DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुर्लभ पशुपक्षीको तस्करी रोकौंं


  • माघ १४, २०७८
  • 509 Views
दुर्लभ पशुपक्षीको तस्करी रोकौंं image

काठमाडौं । नेपालका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा चराचुरुंगीको तस्करी बढ्दै गएको छ। तस्करहरूले सर्वसाधारणको प्रयोग गरेर दुर्लभ वन्यजन्तु र चराचुरुंगी पक्रिन र मार्न लगाएर विश्वका विभिन्न कुनामा पुर्‍याउने गरेका छन्। रातारात पैसा कमाउन उनीहरूले अवैध रूपमा वन्यजन्तु र चराचुरुंगीहरूको व्यापार गर्ने गरेका छन्। दुर्लभ वन्यजन्तु र चराचुरुंंगीको तस्करी बढे पनि मुख्य तस्करहरू भने पक्राउ पर्दैनन्। भरिया र सर्वसाधारण मात्र पक्राउ पर्दा तस्करको जालो तोड्न प्रहरी प्रशासन असफल छ।

पछिल्लो समय नेपालबाट लाटोकोसेरोको तस्करी बढेको छ। तस्करहरूले भारत, चीन, मध्यपूर्वी एसियन देशहरूमा लाटोकोसेरो तस्करी गरेर पुर्‍याउने गरेका छन्। वर्षमा कम्तीमा दुई हजार लाटोकोसेरोको अवैध कारोबार हुने गरेको चरा संरक्षणकर्मीहरू बताउँछन्। लाटोकोसेरोको विभिन्न अंंगबाट आयुर्वेदिक औषधि बन्ने, तान्त्रिक र धार्मिक कार्यमा लाटोकोसेरोका अंगहरू प्रयोग गर्दा फाइदा हुने अन्धविश्वास छ। क्यान्सर निको हुने, भियग्राबराबरको औषधिसमेत बन्ने विश्वासले लाटोकोसेरोको अवैध कारोबार भइरहेको संरक्षणकर्मीहरू बताउँछन्।

विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन्। त्यसमध्ये २३ प्रकारका नेपालमा छन्। वातावरणको सूचकको रूपमा लाटोकोसेरोलाई हेरिन्छ। जहाँ उनीहरूको उपस्थिति हुन्छ, त्यस क्षेत्रलाई स्वस्थ मानिन्छ। त्यस क्षेत्रमा सबै वातावरणीय तत्त्वहरूको अन्तक्र्रिया भइरहेको भन्ने अर्थमा बुझ्ने गरिन्छ। विगतमा शाहीबाज नेपालबाट कतार तस्करी हुने गरेको थियो। ठूला चराहरू मात्र होइन, सुगा, हुचिल, मुनियाँ, लभबर्ड, फिन्चेस, मकाउ, परेवा, काक्रातौलगायत पनि अवैध कारोबार भइरहेको छ। तराईतिर भँुडीफोर ९भुँडीफोरुवा० नामको चराको गिदी बेच्न भारततिर लग्ने गरिएको छ।

भुँडीफोरुवाको गिदी आयुर्वेदिक तथा झारफुकको काममा प्रयोग हुँदै आएको अध्ययनले देखाएको छ। अवैध व्यापारकै कारण उपत्यकामा नयाँ चराहरूले पुरानालाई विस्थापित गरेका छन्। अवैध रूपमा बजारमा खुलेआम चराहरूको बिक्री पनि भइरहेको छ। कण्ठे सुगा, ९प्लम हेडेड० ट्विसी सुगाहरू बजारमा बेच्न राखिएका भेटिन्छन्। तर पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन।

नेपाल प्रहरीका अनुसार बाघ, गैंंडा, चितुवा, रेडपाण्डा, कस्तुरी, चिरु, कछुवा, सालक, सुनगोहोरोलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको चोरी सिकारी पनि बढिरहेको छ। प्रहरीले चोरी सिकारीमा संलग्न रहेको भन्दै सर्वसाधारण र गरिबलाई पक्राउ गर्छ। तस्करले दिने केही पैसाको लोभमा सर्वसाधारणले चोरी सिकारी गर्ने गरेको प्रहरी नै स्वीकार गर्छ। तर, सर्वसाधारणलाई पैसा दिएर यस्तो काममा लगाउने मुख्य तस्कर भने कहिल्यै पनि पक्राउ पर्दैनन्।

मुख्य तस्करसम्म प्रहरी नपुगेसम्म दुर्लभ वन्यजन्तु र पक्षीको तस्करी रोक्न सकिँदैन। वन्यजन्तु र पक्षीको तस्करीमा अन्तर्राष्ट्रिय रूपमै तस्करको जालो हुन्छ। त्यो जालो तोड्नका लागि प्रहरी प्रशासनले अनुसन्धानको दायरा फराकिलो बनाउनै पर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन र साइटिस महासन्धिले वन्यजन्तु तथा पशुपक्षीको कारोबार गर्न नपाइने व्यवस्था छ। यी ऐनले यस्तो कार्यमा संलग्नलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था पनि गरेको छ।

पक्षीपालन नीति २०६८ ले पनि कुनै पनि वन्यजन्तु तथा पक्षीबिना अनुमति बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको छ। अवैध सिकार, चोरी र बासस्थानमा आएको ह्रासका कारण थुप्रै वन्यजन्तु र पक्षी दुर्लभ तथा लोपोन्मुख बन्दैछन्। वन्यजन्तु र पंंक्षी पनि प्रकृतिको सुन्दर र अनुपम उपहार हुन्। यो पृथ्वी जैविक प्राणीको साझा घर हो। अर्कोतिर दुर्लभ वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण गर्ने अभियानमा नेपाल निकै अघि छ। १९७५ मै नेपाल साइटिसको सदस्य बनिसकेकाले दुर्लभ वन्यजन्तु र पक्षीको संरक्षण र प्रवद्र्धनमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नैपर्छ। अननपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.