भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुधारगृहमा राखिएका ५३ प्रतिशत बालक जबर्जस्ती करणी कसुरका


  • कार्तिक १२, २०८०
  • 260 Views
सुधारगृहमा राखिएका ५३ प्रतिशत बालक जबर्जस्ती करणी कसुरका image

काठमाडौं । घटना १ बझाङको बुंगल नगरपालिका– १ मा १२ वर्षीया बालिका बलात्कृत भइन् । गत जेठमा भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्‍यो । घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्ने तीनैजना १४, १५ र १६ वर्षका थिए । सामूहिक बलात्कार कसुर लागेका उनीहरूलाई अहिले पुर्पक्षका लागि डोटीस्थित बाल सुधारगृहमा राखिएको छ । घटना २ गत १७ फागुनमा कैलालीको धनगढी उपमहानगरपालिका– १० जुगेडामा १३ वर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले अनुसन्धानपछि घटनामा संलग्न रहेको अभियोगमा १६ र १७ वर्षीय बालकलाई पक्राउ गर्‍यो । सामूहिक बलात्कारको अभियोग लागेका दुवैजनालाई बाँकेको नेपालगन्जस्थि बाल सुधारगृहमा राखिएको छ ।

घटना ३ गत १२ वैशाखमा रोल्पा नगरपालिका– ९, चोयवाङमा १३ वर्षीया बालिका बलात्कृत भइन् । घटनापछि प्रहरीले १७ वर्षीय बालकलाई पक्राउ गर्‍यो । उनलाई पनि बाँकेको नेपालगन्जस्थित बाल सुधारगृहमा राखिएको छ । घटना ४ वर्ष दिनअघि सुर्खेतको वीरेन्द्रनगरमा डेढ महिनाको अवधिमा पाँचदेखि सात वर्ष उमेरका ६ बालिकालाई बलात्कार गरेको अभियोगमा १४ वर्षीय बालक पक्राउ परे । उनी पनि जबर्जस्ती करणी मुद्दामा बाँकेस्थित नेपालगन्ज कारागारमा राखिएका छन् ।

घटना ५ दुई वर्षअघि भक्तपुरको सूर्यविनायक नगरपालिका– २ बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । सुनसरीका १७ वर्षीय बालक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परे । खेल्न गएको मौका छोपी उनले बालिकालाई गहुँबारीमा लगेर बलात्कार गरेको भन्दै जबर्जस्ती करणी कसुरमा भक्तपुरस्थित बाल सुधारगृहमा राखिएको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा सुधारगृहमा राखिएका बालबालिकामध्ये ५३ प्रतिशत बालक जबर्जस्ती करणी कसुरका छन् । देशभरका सबै आठ बाल सुधारगृहमा रहेका बालबन्दीहरूको तथ्यांकले यो डरलाग्दो अवस्था देखाएको हो ।

देशभरका बाल सुधारगृहमा हाल एक हजार एक सय २६ बालबालिका राखिएका छन् । जसमध्ये पाँच सय ९३ बालक ९५२।६६ प्रतिशत० जबर्जस्ती करणी मुद्दाका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार जबर्जस्ती करणीमा सबैभन्दा धेरै पीडित १८ वर्षमुनिका बालिका छन् । ‘जबर्जस्ती करणीमा बयस्क उमेरका व्यक्तिको संलग्नता त छँदै छ, बालकहरूसमेत संलग्न रहेको तथ्यांक डरलाग्दो छ । अधिकांश पीडित पनि १८ वर्षमुनिकै छन्,’ उनले भने, ‘हाम्रा सुधारगृहहरूमा रहेका अधिकांश बालक जबर्जस्ती करणी मुद्दाकै छन् ।’

