DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता


  • भाद्र ११, २०८०
  • 183 Views
साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता image

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

स्वीकृत भएका ६० उद्योगबाट ३३ सयलाई रोजगारी

अघिल्लो आर्थिक वर्ष २०७९÷८० को साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकामा चालू आवमा झन्डै साढे चारगुणा वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सरकारले लगानी बोर्डमार्फत र उद्योग विभागमार्फत वैदेशिक लगानी भित्र्याइरहेकामा उद्योग विभागमार्फत मात्र साउनमा करिब १२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

नेपाल सरकारले वैदेशिक लगानीसम्बन्धी ऐनमार्फत ६ अर्बभन्दा मुनिका वैदेशिक लगानी उद्योग विभागमार्फत र सोभन्दा माथिका लगानी बोर्डमार्फत स्वीकृत गर्दैै आएको छ । उद्योग विभागले एकद्वार बिन्दुमार्फत वैदेशिक लगानीमा सहजीकरण गरेका कारण यसवर्ष ह्वात्तै वैदेशिक लगानी प्रतिबद्धता आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगका लागि वैदेशिक लगानी प्रस्ताव आएको छ । जसमा साना आकारका ५४ वटा, मझौला खालका चारवटा र दुईटा ठुला उद्योग रहेका छन् । वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये पर्यटनतर्फका २८ दशमलव ४६ प्रतिशत, सेवामूलक ९सर्भिस०तर्फका २६ दशमलव ४३ प्रतिशत, उत्पादनतर्फ ४ दशमलव ७० प्रतिशत, सूचना प्रविधि ९आइसिटी०तर्फका १ दशमलव २ प्रतिशत र कृषितर्फ १ दशमलव २ प्रतिशत रहेका छन् ।

यी सबै वैदेशिक लगानी भित्रिएको खण्डमा ३ हजार ३ सय १ जनाले रोजगारी प्राप्त गर्नेछन् । नेपालले हालसम्ममा ५ हजार ९ सय १९ उद्योगका लागि ४ खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६ सय रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रस्ताव उद्योग विभागमार्फत स्वीकृति दिइसकेको छ ।

वैदेशिक लगानीको सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोडमा झारिएकाले पनि यसपालि उद्योग विभागमार्फत वैदेशिक लगानी प्रस्ताव बढेको हुनुपर्ने विभागकी सूचना अधिकारी तथा निर्देशक रमिला भण्डारीले बताइन् । उद्योग विभागले अघिल्लो आव अर्थात् २०७९÷८० मा कुल ३८ अर्ब ४० करोड ७५ लाख ६६ हजार रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको थियो । कुल ३ सय २७ उद्योगका लागि वैदेशिक लगानी स्वीकृत गर्दा १७ हजार जनालाई रोजगारी प्रस्ताव पनि विदेशी लगानीकर्ताले गरेका थिए । ३८ अर्ब प्रस्ताव भए पनि गत आवमा ५ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विदेशी लगानीकर्ताले गरेको प्रस्ताव प्रतिबद्धता र विभागले गरेको स्वीकृतिको तुलनामा गत वर्ष १७ दशमलव ८४ प्रतिशत मात्र लगानी भित्रिएको छ । अघिल्लो आव २०७८÷७९ मा प्रतिबद्धताको ३४ दशमलव २७ प्रतिशत लगानी भित्रिएको थियो । सो आवमा विभागमार्फत ५४ अर्ब १५ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएकामा १८ अर्ब ५६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

अमेरिकाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष निकाल्ने ‘लगानीको वातावरणसम्बन्धी प्रतिवेदन २०२३’ मा वैदेशिक लगानीका लागि नेपालको वातावरण प्रतिकूल भने तापनि साउन महिनामा वैदेशिक लगानी गत वर्षको साउनभन्दा बढी भित्रिएपछि सरकार हौसिएको छ । यस वर्षको पहिलो महिनामा नै लगानी प्रस्ताव बढेकाले र अबका महिनामा झन बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा नेपाल सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न तत्पर रहेको सार्वजनिक रूपमा जानकारी गराए पनि त्यसको व्यावहारिक र अर्थपूर्ण कार्यान्वयन अझै नभएको जनाइएको थियो । प्रतिवेदनले नेपालमा विशेषगरी ऊर्जा, पर्यटन, सूचना र सञ्चार प्रविधि, पूर्वाधार र कृषिमा लगानी गर्न पर्याप्त सम्भावना रहेको उल्लेख गरेको थियो ।

नेपालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ लगायतका आधारमा विदेशी लगानी गराइने गरेको छ । कानुनी व्यवस्थानुसार ६ अर्ब वा सोभन्दा बढी लागत अनुमान गरिएका परियोजना भए सोका लागि लगानी बोर्डले लगानी स्वीकृति गर्ने र ६ अर्बभन्दा कम लागत अनुमान गरिएका परियोजनाअन्तर्गत त्यस्ता उद्योगमा हुने विदेशी लगानीका लागि उद्योग विभागले स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

जसअनुसार आव २०७८÷७९ मा विभिन्न उद्योगलाई ५६ पटक गरी ७ अर्ब ३४ करोडबराबरको विदेशी मुद्रा वैदेशिक लगानीबापत भिœयाउने स्वीकृति प्रदान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आव २०७८÷७९ मा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीका लागि स्वीकृति प्राप्त गरेका विभिन्न उद्योगले कुल १ सय २० पटक गरी नेपाल राष्ट्र बंैकलाई अनुमानित ९ अर्ब ६९ करोडबराबरको विदेशी मुद्रा वैदेशिक लगानीस्वरूप नेपाल भित्र्याउनका लागि पूर्वजानकारी गराएको अध्ययनले देखाएको छ ।

नेपालमा हालसम्ममा ७२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आए पनि ३५ अर्ब वैदेशिक लगानी र १५ हजारलाई रोजगारी सुनिश्चित भएको छ । यसबिचमा करिब ३५ अर्ब वैदेशिक सहायता सम्झौतामा हस्ताक्षर भएको छ । उद्योग क्षेत्रमा २ सय ७४ परियोजनामार्फत करिब ३५ अर्ब नै वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको हो । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.