काठमाडौं । आसन्न दसैँ र सुरु हुनै लागेको पर्यटकीय सिजनमा खचाखच यात्रु बोकेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने चारवटा जहाज एकसाथ ग्राउन्डेड मुख्य चाडपर्व र पर्यटकीय सिजन नजिकिँदै गर्दा नेपाल वायुसेवा निगमसँग यात्रु बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक जहाजको चरम अभाव भएको छ । निगम स्वामित्वमा रहेका ६ वटामध्ये चारवटा जहाज बिग्रिएर मर्मत थालिएका छन् । जसकारण अन्तर्राष्ट्रिय र राष्ट्रियतर्फ अहिले एक–एकवटा साना जहाजले मात्रै उडान गर्दै आएका छन् ।
आन्तरिक उडान गर्ने ट्विनअटर ९एन–एबियू भने करिब दुई महिनापछि लामो दूरीमा पनि उडान थालेको हो । नियमित मर्मत गर्नका लागि साढे तीन सय घण्टा मात्र उडान गर्ने अवधि बाँकी रहेको पाएपछि निगम व्यवस्थापनले दसैँ–तिहारमा उक्त अवधिबापतको उडान गर्ने भन्दै दुई महिनादेखि ग्राउन्डेड गरेर राखेको थियो । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकहाँ उजुरीसमेत पुगेको थियो । त्यसपछि मन्त्री पाण्डेले तत्काल उडान गर्न दिएको निर्देशनअनुसार सो जहाजले उडान गर्न थालेको हो । तर, यो जहाज पनि उडान अवधि सकिएर मर्मतका लागि चाँडै ग्राउन्डेड हुने निगम अधिकारीहरू बताउँछन् ।
यात्रु बोकेर उड्नुपर्ने जहाज निरन्तर ग्राउन्डेड हुँदा पनि निगम व्यवस्थापनले सुधारका लागि कुनै चासो दिएको छैन । अहिले चारवटा जहाज ग्राउन्डेड हुँदै दैनिक सवा चार करोडभन्दा बढी आम्दानी गुमिरहेको छ । निगमका ७५ प्रतिशत जहाज ग्राउन्डेड भएपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चासो दिएको छ । समिति सभापति राजकिशोर यादवले बुधबारबाट निगमको ग्राउन्डेड जहाजका विषयमा छलफल थालेका छन् । बुधबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको धारणा बुझेर सांसदहरूले सुझाव राखेका छन् ।
बुधबारको बैठकमा अधिकांश सांसदहरूले निगम व्यवस्थापन सुधारका लागि उपसमिति बनाएर अध्ययन गर्नुपर्ने राय दिएका थिए । बैठकको सुरुमै धाराण राख्दै कांग्रेस सांसद एनपी साउदले मर्मतमा ढिलाइ किन भएको हो भनेर प्रश्न राखेका थिए । कांग्रेस सांसद उदयशमशेर राणाले ७५ प्रतिशत जहाज एकैपटक ग्राउन्डेड हुनु अस्वाभाविक भएको बताए । एमाले सांसद दामोदर पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाज छिटो चल्नुपर्ने र सिजनमा नेपाली जहाज चढ्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।
राप्रपा सांसद धवलशमशेर राणाले समिति बनाएर छानबिन गर्नुपर्ने सुझाव दिँदै समस्या हल गर्न ठुलो ‘अपरेसन’ गर्नुपर्ने बताए । पूर्वपर्यटनमन्त्रीसमेत रहेका माओवादी सांसद सुदन किराँतीले निगमभित्र समस्या रहेको र नीतिगत र संचरनागत सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले इटालीमा दुई महिनादेखि मर्मत भइरहेको जहाज दुई साताभित्र आउने जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट…
