काठमाडौँ । नेपालका प्रत्येक दुई घरपरिवारमध्ये एक इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७५÷७६ प्रतिवेदनले प्रत्येक दुईमध्ये एक जना घरपरिवारसँग अर्थात् कुल घरपरिवारमध्ये ५१।१ प्रतिशतले कुनै उपकरणबाट इन्टरनेट प्रयोग गरेको पाइएको उल्लेख गरेको छ । इन्टरनेट प्रयोगकर्तामध्ये १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९।३ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको तथ्य पनि सर्वेक्षणले पत्ता लगाएको छ ।
त्यस्तै ९२।४ प्रतिशत महिलाले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये पनि सहरी क्षेत्रका महिलामध्ये ८१।८ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको छ भने ग्रामीण क्षेत्रका ७३।६ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्य प्रतिवेदनमा उल्लेख छ । सहरी क्षेत्रका महिलामध्ये ९३।५ प्रतिशत र ग्रामीण क्षेत्रका ८९।९ प्रतिशतले विगत तीन महिनामा मोबाइल प्रयोग गरेको पाइएको छ । आफ्नै मोबाइल रहेका सो उमेर समूहका महिलामध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशका ९१।८ प्रतिशतसँग मोबाइल रहेको पनि सर्वेक्षणले देखाएको छ ।
सबैभन्दा कम कर्णाली प्रदेशका ७१।८ प्रतिशतसँग मात्र आफ्नो मोबाइल रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले यो समूहका १४ हजार आठ सय पाँच महिलालाई सर्वेक्षणमा सहभागी गराएको थियो । त्यसमध्ये गण्डकी प्रदेशका एक हजार २५७ र कर्णाली प्रदेशका ७९८ जना महिला सहभागी रहेको उल्लेख छ । सर्वेक्षणमा सहभागी दुई हजार ११४ काठमाडौँ उपत्यका क्षेत्रका यही उमेर समूहका महिलामध्ये ९५।४ प्रतिशतसँग आफ्नै मोबाइल रहेको तथ्याङ्क पनि प्रतिवेदनले सार्वजनिक गरेको छ ।
सोही उमेर समूहका पुरुषमध्ये ९१।४ प्रतिशतसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ । गत तीन महिनामा ९६।८ प्रतिशत पुरुषले मोबाइल प्रयोग गरेको देखिएको छ । यसमध्ये पनि सहरी क्षेत्रका ९३ प्रतिशत र ग्रामीण क्षेत्रका ८७।५ प्रतिशतले आफ्नै मोबाइल फोन प्रयोग गरेको पाइएको छ । विभागले यो सर्वेक्षणमा सबै प्रदेशसहित पाँच हजार ५०१ जना पुरुषलाई सहभागी गराएको थियो । गोरखापत्र दैनिकबाट……..
