DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

लामिछाने सभापतिमा फर्किनासाथ सुमनाले दिएकी थिइन् राजीनामा


  • बैशाख ५, २०८२
  • 1290 Views
लामिछाने सभापतिमा फर्किनासाथ सुमनाले दिएकी थिइन् राजीनामा image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् । पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन् । रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने भनिएको छ ।

कार्यवाहक सभापति डीपी अर्यालले छलफलपछि राजीनामा स्वीकृतर अस्वीकृतको निर्णय लिने जवाफ दिएको श्रेष्ठले बताएकी छन् ।उनले सभापति रवि लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

रास्वपामा कविन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् । पछिल्लो पटक सभापति लामिछानेले पार्टी पुनःसंरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए ।सोही बेलादेखि श्रेष्ठले पदबाट राजीनामा दिने र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।

श्रेष्ठले मुख्यगरी पार्टीको कार्यशैली, कार्यविभाजन लगायतका विषयमा प्रश्न गरेकी छन् । एक व्यक्ति एक पद लागू गर्नुपर्ने, एक व्यक्तिले दुई पूर्णकालीन जिम्मेवारीलाई न्याय गर्न नसक्ने, पार्टीमाथि जनताको ठूलो आस भए पनि डेलिभरी दिने क्षमता शून्य रहेको, धेरै कर्मकाण्डी प्रक्रिया र पदाधिकारीलाई सल्लाह नगरी महत्त्वपूर्ण निर्णय लिने लगायतका काम पार्टीमा भएको जस्ता विषयलाई श्रेष्ठले राजीनामा पत्रमा उठाएकी छन् ।

सहमहामन्त्री पदबाट राजीनामा दिए पनि रास्वपा नत्यागेको प्रस्ट पारेकी छन् । उनले राजीनामा दिनुको कारण बुँदागत रूपमा उल्लेख गरेकी छन् । भनेकी छन्, ‘एक व्यक्ति एक पद – पदको लालसा नेपालका पुराना पार्टी र अझ भन्नुपर्दा नेपाली समाजमै गढेको एक प्रथा हो ।

संघीय सांसद हुँदा मैले पार्टीको अर्को महत्त्वपूर्ण जिम्मेवारी लिँदा पद नभई केही गर्न सकिन्न भन्ने सन्देश जान्छ जुनसँग मेरो गहिरो विमति छ । अन्य पार्टीभन्दा हामी भिन्न भन्ने तर रवैया उस्तै रहने मेरो लागि स्वीकार्य छैन ।’एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत दिएर देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर जनताले ठूलो आशा राखेकामा पार्टीको प्रस्तुति सोचे जस्तो सशक्त नभएको उनको ठम्याइ छ ।

पुराना दलले पार्टीमाथि लगाएको सहकारी ठगीको ‘लेबल’ चिर्न पनि असफल भएको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।उनले पार्टीको कार्यशैलीलाई ‘कर्मकाण्डी’ भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ‘धेरै कर्मकाण्डी प्रक्रिया बैठकमा बस्ने क्रम, बोल्ने क्रम आदिमा पदाधिकारीलाई चाहिनेभन्दा बढी महत्त्व दिइन्छ ।

यस्तो संस्कारले सिर्जनात्मक र काम गर्ने जाँगरलाई हतोत्साहित गर्ने रहेछ’ उनले उल्लेख गरेकी छन् । पार्टीमा कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण, दोषका आधारमा छलफल हुनुपर्ने, उमेर वा ओहदामा ठूलो सानो नहेरी सबैको विचारलाई महत्त्व दिनुपर्ने आवश्यकता पनि उनले औंल्याएकी छन् ।

उनले पदाधिकारीलाई सल्लाह नगरी महत्त्वपूर्ण निर्णय लिने गरिएकामा असन्तुष्टि व्यक्त गरेकी छन् । पार्टीका महत्त्वपूर्ण निर्णय आधिकारिक रूपमा नभएर अन्य स्रोतबाट थाहा पाउँदा पदको कुनै वजन नभएको महसुस  आफूले   गरेको   उनको   भनाइ   छ ।

‘पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरें,’ उनले भनेकी छन्, ‘कैयौं पटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिनेसमेत अवस्था देखें ।’सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक अन्य पदमा दाबेदारी पेस नगर्नेसमेत उनले उल्लेख गरेकी छन् ।

तपाईंको राजीनामा प्रक्रिया कसरी अगाडि बढ्छ ?

खै, बिहीबारको केन्द्रीय समिति बैठकले पास गर्छ होला भन्ने लागेको थियो, तर त्यस्तो भएन । छलफलमा मात्र आयो । मलाई केही सोधिएको छैन । बिहानै को मान्छेले यो खबर बाहिर ल्यायो, त्यो थाहा पाउन पाए रमाइलो हुन्थ्यो ।

तपाईंको राजीनामा किन आएको हो ?

