DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

महिलामैत्री बैङ्क बन्यो जगन्नाथ सहकारी


  • भाद्र २५, २०८०
  • 214 Views
महिलामैत्री बैङ्क बन्यो जगन्नाथ सहकारी image

बैतडी। मासिक २५ रुपियाँबाट बचत सुरु गरेको महिला सहकारीमा तीन करोड रुपियाँ जम्मा भएपछि सहकारीको हैसियत बैङ्कभन्दा कम छैन । सहकारीले महिलालाई बिनाधितो करोडौँ रुपियाँ ऋण लगानीसमेत गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकस्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा छ सयभन्दा बढी महिला बचतकर्ता रहेका छन् ।

२०५४ सालमा स्थानीय ५४ जना महिलाले मासिक २५ रुपियाँबाट बचत सुरु गरेको सहकारी संस्था महिलाको आफ्नै बैङ्क बन्न पुगेको छ । झोलामा बचत र पासबुक बोकेर लामो समय सञ्चालन भएको सहकारीले अहिले आफ्नै दुईतले भवनसमेत ठड्याएको छ । सञ्चालक र बचतकर्ता सबै महिला मात्रै रहेको जगन्नाथ महिला सहकारीको शनिबार २५ औँ साधारण सभा भएको सहकारीका अध्यक्ष अम्बिका भण्डारीले बताउनुभयो । २६ वर्षअघि महिलालाई तत्कालीन सिप्रेड किसान परियोजनाले सहकारी खोल्न हौस्याएको थियो ।

५४ जना महिला मिलेर मासिक २५ रुपियाँबाट बचत सुरु गर्दा सहकारीमा तीन करोड रुपियाँ जम्मा गर्न सफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो । समस्यामा परेका बेला बचतकर्ता महिलाले बिनाधितो लाखौँ रुपियाँ ऋण लैजाने गरेको उहाँले बताउनुभयो । घरायसी व्यवहार चलाउन महिलाले पुरुषको भर पर्नुपर्ने अवस्था हटेको छ ।

सहकारीका कोषाध्यक्ष लोहनीका अनुसार मासिक बचत गर्ने महिलाको घरायसी र सामाजिक प्रतिष्ठासमेत बढेको छ । सहकारीको २५ औँ साधारण सभामा उपस्थित हुनुभएका दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी ९लक्खाभाइ० ले जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था नगरकै नमुना सहकारी रहेको बताउनुभयो ।

हरेक वर्ष सहकारी संस्थाले महिला हिंसासम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छ । सदरमुकाम हिँड्ने बाटो महिलाले नै बनाएका हुन् । सहकारीमा आबद्ध महिलाले कृषि, बाख्रापालन, सिलाइ सेन्टर, कस्मेटिक पसललगायत विभिन्न पेसा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनाएको सहकारीले जनाएको छ । गोरखा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.