DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जीवन बीमा व्यवसायः वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन


  • जेष्ठ १८, २०८०
  • 390 Views
जीवन बीमा व्यवसायः वैशाखमा चालू आवकै सबैभन्दा थोरै बीमा शुल्क आर्जन image

काठमाडौं । वैशाखमा जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क चालू आवकै सबैभन्दा कम रहेको छ । १० महीनाको अवधिमा असोजमा बाहेक हरेक महीना कम्तिमा १० अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका कम्पनीहरूले वैशाखमा भने ९ अर्ब ३७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यो बीमा शुल्क पछिल्लो १० महीना यताकै सबैभन्दा कम हो ।

कम्पनीहरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीले फागुनमा १० अर्ब ३३ करोड, माघमा ११ अर्ब ७३ करोड, पुसमा १२ अर्ब १३ करोड र मंसिरमा १३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

त्यस्तै कात्तिकमा १० अर्ब २३ करोड, असोजमा ९ अर्ब ७३ करो८, भदौमा १० अर्ब ९० करोड र साउनमा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । साउनमा आर्जन गरेको बीमा शुल्क नै चालू आवको सबैभन्दा धेरै बीमा शुल्क हो । साउन पछि मंसिरमा आर्जन गरेको बीमा शुल्क चालू आवकै दोस्रो धेरै हो ।

किन घट्यो बीमा शुल्क आर्जन ?

देशमा देखिएको आर्थिक सुस्तीको असर बीमा व्यवसायमा परेको बीमा कम्पनीहरूको भनाइ छ । आर्थिक मन्दीमा पहिलो आवश्यक्ता परिवारको आवश्यक्ता र त्यसपछि मात्रै अन्य कुरा पर्दा बीमा व्यवसाय निकै खुम्चिएको कम्पनीकोहरू दाबी छ ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश खत्री आर्थिक मन्दीकै कारण बीमा व्यवसाय खस्किएको बताउँछन् ।बीमितहरूले बीमा पोलीसी नविकरण गर्न अहिले नसकिने बताइरहेका छन् । उनीहरूको पहिलो आवश्यक्ता परिवारको छाक टार्ने भएको छ । खत्रीले भने, जीवन बीमा भनेको फोर्स सेभिङ हो, मन्दीको बेला यो प्राथमिकतामा परेको छैन ।

‘सहकारीको व्यवसाय राम्रो भएको बेलामा व्यवसायिक अभिकर्ताले सहकारी मार्फत बीमितको पोलीसी नविकरण गरिदिन्थे । अहिले सहकारीहरू पनि समस्यामा परेपछि अन्य विकल्पबाट नविकरण सम्भव भएन । त्यसैले बीमा व्यवसाय यो वर्षकै न्युत स्तरमा आएको हो ।’ उनले भने ।

बीमा शुल्क घट्दा पनि बीमा संस्थान र सानीमा रिलायन्सको बीमा शुल्क बढ्यो

चालू आर्थिक वर्षको चैत महीनाको तुलनामा वैशाख महीनामा राष्ट्रिय बीमा संस्थान र सानीमा रिलायन्सको व्यवासायमा मात्रै सुधार आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख महीनामा जीवन बीमा कम्पनीहरुले ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।कम्पनीहरुले चैत महीनामा भने ११ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चैत महीनाको तुलनामा वैशाखमा कम्पनीहरूको बीमा शुल्क १४ दशमलव ८५ प्रतिशतले घटेको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३१ दशमलव ६० प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा ३६ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ४७ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै सानीमा रिलायन्सको चैत महीनाको तुलनामा वैशाखमा बीमा शुल्क ३७ दशमलव ७१ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चैत महीनामा २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको संस्थानले वैशाखमा ३४ करोड ०५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो समाचार अभियान दैनिकमा छ ।

 

 


Thali Mobile Pvt.Ltd.