काठमाडाैं । भैरहवा,कपिलवस्तु, नेपालगन्ज, कञ्चनपुर, धनगढी र काँकडभिट्टा — लुम्बिनी प्रदेशका मुख्य नाकामा कोरोना संक्रमण नियन्त्रणलाई बेवास्ता गरिएको छ । नाकामा अहिले स्वास्थ्य मापदण्ड पालना भए/नभएको निगरानी गरिन्छ तर मुलुक भित्रिरहेका व्यक्तिमा संक्रमण छ/छैन परीक्षणमा ध्यान दिइएको छैन । केही नाकामा एन्टिजेन परीक्षण भइरहेको छ । यस्तो परीक्षणको रिपोर्ट पोजिटिभ आएमा उनीहरूलाई आइसोलेसनमा राख्ने गरिएको छैन । व्यक्ति सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर पठाउने गरिएको छ ।
कैलालीको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कमा शनिबार भारतबाट आएकाको कोरोना परीक्षण गरिँदै । तस्बिर : मोहन बुढाऐर/कान्तिपुर
‘नाकामा रहेको हेल्थ डेस्कले बिहानैदेखि काम थाल्छ,’ कपिलवस्तुको कृष्णनगर नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘यात्रुको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्नेबाहेक काम हुन सकेको छैन ।’ भारतबाट आएकालाई दशगजामा छेक्ने अवस्था नरहेको उनले बताए । भारतीय प्रहरीले कडाइ गर्दैनन् । प्रहरीले सुरक्षा जाँच गर्छन् । उनीहरूलाई स्वास्थ्य जाँचबिना प्रवेश दिइन्छ । बिरामीको रेकर्ड राखिँदैन । बिहान ८ देखि साँझ ६ बजेसम्म स्वास्थ्यकर्मीले ज्वरो नाप्ने र शंकास्पद बिरामीको एन्टिजेन परीक्षण गरिरहेको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले बताए ।
‘अब प्रभावकारी बनाउँछौं,’ उनले भने, ‘राति पनि स्वास्थ्य चेक जाँचका लागि स्वास्थ्यकर्मी खटाउँछौं ।’ अहिले कृष्णनगरबाट दैनिक ३ सय हाराहारी प्रवासी नेपाली भित्रिरहेका छन् । डेढ वर्षपछि सरकारले यात्रुसहित भारतीय नम्बर प्लेटको सवारीसाधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएपछि खुसी बनेका छन् ।
बाँकेको नेपालगन्जस्थित जमुनाह नाकामा अहिले घर फर्कनेको लर्को छ । नेपालगन्ज नाकाबाट अहिले दैनिक १ हजार बढी मानिस घर फर्किरहेका छन् । जिल्लामा अझै कोरोना नियन्त्रणमा आएको छैन । नाकामा फर्किनेहरूका लागि हेल्प डेस्क राखिएका छन् । तर समूहमा आउने यात्रु सबैलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीलाई सकस छ । जमुनाह नाकामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएकाहरू खुलेआम हिँडिरहेका छन् । कोरोना संक्रमित व्यक्तिहरू जमुनाह नाका भएर नेपालगन्ज प्रवेश गरिरहेका छन् ।
पूरा समाचार आजको कान्तिपुर दैनिकमा छ…
सिमानामा कोरोना जाँच, बस चढेर गाउँ जान बाध्य संक्रमित
