिशत महिला थिए भने प्राप्तकर्ता पुरुष ८४ प्रतिशत ।

सरकारले २०७४ सालदेखि प्रत्यारोपणका लागि प्रतिबिरामी ५ लाख ५० हजार रुपैयाँ अनुदान दिँदै आएको छ । नेपालमा प्रत्यारोपण सुरु हुनुअघि एक जनाको प्रत्यारोपणका लागि छिमेकी देश जाँदा ५० लाखसम्म खर्च गर्नुपर्थ्यो । नेपालमा भक्तपुरको प्रत्यारोपण केन्द्र, शिक्षण अस्पताल, वीर अस्पताललगायत निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.