कारागार व्यवस्थापन विभागले पनि जबर्जस्ती करणीमा बालकहरूको बढ्दो संलग्नताले सामाजिक त्रास बढाएको मूल्यांकन गरेको छ । यस्तो कसुरमा बाल सुधारगृहमा ल्याइने बालकको संख्या बढ्दो दरमा रहेकोसमेत विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले बताए । ‘देशका आठ सुधारगृहमा अहिले साढे ११ सयजति बालबालिका छन् । जसमध्ये अधिकांश बालक जबर्जस्ती करणी मुद्दाका छन् । यसले के देखाउँछ भने जबर्जस्ती करणीका घटनामा बयस्कसँगै किशोररबालकहरू धेरै संलग्न छन् ।’

सुधारात्मक अपराध नियन्त्रणतर्फ छैन राज्यको ध्यान
अपराध नियन्त्रणका दुई विधि छन्, एउटा दण्डात्मक र अर्को सुधारात्मक । दण्डात्मक विधिले कानुन, कारागार र प्रहरीको परिकल्पना गर्छ । जसको प्रयोग अपराध भएपछि मात्रै आउने गर्छ । तर, सुधारात्मक विधिको उद्देश्य अपराध नै हुन नदिनु हो । अर्थात् रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सुधारात्मक विधिको उद्देश्य हो । जबर्जस्ती करणी नियन्त्रणमा संसारभर मुख्यतया दण्डात्मक विधि नै अभ्यासमा रहेको देखिन्छ । तर, अपराध नियन्त्रणमा आउनुको सट्टा झन् मौलाउँदै गएको देखिन्छ ।

उदाहरणका लागि जबर्जस्ती करणीसम्बन्धी प्रहरीकै तथ्यांकलाई लिन सकिन्छ । ०७५र७६ मा मुलुकभर जबर्जस्ती करणीका दुई हजार दुई सय ३० मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका थिए । जसमा पीडित हुने दुई हजार दुई सय ५४ थिए । पाँच वर्षपछि अर्थात् ०७९र८० मा मुद्दाको संख्या बढेर दुई हजार तीन सय ८७ पुग्यो । पीडित हुने महिलाको संख्या पनि बढेर दुई हजार तीन सय ९८ पुग्यो । यसबाट पुष्टि हुन्छ कि जबर्जस्ती करणीसम्बन्धी अपराध दण्डात्मक विधिबाट मात्रै समाधान हुन सक्दैनन् । यस्ता अपराध त्यसवेला मात्रै निमिट्यान्न हुन्छन् जतिवेला समाज सुशिक्षित बन्न सक्छ । यसका लागि आवश्यक अचुक हतियार हो, चेतना अभिवृद्धि । जुन सुधारात्मक अपराध नियन्त्रण विधिको महत्वपूर्ण पाटो हो ।

नेपालको हकमा जबर्जस्ती करणीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सुधारात्मक विधि कार्यान्वयनमा आएको देखिँदैन । जुन अहिलेको टड्कारो आवश्यकता हो । राज्यले कारागार निर्माणमा प्रत्येक वर्ष करोडौँ रुपैयाँ विनियोजन गर्छ । अभियुक्त पक्राउ गर्ने सन्दर्भमा राज्यको लगानी उत्तिकै ठूलो छ । तर, चेतना अभिवृद्धि गर्नेतर्फ खासै लगानी देखिँदैन । तथ्यांकअनुसार जबर्जस्ती करणीजन्य मनोभाव विद्यालय र समाजको तल्लो तहबाट सुरु हुन्छ । जसले सिंगो समाजलाई संक्रमित तुल्याउँछ । यसलाई रोक्न विद्यालय तह र क्याम्पस दुवै तहका पाठ्यसामग्रीमा यौनशिक्षासँग सम्बन्धित विषय राखिनुपथ्र्यो र विषयविज्ञ शिक्षकबाट पढाइ गरिनुपथ्र्यो । सँगै चेतना अभिवृद्धिको अन्य व्यावहारिक ज्ञान पनि विद्यालय र क्याम्पसमै विद्यार्थीलाई सिकाइनुपथ्र्यो । तर, राज्यको ध्यान यसतर्फ गएको देखिँदैन ।

