DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सडकमा ‘किला–एम्बुस’


  • असार २६, २०७८
  • 696 Views
सडकमा ‘किला–एम्बुस’ image

गनापुर । दृष्टि विशेषज्ञ डा. दीपेन्द्रराज भट्टराई चढेको कार १० दिनअघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पन्चर भयो। ‘नयाँ टायर थियो। कसरी–कसरी हावा गयो ? अचम्म लाग्यो’, कोहलपुर नेत्रालयमा कार्यरत डा. भट्टराईले भने, ‘क्याट आईको किला पो गढेको रहेछ।’ राजमार्गमा रातिको समयमा गाडीको साइड लाइटजस्तै पहेंलो बत्ती बल्ने लाइटका रूपमा क्याट आई (बिरालोको आँखा) प्रयोग हुन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीका किरण रैलाले त जेठमै दुईपटक मोटरसाइकलको टायर फेरे। ‘१८ जेठमा कोरोना संक्रमितलाई भेटेर नेपालगन्जबाट घर फर्कँदै थिएँ, कोठारपुरमा पुगेपछि किलाले बाइक पन्चर भयो।

निषेधाज्ञाले गर्दा वर्कसपहरू सबै बन्द थिए। झन्डै ६–७ किलोमिटर बाइक डोर्‍याएर घर जानुपर्‍यो’, उनले आक्रोश पोखे, ‘त्यति बेला निकै रिस उठ्यो। जेठको अन्तिम साता फेरि नेपालगन्ज जाने बेला पनि किलाले बाइक पन्चर बनायो।’ कोहलपुरमा मसला उद्योग सञ्चालन गरेका उनी नेपालगन्ज ओहोरदोहोर गरिरहन्छन्। उनी बाटोभरि नै क्याट आइका किला नै किलाको ‘एम्बुस’ रहेको टिप्पणी गर्छन्। कोहलपुरका नीरज सिंहको मोटरसाइकलमा त एक महिनाअघि गढेको किला अझै छ। ‘कोहलपुरको न्युरोडबाट चौराहा जाने बेला किला बिझेको थियो।

वर्कसपवालाले किला निकाले पन्चर हुन्छ, ननिकाले केही हुँदैन भनेपछि बाइकको टायरमा बिझेको किला झिकेको छैन’, उनले भने, ‘केही दिनअघि काकाको बाइक पिपरी चोकमा क्याट आइको किलाले पन्चर भयो। झन्डै २ किलोमिटर बाइक डोर्‍याएर घर आउनुभयो।’ शुक्रबार बिहान रत्न राजमार्गमा पर्ने जानकी गाउँपालिका–६ गनापुर क्षेत्रसम्म पुग्दा दर्जनौं ठाउँमा क्याट आइका किला फेला परेका थिए। फेसबुक ग्रुपमा ‘नेपालगन्ज–कोहलपुर–नेपालगन्ज रूटमा यात्रा गर्दा सडकको बीचमा भएको ‘क्याट आइ’को किलाले मोटरसाइकल, स्कुटर, अटो वा गाडीको टायर फुटेको वा भएको दुर्घटना’ बारे जानकारी माग्दा थुप्रै व्यक्तिले आफू पीडित भएको प्रतिक्रिया दिएका थिए।

राँझा–कोहलपुर ११।५ किलोमिटर क्षेत्रमा सयौंको ठाउँमा यस्तो किला रहेको सडक डिभिजन कार्यालयले स्वीकार गरेको छ। भैरव नारायणम् जेभीले एक वर्षअघि रत्न राजमार्गको राँझाबाट कोहलपुर सडक क्षेत्रमा क्याट आइ राख्न ७ करोड २६ लाख रुपैयाँको ठेक्का पाएको थियो। ५ हजार ६ सयवटा क्याट आइ लगाउनुपर्नेमा ४ हजार २ सयवटा जडान गर्‍यो। ६ देखि १२ मिटर दूरीमा क्याट आइ जडान गरिएको थियो। ‘कमसल खालको क्याट आइ भएकाले दुई–तीन दिन पनि टिकेन। हामीले त्यसको भुक्तानी नै गरेनौं’, सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसीले प्रस्ट पारे।’ अन्नपूर्ण पोष्ट  दैनिकबाट ….

 


Thali Mobile Pvt.Ltd.