DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल सुपर लिग : चितवन पहिलो पटक प्लेअफमा


  • बैशाख ५, २०८२
  • 1480 Views
नेपाल सुपर लिग : चितवन पहिलो पटक प्लेअफमा image

काठमाडौँ । नियम, परिस्थिति र भाग्यले यसपल्ट एफसी चितवनलाई सहयोग गरेको नै देखियो । नेपाल सुपर लिग (एनएसएल) को लिग चरणको अन्तिम खेलअगाडिसम्म बिहीबार प्लेअफ पुग्ने एउटा टिमको निर्णय हुन बाँकी थियो । दशरथ रंगशालामा भएको खेलमा विजयी रहेर चितवनले त्यो स्थानमा आफूलाई पुर्‍याएको थियो । धनगढी एफसीविरुद्ध चितवनलाई बराबरी पनि पर्याप्त थियो, किनभने यसपल्ट वरीयताको निर्धारण गोल अन्तरले हुने नियम थियो ।

जितपछि भने चितवन ११ अंकसहित तेस्रो स्थानमा रह्यो । टोली प्रतियोगिताको तेस्रो सिजन आइपुग्दा पहिलो पटक प्लेअफ पुग्यो । अब टोलीले इलिमिनेटरमा पोखरा एफसीको सामना गर्नेछ । पोखरा भने ८ अंकसहित चौथो स्थानमा रह्यो । अभाग्यशाली टिम भने काठमाडौं रेजर्स बन्यो । ८ अंकसहित काठमाडौं पाँचौंमा रह्यो । यस्तोमा काठमाडौं पहिलो पटक प्रतियोगिताको इतिहासमा प्लेअफ पुग्न असफल रह्यो । जुन परिस्थितिबाट टिम बाहिरिएको छ, त्यो काठमाडौंका लागि पीडादायी रहनेछ ।

पहिलो क्वालिफायर–वानमा भने धनगढी र ललितपुर सिटी एफसीले खेल्नेछन् । चितवनको पक्षमा परिस्थिति किन रह्यो भने धनगढी यसअघि नै पहिलो क्वालिफायरका लागि छनोट भइसकेको थियो । त्यसैले टोलीसामु आफू प्रतिकूल नतिजामा पनि प्रयोग गर्न सक्ने अवसर थियो । धनगढीले त्यही काम गर्‍यो । धनगढीले उतारेको सुरुआती पहिलो टिम लगभग दोस्रो रोजाइका खेलाडीबाट भरिएको थियो । धनगढीले ५ खेलको अपराजित यात्रा भने गुमाएको छ ।

जर्जप्रिन्सको सानदार गोल

यो खेललाई पछिसम्म सम्झिनुपर्ने एउटा कारण धनगढीका जर्जप्रिन्स कार्कीको गोल रहनेछ । उनकै गोल मदतमा धनगढीले सातौं मिनेटमा सुरुआती अग्रता लिएको थियो । चितवनका गोलरक्षक एमल नाइट आफ्नो ‘पोजिसन’ मा नभएका बेला जर्जप्रिन्सले ४० यार्डबाट गरेको प्रहार दर्शनीय ढंगबाट गोलमा परिणत भयो । खेलको १४ औं मिनेटमा भाग्य चितवनको ‘दाहिना’ रह्यो र पेनाल्टीको अवसर पायो ।

त्यसमै कप्तान रहेका नोडिर माभलोनोभले गोल गरे । छिरिङ गुरुङको प्रहार धनगढीका डिफेन्डर अशोक खवासको हातमा लागेको देखिएको थियो । यद्यपि त्यसमा उनको कुनै नियत थिएन । रेफ्री प्रज्ज्वल क्षेत्रीले आफ्ना सहयोगी कृष्ण कन्हैया यादवको संकेतमा त्यो निर्णय दिएका थिए । अन्य फरक परिस्थितिमा यो पेनाल्टीको निर्णय नहुने स्थिति पनि हुन सक्थ्यो । तर, यसअघि रेफ्रीको निर्णयमा लगातार विरोध गरिरहेको चितवनलाई खेलमा फर्कने अवसर भने थियो ।

यसपल्ट रेफ्रीको निर्णय टोलीको पक्षमा रह्यो ।पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा छिरिङको क्रसमा जय गुरुङले गोल गर्दै चितवनलाई खेलमा पहिलो पटक अगाडि राखे । तेस्रो गोल भने आत्मघाती रह्यो । भिक्टर मानसरयको क्रस अमृत श्रेष्ठलाई लागेर ५१ औं मिनेटमा गोलमा परिणत भयो ।खेलपछि चितवनका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘यो खेलमा हामी दबाबमा थियौं । पेनाल्टीको पाएपछि त्यसमा गोल भयो र स्थिति केही सजिलो भयो ।

अब अर्को खेल दबाबमुक्त भएर खेल्नुपर्नेछ ।’धनगढीका प्रशिक्षक हुँवा म्यानुयल मार्टिनेजले आफ्नो टिमले चितवनलाई लगातार आक्रमणको अवसर दिएको माने । उनले अब आफ्नो ध्यान पूर्णतः क्वालिफायरमा भएको प्रस्ट पारे । अर्कोतर्फ धनगढीका हारमा जर्जप्रिन्सले नमज्जा माने । उनले मिडियासामु भने, ‘हार्दा मज्जा आउँदैन । आज जित निस्केन, तर यसबाट मुक्त भएर अगाडि बढ्न सक्नुपर्छ । अब हाम्रो लागि महत्त्वपूर्ण भनेको क्वालिफायर–वान हो ।’कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.