यसलाई नेपाल प्रहरीका प्रवक्ता डिआइजी कडायत पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘जबर्जस्ती करणी बिरामी समाजको प्रतिबिम्ब हो । यसलाई हटाउन समाज नै स्वस्थ हुन आवश्यक छ । यसका लागि चेतना अभिवृद्धि हुन जरुरी छ । प्रभावकारी शिक्षा वितरण हुनुपर्छ । तर, हामीकहाँ त्यस्तो भएको देखिँदैन । विद्यालय तहमा यौनशिक्षासँग सम्बन्धित केही विषय त राखिएका हुन्छन्, तर त्यसलाई शिक्षकले प्रभावकारी रूपमा पढाउँदैनन् । सकेसम्म त्यसबाट पन्छिन खोज्छन् ।’

मनोविद् वासु आचार्य यसलाई स्वीकार गर्छन् । यनी भन्छन्, ‘किशोरावस्था स्वभावैले जिज्ञासु हुन्छ । यो उमेरमा किशोर–किशोरी हरेक विषय ‘एक्सपेरिमेन्ट’ गर्न खोज्छन् । यौनका विषयमा त झन् हुने नै भयो । जब यी विषयमा उनीहरूले सही शिक्षा पाउँदैनन्, तब नकारात्मक बाटो समात्ने जोखिम हुन्छ । जबर्जस्ती करणी यसैको एक प्रतिफल हो । यी विषयबारे किशोर–किशोरलाई विद्यालय, क्याम्पसमा मात्र होइन, परिवारमा समेत सिकाउन जरुरी छ ।’

जबर्जस्ती करणी कानुनका विषय विद्यालय तहमा अध्ययन नहुँदा पनि यस्ता अपराध बढ्ने गरेको कारागार व्यवस्थापन विभागका प्रवक्ता पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘किशोरावस्था यौनका विषयमा जिज्ञासु हुने उमेर हो । यो उमेरमा यौनका अनेक मनोभाव स्वाभाविक तवरले मनमा आउँछन् । तर, यसका विषयमा सही शिक्षा दिन नसक्दा स्थितिले फरक मोड लिन पुग्छ । विशेषगरी विद्यालय तहकै शिक्षामा जबर्जस्ती करणीसँग सम्बन्धित कानुनका दफा पढाइ गरिनुपर्छ ।’

जबर्जस्ती करणीका अधिकांश पीडित पनि बालिका

प्रहरीको तथ्यांकअनुसार पाँच वर्षमा जबर्जस्ती करणीमा पर्नेमध्ये ६४ प्रतिशत बालिका छन् । जम्मा ११ हजार ७६८ पीडितमध्ये १८ वर्षमुनिका ७ हजार ५५३ ६४.१८ छन् । जबर्जस्ती करणीका अधिकांश पीडित पनि १८ वर्षभन्दा कम उमेरका बालिका छन् । पछिल्लो पाँच वर्षमा देशभर जबर्जस्ती करणीमा ११ हजार सात सय ६८ जना पीडित रहेकामा बालिका–किशोरी सात हजार पाँच सय ५३ छन् । कुल बलात्कारपीडितमा बालिकाको संख्या ६४।१८ प्रतिशत हुन आउँछ । यसमा पनि सबैभन्दा धेरै पीडित ११ देखि १६ वर्ष उमेर समूहका बालिका छन् ।

पाँच वर्षमा ११ देखि १६ वर्ष उमेरका मात्रै चार हजार ६ सय १३ बालिका जबर्जस्ती करणीको सिकार बने । त्यस्तै, १७ देखि १८ वर्ष उमेर समूहका एक हजार पाँच सय ३७ बालिका जबर्जस्ती करणीमा परेका छन् । यही अवधिमा १० वर्षभन्दा कम उमेर समूहका एक हजार चार सय तीन बालिका बलात्कृत भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कडायतले भने, ‘जबर्जस्ती करणीमा पीडित हुने पनि अधिकांश १८ वर्षभन्दा मुनिका बालिका नै छन् । यसको कारणबारे कुनै अध्ययन त भएको छैन, तर यस उमेरका बालिकालाई सजिलै प्रभावमा पारेर बलात्कार गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाउँछ ।’ नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.