DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लुगलुग काम्दै मधेस, चिसोले लियो ६ को ज्यान


  • माघ २१, २०७७
  • 737 Views
लुगलुग काम्दै मधेस, चिसोले लियो ६ को ज्यान image

काठमाण्डौं । तराई र मधेसमा शीतलहरका कारण अहिले बिहान–साँझ चिसोले मुटु कमाउँछ। मैथिलीमा भनिन्छ, ‘हाथ हाथ नै सुझाइछैं।’ अर्थात् एक हातले अर्को हातलाई हेर्न नसकिने गरी हुस्सु लाग्छ। बिहान ११ बजेसम्म बाक्लो हुस्सुले गर्दा सवारी साधन चलाउँदा हेडलाइट बाल्नुपर्छ। हुस्सुकै कारण सवारी दुर्घटनाको जोखिम देखिएको छ।

अर्कातर्फ पैदलै घरबाहिर निस्किँदा शीतलहरले हानि पुर्‍याउने खतरा छ। ‘हुस्सु र कुहिरोले सवारी दुर्घटनाको सम्भावना निकै बढाएको छ। त्यसैले हामीले चेकजाँच बढाएका छौं’, जनकपुरका ट्राफिक इन्स्पेक्टर नवराज न्यौपानेले भने, ‘चिसोका बेला लाइट बालेरै सवारी साधन चलाउन र न्यानो भएर यात्रामा निस्कन हामी सन्देश दिने गर्छौं।’

स्थानीयले विगतको तुलनामा यस वर्ष बढी चिसो महसुस गरेका छन्। ‘हामी मजदुरका लागि वर्षायाम होस् कि शीतलहरी, सबै दुःखदायक नै छ’, स्थानीय सतेन्द्र महतोले भने, ‘यसअघि कोरोना भनेर काम थिएन। अब शीतलहरीले गर्दा काम पाउन गाह्रो छ। खै कसरी जिन्दगी चलाउने रु’ महतोले पहिला कोरोना र अहिले शीतलहरले कामधन्दा चौपट बनाएको दुःखेसो गरे।

चिसोले लियो ६ को ज्यान
दुई सातादेखिको शीतलहर र हुस्सुका कारण बढेको चिसोले प्रदेश २ मा कठ्यांग्रिएर चार जनाले ज्यान गुमाएका छन्। चिसो छल्न आगो ताप्दा जलेर २ को मृत्यु भएको प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। चिसोकै कारण माघ १० गते बाराका देवताल–७ की ६० वर्षीया राधिका देवीको मृत्यु भयो। यस्तै सर्लाही हरिपुर्वा–३ का रोजाइ शेखले पनि ज्यान गुमाए। लालबन्दीका ६० वर्षीय नरेश न्यौपाने र सिरहाको मिर्चैया–७ का ८ वर्षीय जाविर राइनको कठ्यांग्रिएर मृत्यु भयो। चिसो छल्न आगो ताप्ने क्रममा जलेर सिरहाको कर्जन्हा–३ का ७० वर्षीय किल्टु महतो र बरियारपट्टी–१ की ८५ वर्षीया प्रयागीदेवी साहको मृत्यु भयो।

हिमाली र पहाडी क्षेत्रमा भइरहेको हिमपातको प्रभाव बर्दियासहित आसपासका भेगमा देखिएको छ। बाक्लो हुस्सुले केही दिनदेखि घाम देखिएको छैन। घाम नलागेपछि स्थानीयले अत्यधिक चिसो महसुस गरिरहेका छन् । चिसोले गर्दा काममा जान नसकेको गुलरिया नगरपालिका–७ का सद्धिक नाउँले बताए। चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउनुपर्ने बर्दिया अस्पतालका प्रमुख सुभाष पाण्डेले बताए।

५३ वर्षीय पुरणराम महतो ओढ्ने–ओच्छ्याउने नभएपछि आगो तापेर रात बिताउँछन्। बिहान हुनासाथ भुस खोजेर फेरि आगो बालेर ताप्छन्। ‘जाडो बेस्सरी हुन्छ, सुत्न नसकेर छोराछोरी रुन्छन्’, उनले भने, ‘घर भए राम्रो हुन्थ्यो तर यो सपना मात्रै हो ।’चितवनको रत्ननगर–८ स्थित भानु चोकबाट केही भित्र माछापोखरी डिलमा महतो परिवार बस्ने टहरो छ। पुरानो जस्ताले घेरेर त्रिपाल टाँगिएको छ। पत्नी र तीन छोराछोरी त्यही टहरोमा अटाएका छन्।

अन्नपूर्णपाेष्ट दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.