काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषधले व्यक्तिलाई मात्र नभई समाजलाई खोक्रो बनाउँदै लगेको बताएका छन्। शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताएका हुन्।
‘लागूऔषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ।’ गृहमन्त्री लेखकले भने,‘ सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ।’
उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए। ‘लागू औषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ। समग्र परिवार नै चिन्ता र पीडामा जान्छ। यसले अरु अपराधको पनि वृद्धि गरेको छ।’ उनले भने,‘समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ। धेरै अपराधको जगमा लागूऔषध छ।’
उनले विद्यालयस्तरसम्म महाअभियान जोड्न आवश्यक रहेको बताए। ‘महाअभियानलाई प्रत्येक जिल्ला पालिका र टोल, विद्यालय क्याम्पससम्म जोड्नुपर्छ। यदि समयमै नियन्त्रण गरेनौं भने १०र१५ वर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्याछु। ’ उनले भने,‘लागूऔषध मुक्त समाज निर्माणका लागि देशव्यापी बनाउन आवश्यक छ र प्रहरीलाई यो महाअभियान देशव्यापी रुपमा लैजान निर्देशन दिन्छु।’अन्नपूर्ण पोस्टबाट…
