भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तंग्रिन खोज्दै होमस्टे


  • चैत्र १६, २०७७
  • 560 Views
तंग्रिन खोज्दै होमस्टे image

लम्जुङ । कोरोना भाइरस संक्रमण त्रासले गरिएको लकडाउनसँगै अघिल्लो चैतदेखि देशभरका होमस्टे ठप्प भए। पाहुना राख्न नपाउँदा होमस्टेले आम्दानी गुमाउन पुगे। आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे लकडाउनसँगै सुनसान बने। तर संक्रमण कम हुँदै गएपछि मंसिरदेखि होमस्टेले पाहुना राख्न थाले। कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्। पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँका ४० घरमा होमस्टे सेवा छ। ‘यतिबेला आन्तरिक पाहुना आउन थालेका छन्।

कोरोनाका कारण झन्डै नौ महिना पाहुना राख्ने अवस्था रहेन,’ घलेले भने, ‘मंसिरदेखि होमस्टेमा पाहुना आउन थालेका छन्। अहिले आगमन राम्रै छ।’ उनका अनुसार ४० घरमा तीन सय ५० जनासम्म पाहुना अट्छन्। शुक्रबार र शनिबार घलेगाउँको होमस्टेमा आन्तरिक पाहुनाको भिडभाड नै हुन्छ। ‘सबै आन्तरिक पाहुना हुन्। कोरोना त्रासले लामो समय घरबाहिर निस्कन नपाएका मानिस अहिले घलेगाउँसम्म आएका छन्,’ उनले भने, ‘यसले गाउँलेलाई आम्दानी दिएको छ।’

घलेगाउँका बासिन्दाका लागि ५/६ महिना घरखर्च धान्ने कमाइ होमस्टले यो अवधिमा दिलाएको उनले बताए। ‘यो बेला विदेशीको अपेक्षा गर्न सकिन्नँ। सहरका युवा होमस्टे बस्न गाउँ पसेका छन,’ उनले भने, ‘यसले गाउँलेलाई आम्ल्दानी पनि दिएको छ।’ २०५६ सालमा घलेगाउँमा होमस्टे सुरु भएको थियो। यो गाउँलाई २०६५ सालमा सार्क राष्ट्रकै पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो। २०७६ सालमा यो गाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा पनि विकास गरियो।

त्यस्तै कास्कीको सिक्लेस होमस्टेका सचिव पदम गुरुङ पनि होमस्टेमा आन्तरिक पाहुना आउन थालेको बताउँछन्। तर पाहुनाको उपस्थिति लकडाउनअघिको जस्तो छैन। अहिले फेरि कोरोना संक्रमण बढ्न थाल्दा पाहुना आउन रोकिने हुन् कि भन्ने चिन्ता पलाएको सचिव गुरुङले बताए। ‘लकडाउनअघि जस्तो पाहुना त आएका छैनन्। तर पहिलेको जस्तो नभए पनि पछिल्ला केही महिना पाहुना बढ्न थालेका थिए,’ उनले भने, ‘पाहुना आउन थालेपछि केही सहज भएको छ, हामी पनि उत्साही छौंं। तर फेरि कोरोना त्रास बढ्न थाल्दा हामी त्रसित छौं।’

सचिव गुरुङका अनुसार सिक्लेसका २० घरमा होमस्टे छ। ती सबै घरमा रातमा १५० जनासम्म पाहुना अट्छन्। एक घरमा बढीमा १० जनासम्म पाहुना अट्छन्। खासगरी पछिल्लो तीनचार महिनायता काठमाडौं, चितवन, पोखराका मानिस रमाउनका लागि सिक्लेस आउन थालेका छन्। ‘लामो समय कोरोनाका कारण होमस्टे व्यवसाय थला पर्‍यो। तर पछिल्लो समय होमस्टे गंग्रिने प्रयासमा छन्। त फेरि कोरोनाको त्रास छाएको छ,’ उनले भने, ‘बल्लतल्ल उठ्न लागेका होमस्टे पुुनः थला पर्ने हुन् कि भन्ने चिन्ता पलाएको छ।’

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), गण्डकीका अध्यक्ष नवराज अधिकारी पछिल्लो अवधिमा प्रदेशका सबैजसो होमस्टेमा पाहुना पुग्न थालेको बताउँछन्। लकडाउनअघि जस्तो पाहुना नआए पनि होमस्टेले ४० प्रतिशत ब्यापार गर्न सकेको उनले बताए। ‘अप्ठेरो अवस्था नआउने हो भने अबका दुई–तीन महिनामा होमस्टेले पहिलेकै आकारमा ब्यापार पाउँछन्। तर पुनः कोरोना संक्रमण त्रास बढ्दै जाँदा ढुक्क हुने अवस्था भने छैन,’ अधिकारीले भने।

अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा तीन सय ३० वटा होमस्टे सञ्चालनमा छन्। ती सबैले पाहुना नपाए पनि नाम चलेका होमस्टेमा भने अहिले पर्याप्त पाहुना आउन थालेको उनले बताए। ‘कोरोना त्रासका कारण लामो समय बन्द रहेका होमस्टे बल्लतल्ल तंग्रिने प्रयासमा छन,’ उनले भने, ‘फेरि त्रास बढ्दै जाँदा अब के होला भन्ने अन्योल छ।’

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल पनि होमस्टेले बल्ल व्यावसायिकता पाउन थालेको बताउँछन्। होमस्टेले स्थानीय उत्पादन बढाउन र आयात विस्थापित गराउन सघाएको उनले बताए। ‘होमस्टेले आम्दानी दिएको छ, संस्कृति पनि जोगाएको छ। होमस्टे जनता र गरिबसँग जोडिएको छ। त्यसैले होमस्टेको विकासमा प्रदेश सरकारले सघाएको हो,’ उनले भने। कोरोनाका कारण थलिए पनि अब उकासिने विश्वास उनको छ।

यो समाचार आजको नागरिक देनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.