DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सार्वजनिक जग्गा ब्यक्तिले कब्जा गरे अनि संस्थालाई दिए


  • पुष १२, २०७७
  • 930 Views
सार्वजनिक जग्गा ब्यक्तिले कब्जा गरे अनि संस्थालाई दिए image

दमक । गौरीगन्ज गाउँपालिका–२ कोरोबारी दासचौरीमा रहेको चार बिघा जग्गा स्थानीयले कब्जामा लिएका छन् । स्थानीयले चार बिघा १८ कट्ठा १० धुर सार्वजनिक जग्गा कब्जा गर्दै आएका दुई व्यक्तिले आफ्नो स्वामित्व छाडेको बताएका छन् । वडा कार्यालयले डाकेको सर्वपक्षीय बैठकको निर्णय पुस्तिकामा हस्ताक्षर गर्दै भेलाले गरेको निर्णय ती दुई व्यक्तिले स्वीकार गरेका हुन् । गौरीगन्ज गाउँपालिका–१ बस्ने विश्वप्रसाद अधिकारी र उनका छोरा राजकुमार अधिकारीले आफ्नो नाममा रहेको भनी सार्वजानिक जग्गा कब्जा गरेर उपभोग गर्दै आएका थिए ।

गौरीगन्ज गाउँपालिका–२ दासचौरीमा रहेको कित्ता नं। १६८ को दुई बिघा चार कट्ठा, कित्ता नं। १६९ को दुई बिघा र कित्ता नं। १७० को १४ कट्ठा १० धुर जग्गा उनीहरूले आफ्नो स्वामित्वमा रहेको भन्दै खनजोतसमेत गरेका थिए । सो जग्गा भारतीय सीमासँग जोडिएको पिलर नं। १३९ र १ मा पर्छ । तर त्यस जग्गानजिकै वर्षांैदेखि बसोवास गर्दै आएका करिब नौ परिवारले सो जग्गामा पहिले आफूहरूको घर रहेको र खोलाको कटानले बसाइँसराइ गरी त्यसको पश्चिमपट्टिको जग्गामा हाल बसोवास गर्दै आएको बताएका छन् ।

उनीहरूले आफूहरू बसोवास गरेको जग्गामा गौरीगन्ज–१ बस्ने विश्वप्रसाद अधिकारी र उनका छोरा राजकुमार अधिकारीले जबर्जस्ती जोत्ने काम गरी आलीधुरी लगाएको भन्दै गत २३ साउनमा वडा कार्यालयमा निवेदन दर्ता गराएका थिए । सो जग्गाको करिब पाँच सय मिटरपर उत्तर–पश्चिममा बसोवास गर्ने लिखिराम हेमरमसहित नौ जनाले निवेदन दिएका हुन् । गौरीगन्ज गाउँपालिका–२ ले बुधबार सो जग्गाको विषयलाई लिएर सर्वपक्षीय भेला डाकेको थियो ।

छलफलमा विश्वप्रसाद अधिकारी र उनका छोरा राजकुमार अधिकारीले सो जग्गा आफूहरूले वर्षौं अघिदेखि उपभोग गरेको र वडा कार्यालयमा मालपोतसमेत तिर्दै आएको हुँदा जग्गा आफ्नै स्वामित्वमा रहेको बताएका थिए । सो जग्गाको ३० वैशाख २०७७ मा विश्वप्रसाद अधिकारीको नाममा वडा कार्यालयबाट मालपोतसमेत काटिएको छ । तर उनीसँग सो जग्गाको जग्गा धनीपुर्जा प्रमाणपत्र छैन । भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग दमक, झापामा विश्वप्रसाद अधिकारीले दिएको निवेदनको दर्ता नम्बर १८७० मा १२ वैशाख २०७० को माग अनुसार क्षेत्रीय किताब उतारमा कित्ता नं। १६८, १६९ र १७० पर्ती रहेको जनाएको छ ।

धनीपुर्जा नै नभएको जग्गा संस्थालाई दान

गौरीगन्ज गाउँपालिका–१ बस्ने विश्वप्रसाद अधिकारीले नेपाल सरकारलाई राजस्व तिर्दै आएको र जोतभोग गर्दै आएको भन्दै कन्काई नगरपालिका–४ सुरुंगामा केन्द्रीय कार्यालय रहेको काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानलाई संरक्षण गरिदिने हेतुले हक हस्तान्तरण गरिदिएका छन् । उक्त संस्थालाई पितृमोक्षको भवनमा कुलदेवी विध्यावासिनी माता भगवतीको पूजाअर्चना एवं धार्मिक कार्य सम्पन्नताका लागि हस्तान्तरण गरिएको उनले संस्थाको नाममा १ वैशाख २०७७ मा लेखिएको पत्रमा उल्लेख गरेका छन् । स्थानीयले सार्वजनिक जग्गा हो भन्दै अवरोध गर्न खोज्दा संस्थाले वार्ड कार्यालयलाई जग्गा संरक्षणका लागि सहयोग गरिदिन भनेर अनुरोधपत्रसमेत लेखेको छ । सो जग्गाको कित्ता नं। १६८, १६९ र १७० मध्ये कित्ता नं।

१६८ लाई फोर गरी कित्ता नं। ५२८, ५२९ र ५३० बनाइएको छ । स्थानीय तथा शिक्षक नारायण कार्कीले २०४३ सालतिर बाँझो पर्ती रहेको जग्गामा सुकुमबासी सन्थाल जातिका पाँच–छ घरपरिवार अन्यत्रबाट बसाइँ सरी आएको बताए । कमल खोलाले धार परिवर्तन गरी उनीहरू बसेको स्थानबाट बग्न थालेपछि बसाइँ सरी त्यसको करिब पाँच सय मिटर उत्तर–पश्चिममा आई बसोवास गरेको उनले बताए । स्थानीय तथा नेकपा गाउँ कमिटीका सचिव विष्णु न्यौपानेले सन्थालहरू बसोवास गर्नुअघि उक्त जग्गामा कसैले पनि जोतभोग नगरेको बताए ।

२०५३ र ५४ सालतिर सन्थालको बसोवास रहे तापनि पछि खोला कटानका कारण त्यहाँबाट बसाइँ सरेको उनले बताए । सन्थालहरू बस्नुअघि स्थानीय भुपनारायण यादव दास भन्ने व्यक्तिले जग्गा कमाउने गरेको उनकै नामले उक्त स्थानको नाम दासचौरी रहेको स्थानीयहरू बताउँछन् । स्थानीय वसन्तप्रसाद राजवंशीले जमिनदार भीमप्रसाद चौधरीले जग्गा कमाउन आफ्नै बुबा बानालाल राजवंशीलाई दिएको बताए । उनका बुबाले धेरै वर्षदेखि सरकारलाई उक्त जग्गाको तिरो तिर्दै आएको तर आफूसँग अहिले तिरो तिरेको रसिद हराएको वसन्तले बताए । राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.