भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव


  • पुष १०, २०८०
  • 362 Views
भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव image

जाजरकोट । भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ। भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन्। स्वास्थ्य संस्था औषधिविहीन हुँदा पनि सम्बन्धित निकाय यसबारे बेखबरजस्तै छन्।

दिनप्रतिदिन चिसो बढिरहेको छ। चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्यसंस्था जाने गरेका छन् तर औषधि नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य छन्। औषधि अभावमा उ पचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामी संख्या बढ्दै गएको भए पनि औषधि नभएको बताइन्। चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायतका श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधि नहुँदा उपचार गर्न नसकिएको बताइन्।

‘स्वास्थ्य संस्थामा सिटामोलसमेत छैन। बिरामीले निःशुल्क पाउने औषधिसमेत दिन सकेका छैनौं। उनीहरू रित्तो हात फर्किन बाध्य छन्’, उनले भनिन्, ‘भूकम्पपछि चिसोका बिरामीको संख्या बढ्दै गएका छन् तर लामो समयदेखि औषधि आएको छैन।’ जुनीचाँदे गाउँपालिका—६ दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधि अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताइन्। उनले गाउँपालिकामा औषधिको माग गरे पनि आउन नसकेको बताइन्।

उनले भनिन्, ‘चिसोका बिरामी दैनिक १०र१२ जना आउँछन् तर औषधि नहुँदा उपचारमा समस्या परेको छ। चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन्। औषधि नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेका छन्।’ दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप कार्यक्रमको लागि अभिमुखीकरण कार्यक्रममा छेडागाड नगरपालिकाको मनघाटमा आएका जुनीचाँदे गाउँपालिकाका अधिकांश स्वास्थ्यकर्मीले औषधिको अभाव रहेको बताएका छन्।

जुनीचाँदे—१ मजकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले औषधिको अभाव रहेको बताइन्। उनले निमोनिया र दमका बिरामी बढेको बताइन्। दैनिक २०र२५ जना चिसोका बिरामी स्वास्थ्य संस्था आउने गरेको उनको भनाइ छ। तर औषधि नहुँदा बिरामीहरू रित्तो हात फर्कन बाध्य हुने गरेका छन्। उनले भनिन्, ‘चिसोले बिरामी पर्न थालेपछि त्रिपालमा बस्दै आएका धेरैजसो भूकम्प पीडित जोखिम मोलेरै भए पनि घरभित्र बस्न थालेका छन्।’

जुनीचाँदे गाउँपालिकाका ११ वटै वडामा रहेका स्वास्थ्यसंस्थामा औषधिको अभाव रहेको छ। जुनीचाँदे गाउँपालिका सदरमुकाम खलंगाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो। यहाँ अत्यधिक चिसो हुने गर्छ। जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडाहरूमा पुग्न यातायातको असुविधा छ। यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधि खरिद नगरेको र जिल्लाले औषधि नपठाएका कारण समस्या भएको हो।

चिसो बढेसँगै भूकम्प पीडित बिरामी भएर स्वास्थ्यसंस्था पुग्दा पनि औषधि नपाएर रित्तै फर्कनु नागरिकको स्वास्थ्यप्रति गम्भीर खेलवाड भएको जुनीचाँदे गाउँपालिका—२ का स्थानीय सर्पराज रावतले बताए। गाउँमा चिसोका बिरामी बढेका छन्। कतिपयको ज्यानै गइसकेको छ तर यस्तो अवस्थामा पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले भूकम्प पीडित जनताको स्वास्थ्य समस्याबारे संवेदनशील हुन सकेका छैनन्। एकले अर्कालार्ई दोष लगाएर आफू जिम्मेवारीबाट उम्कने प्रयास गरिरहेको तर स्थानीयले सामान्य सिटामोलसमेत नपाउने अवस्था रहेको उनको भनाइ छ।

संघ सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले खरिद गरेको औषधि स्वास्थ्य सेवा कार्यालयमार्फत पालिकामा पठाउने, पालिका आफैंले पनि औषधि खरिद गर्ने र त्यसपछि स्वाास्थ्यसंस्थामा जाने प्रणाली कायम गरिएको छ तर औषधि सकियो कहाँ माग गर्ने, कति बेला माग गर्ने भन्ने कुराहरूमा समन्वय नहुँदा औषधि अभाव हुने गरेको छ। स्वास्थ्यसेवा कार्यालय जाजरकोटका प्रमुख डा। प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधि गइरहेको तर जुनीचाँदेले औषधि नै माग नगरेको बताइन्।

औषधिको स्टक सकिएको भए माग गरेर लैजान निर्देशन दिने उनको भनाइ छ। जिल्लाभर चिसोका बिरामी बढेको उनको भनाइ छ। चिसोकै कारण जाजरकोट र रुकुमपश्चिममा गरी ३ बालबालिकासहित ३४ जनाको ज्यान गइसकेको छ। जाजरकोटमा हालसम्म ३५ हजार १ सय ४० भूकम्प पीडित लाभग्राही कायम भएका छन्। त्यसमध्ये १६ हजार २ सय ३४ लाभग्राहीसँग अस्थायी आवासका सम्झौता भएको छ भने पहिलो किस्ताको २५ हजार रुपैयाँँ ६ हजार ८ सय ४६ परिवारको खातामा जम्मा भएको छ। भूकम्पको दुई महिना पुग्न लाग्दा पनि अधिकांश भूकम्प पीडितहरू त्रिपालबाट अस्थायी आवासमा सर्न सकेका छैनन्। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.