काठमाडाैं । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ ।
विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।
उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले बताए ।
सज्जा चौलागाईं
मोरङ पथरीकी सज्जा चौलागाइँ नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् ।
प्रवीण बेडुवाल
बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन–३ का अब्बल प्रतियोगी हुन् । कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ । शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन् । गायन अवधिभर गीतमै डुब्छन् । हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन् । उनी भारतको तमिलनाडुमा हुर्किएका हुन् । इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन् ।
उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने सोच्थे । बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे । प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने । बुवाले एक दिन प्रवीण सामु एउटा प्रस्ताव राखे । ‘प्रवीण कि गाउन छाडिदे कि घर ? प्रवीणले घर नै छाडिदिए । त्यसपछि हजुरआमासँग बसे । उनका हजुरबुवा सानोमै भारत पसेका थिए ।
किरणकुमार भुजेल
महोत्तरी बर्दिबासका हुन्, किरणकुमार भुजेल । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमसँगै उनले कार्यक्रममा तहल्का पिटिरहेका छन् । उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन् । उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए ।
सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएको छ । नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए । कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो । गाउँमा भैंसी चराउन जाँदा होस् या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे । अन्नपूर्ण पोष्टबाट…
