काठमाडौँ । काठमाडौं उपत्यका अहिले जात्रामय बनेको छ । काठमाडौंमा गहना खोज्ने, हल्चोक आकाश भैरवको १२ वर्षे जात्रादेखि लिएर भक्तपुरमा बिस्काः र जिब्रो छोड्नेसम्म जात्रा चलिरहेका छन्।
हाडीगाउँमा वैष्णवीदेवी, टोखामा चन्देश्वरी, साँखुमा बज्रयोगीनी जात्राको रौनक छ।ललितपुरमा बैशाख १ गते रातो मत्स्येन्द्रनाथको महास्नान गराइएको छ भने चापागाउँको प्रसिद्ध बज्रबाराही, सुनाकोठीमा बालकुमारी, लेलेमा जेलकुमारी, बालकुमारी र टिकाभैरवको खट जात्रा गरिएको छ ।
८ रात ९ दिन मनाइन्छ बिस्काः
बिस्काः जात्रा भैरवनाथको पूजासँगै सुरु हुन्छ । चैत २८ देखि सुरु भएको जात्रा बैशाख ५ अर्थात ८ रात ९ दिनसम्म धुमधामसँग मनाइन्छ । जात्रामा पाँच तले मन्दिर प्रांगणबाट भैरवको रथलाई ठने टोलका बासिन्दाले माथिल्लो टोलमा र क्वने टोलका बासिन्दाले तल्लो टोलमा लैजान तानातान गर्ने चलन छ।
रथ तानातान गर्नुलाई जात्राको मुख्य आर्कषणको रुपमा लिने गरिन्छ । यसरी रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यो टोल विजयी भएको मानिन्छ ।यसैबीच चैत ३१ गते रथ तान्नेक्रममा किचेर भक्तपुर नगरपालिका– ४ स्थित लाकोलाछेंका सुशील तमखुको मृत्यु भएको छ । रथ गहिटी टोलबाट योसिंखेलसम्म लैजानेक्रममा तमखुलाई किचेको प्रहरीले जनाएको छ ।
बिस्काः कै अवसरमा मध्यपुर थिमिमा विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायतको जात्रा मनाइएको छ भने मध्यपुर थिमिमा ३२ खटसहित सिन्दुरजात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्ष तेस्रो पटक जिब्रो छेडेर २८ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन् ।
टोखामा पनि बिस्काः जात्रा
टोखाबासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्दै बिस्काः जात्रा मनाएका छन् । आठ रात ९ दिन मनाइने जात्रामा विधिपूर्वक पूजाआजा गरेर मंगलबार सिंगारिएको मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई प्यागोडा शैलीको खटमा राखेर सिन्दुर जात्रा गर्दै नगर परिक्रमा गराइयो ।
टोखाबासीले नारायण पोखरीमा खटलाई स्नान गराउनु गहना खोज्ने अर्थमा लिने गरेको छ । जात्रा गर्न बैशाख १ मा भुतखेलस्थित पिगः द्यो (पीठ) मा होमजप गरिएको थियो । जात्राको अवसरमा बैशाख कृष्ण चतुर्दशी र औसीको रातमा ‘याँ प्याँख’ भनी देवी नाच देखाइएको छ । टोखा नेवा गुठीका पूर्वअध्यक्ष देवराज डंगोलका अनुसार टोखामा रक्षाकी देवीका रूपमा चण्डेश्वरी, रोग व्याधि निको बनाउने सपनतीर्थ, विद्याकी देवी सरस्वती, दरबारमा पुजिने कोथु गणेशलगायत सात देवीदेवतालाई विषेश रूपमा मान्ने परम्परा छ ।
हलचोक आकाश भैरव १२ वर्षे जात्रा
बैशाख १ गतेदेखि सुरु भएको हलचोक आकाश भैरवको १२ वर्षे जात्रा अहिले धुमधामसँग मनाइरहेको छ । जात्रा बैशाख महिनाभर मनाउने परम्परा छ । जात्रामा देवगणको रुपमा हलचोक आकाश भैरव, चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीको नृत्य गराइन्छ । जात्राका लागि बैशाख १ गते राष्ट्रप्रमुख उपस्थित भएर पूजाआजा गरेका थिए ।
हल्चोक आकाश भैरवनाथ गुठीका अनुसार नाच बैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, ३१ गते क्रमश : केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा र अन्तिम दिन ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा प्रदर्शन गरिनेछ ।
आकाश भैरव १२ वर्षे जात्राका प्रचारप्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठका अनुसार यीबाहेक नाच नचाउन निम्तो आएमा अन्य स्थानमा पनि नचाउने परम्परा छ । हलचोक आकाश भैरव गुठीका अनुसार जात्रा नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले सञ्चालन गरेका हुन् ।
वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवलाई महालक्ष्मीले दर्शन दिनुभएको र उहाँकै आदेश अनुरूप राज्यलाई सत्रुको भयबाट मुक्त गर्न हल्चोकमा आकाश भैरवसहित विभिन्न देवता तान्त्रिक विधिले उत्पन्न गराई स्थापना गरेको उल्लेख छ । जात्रा सञ्चालन गर्न काठमाडौं महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको छ ।
साँखुमा बज्रयोगिनी जात्रा
साँखुमा गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दाँया हातमा खड्ग, बाँयामा कमलको फूल, बहुमूल्य हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई नगर परिक्रममा गराइन्छ । बज्रयोगिनी देवीसँगै स्वयम्भु चैत्य, सिंहमुखी, बाघमुखि र बसुन्धरा देवीको खटलाई पनि सांस्कृतिक बाजागाजासहित नगर परिक्रममा गराइयो ।
साँखुका स्थानीय संस्कृति विज्ञ प्रकाशमान सक्वका अनुसार नगर परिक्रमा गराउनेक्रममा पाँचै वटा खटलाई मरीकसी चढाउने परम्प्परा छ । नेपाल भाषामा माटाको भाडो भित्र राखिएको विषेश किसिमको रोटीलाई मरीकसी भनिन्छ । मरीकसी प्राप्त गर्नेलाई सन्तान लाभ हुन्छ भन्ने जनविश्वास छ । त्यसैले मरीकसी पाउन स्थानीयबासीबीच तछाडमछाड हुने गरेको साँखुका स्थानीय संस्कृति विज्ञ सक्व बताउँछन् ।
जात्राको लागि हुनमान ढोका दरवारबाट राजप्रतिनिधिको रुपमा मल्लकालिन खड्ग ल्याइएको थियो । बज्रयोगिनीलाई हिन्दु सम्प्रदायले दशमहा विद्यादेवी, बौद्ध सम्प्रदायले बज्रयोगिनी, उग्रतारा र तिब्बती लामाहरुले धोर्ज्येफाम्बू, मनकामना रुपमा पुजिन्छ । जात्रा कालिगत सम्वत १८१८ देखि निरन्तर चल्दै आएको र साखुका राजा शंखदेवले चलाएको भन्ने किवदन्ती छ ।
रातो मत्स्येन्द्रनाथको महास्नान
सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको बैशाख १ गतेको शुभसाइतमा न्हवँ ९महास्नान० जात्रा गरियो । मस्त्येन्द्रनाथका ज्योतिषी कीर्तिकरण जोशीका अनुसार महास्नानपछि मध्यरातमा मत्स्येन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपी सिः बाजा (नेवार समुदायमा शवयात्रामा बजाइने बाजा) बजाउदै तःबहालमा लगी मन्दिरको पिँढीमा राखिन्छ ।
महास्नानपछि लापुः छाय्गु भनी नेकु समुदायद्वारा मूर्तिमा म्हैपीबाट ल्याइएको माटोले कलेवर फेर्ने, रङरोगन गर्ने गरिन्छ । त्यसपछि वैशाख कृष्ण त्रियोदशीका दिन बौद्ध परम्पराअनुसार प्राणप्रतिष्ठा गराई पुरुष र नारी दुवैलाई गरिने जातकर्म, नामकर्म, अन्नप्राशन, उपनयन, चूडाकर्म, इही (बेल विवाह)
कान्तिपुरबाट र गुफा राख्ने दसकर्म गराइनेछ । दसकर्म सकिएपछि आउँदो वैशाख शुक्ल प्रतिपदाको दिन मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरबाट बाहिर ल्याई पुल्चोकमा रथारोहण गराइन्छ । त्यसको चौथो दिनदेखि रथयात्रा सुरु हुन्छ ।
महास्नान जात्रामा मत्स्येन्द्रनाथको मूर्तिलाई सांस्कृतिक बाजागाजा र गुरुजुको पल्टनका साथमा तबहालस्थित मत्स्येन्द्रनाथको मन्दिरबाट लगनखेल पुर्याई त्यहाँ रहेको ‘न्हवू दबु’ मा राखी महास्नान गराइएको थियो ।
महास्नान गराउन बुङ्मतीस्थित कार्यविनायक वनमा रहेको ‘न्हवू गाँ ’, कुम्भेश्वरको कुण्ड र तःबहालको इनारबाट जल ल्याइएको थियो । न्हवँ जात्रा अवलोकन गर्न सर्वसाधारणको घुँइचो लागेको थियो । त्यस्तै, ललितपुरको सुनाकोठीमा बालकुमारी, चापागाउँमा बज्रबाराही, लेलेमा जेलकुमारी, बालकुमारी र टिकाभैरवको खट जात्रा मनाइएको छ ।
कान्तिपुरबाट…