मैले राजीनामाबारे सार्वजनिक चासो बढेपछि पार्टीको भाइबर ग्रुपमा पनि राखिदिएको छु, सबैले पढुन् भनेर । त्यसमा मेरा धारणा स्पष्ट छन् । यसअघिको पार्टीको राष्ट्रिय भेलामा पार्टीको भावी नेतृत्व र सिस्टम हस्तान्तरणको विषयमा मैले धारणा पनि राखेकी थिएँ । त्यति बेला नै मैले भनेकी थिएँ, आऊ भन्ने तर ठाउँ नछोड्ने परिपाटी हुनु हुँदैन ।

त्यो सिलसिलामा नै मैले यो विषयमा विचार राखेकी थिएँ । रविजी पक्राउ परेपछि त्यो गलत समय बन्न पुग्यो र यसबारे केही गरिएन । पछि रविजी फर्केपछि यो विषयमा एउटा मुभमेन्ट नै ल्याउनुपर्‍यो भनेर मैले बैठक अध्यक्षता गर्नुअघि भनेकी थिएँ । यसमा महाधिवेशन गर्दै जाँदा पार्टीभित्रबाट क्षमतावान् व्यक्तिलाई अघि ल्याउनुपर्‍यो र दोस्रो आफूलाई जे कुरामा चित्त बुझेको छैन, आफूले पनि त्यही कुरा गर्दै हिँडेर त भएन नि, त्यो त पुरानै दलका नेताको जस्तो भयो पनि भनेकी थिएँ ।

पुरानो नेतृत्व बदलिनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ भन्ने तपाईंको सैद्धान्तिक अवधारणा हो ?

एउटा त्यो भयो । मन्त्री हुँदा पनि म सहमहामन्त्री थिएँ । त्यतिबेला मैले सहमहामन्त्रीको कामबारे केही सोच्दा पनि सोचिनँ । मन्त्रीको भूमिका मात्र निर्वाह गरें । त्यतिबेला सहमहामन्त्रीले गर्नुपर्ने काम अरू कसैले पनि त गरेन नि, भनेपछि यो मैले अनुभवबाट पनि सोचेर यो निर्णय गर्नुपर्ने बेला आयो भन्नेमा पुगेको हो । एउटा मान्छेले धेरै पद लिएर केही हुन्न र केही गर्न सकिन्न भन्ने अनुभवबाट नि मैले यो निर्णय लिएकी हुँ ।

तर पार्टी सभापति थुनामा परेको वा पार्टी अप्ठ्यारो समयबाट गुज्रिरहेका बेला तपाईंको राजीनामा आउँदा त्यसलाई तपाईंले भनेजसरी मात्रै सोचिएला त रु यसले पार्टीभित्र थप ध्रुवीकरण गर्दैन ?राजीनामा त मैले पार्टी सभापति पक्राउ पर्नुभन्दा अघि नै दिएकी हुँ । उहाँ पक्राउ पर्नुअघि कुराकानी हुँदा यो पत्रमा स्वीकृति पत्र राख्ने भन्नुभएको थियो । पक्राउ परेपछि मैले कार्यवाहक सभापति डीपी अर्याललाई ‘यो विषय होल्ड गरौं, दिस इज द ब्याड टाइमिङ’ भनेर विशेष अनुरोध गरेकी थिएँ । तर यो विषय कसरी बाहिर ल्याइयो । जसले यो कुरा बाहिर ल्याउनुभयो, यो सबैका निम्ति गलत समय हो ।

अब के हुन्छ त ?

राजीनामा दिएको भनेर केन्द्रीय समिति बैठकमा छलफल भयो । कार्यवाहक सभापतिले हामी बसेर कुराकानी गर्छौं, त्यसपछि निर्णयमा पुग्छौं भन्नुभएको छ ।

राजीनामा स्वीकृत भए के हुन्छ, नभए के हुन्छ ?

राजीनामा अस्वीकृत हुन्छ जस्तो मलाई लाग्दैन । तर मैले धेरै कुरा देखेको छु । स्वीकृत भएको दिनदेखि मेरा पुरानै तीनवटा प्राथमिकताका विषयमा काम गर्नुछ । संसद्मा पेस गर्न प्राइभेट बिलहरू तयार गरेको छु । अर्को कुरा कानुन निर्माणमा काम गर्ने । तेस्रो भनेको एनआरएनसहित जोडेर एउटा नेटवर्क बनाएर नेपालका निम्ति केही काम गरौं भन्ने छ । यसमा मैले काम नै गर्न पाएको थिइनँ, अब गर्नेछु ।
कान्तिपुर दैनिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.