DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

माओवादी केन्द्रको प्रदेश सम्मेलनमा नेतृत्व चयन गर्नै सकस


  • मंसिर २८, २०७८
  • 425 Views
माओवादी केन्द्रको प्रदेश सम्मेलनमा नेतृत्व चयन गर्नै सकस image

काठमाडौैं । माओवादी केन्द्रको प्रदेश सम्मेलनमा नेतृत्व चयन गर्न सकस भएको छ । राष्ट्रिय सम्मेलनको तयारीअन्तर्गत माओवादी केन्द्रले गत शनिबारबाट सबै प्रदेशको सम्मेलन एकसाथ सुरु गरेको छ । तर, नेतृत्व चयनमा भने सकस भइरहेको छ ।दशमध्ये नौवटा प्रदेशमा सम्मेलन सुरु गरेको माओवादीले एउटा प्रदेशमा अध्यक्षको मात्रै टुंगो लगाउन सकेको छ ।

अन्य कुनै पनि प्रदेशमा कमिटी चयन गर्न सकेको छैन । प्रदेश २ मा भने ३ पुसमा मात्रै सम्मेलन सुरु हुनेछ । अन्य प्रदेशमा भने सम्मेलन सुरु भएर पनि नेतृत्वको विषयमा सहमति नजुट्दा टुंग्याउन सकेको छैन । सम्मेलन जारी नै छन् । नेतृत्व चयनलगायत केही प्रक्रिया बाँकी रहेकाले केही दिन लम्बिने देखिएको छ । विशेषगरी स्थान अभावलगायत प्राविधिक कारणले समस्या आएको बुझिएको छ । पार्टीले बनाएको विधानअनुसार नै सम्मेलन चलिरहेका छन् ।

नेतृत्व चयनमा सकेसम्म सर्वसम्मत गर्ने, सहमति नजुटेकोमा प्यानल नबनाईकनै आन्तरिक प्रतिस्पर्धासमेत गर्न मिल्ने व्यवस्था माओवादी केन्द्रले यसपटकदेखि लागू गर्दै छ । पहिलोपटक प्रदेशको कमिटी चयन गर्न लागेको माओवादीले सर्वसम्मत गर्ने प्रयास जारी राखे पनि आकांक्षीको संख्या धेरै हुँदा सम्मेलन नै लम्बिएको छ । माओवादी केन्द्रको निर्वाचन समितिका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सबै ठाउँमा सम्मेलन जारी रहेको र अझै केही दिन लाग्ने बताए ।

‘सम्मेलनहरू जारी नै छन् । नेतृत्व चयनलगायत केही प्रक्रिया बाँकी रहेकाले केही दिन लम्बिने देखिएको छ । विशेषगरी स्थानको अभावलगायत प्राविधिक कारणले समस्या आएको बुझिएको छ । पार्टीले बनाएको विधानअनुसार नै सम्मलेन चलिरहेका छन्,’ उनले भने । श्रेष्ठले प्राविधिक कारण देखाए पनि प्रदेशमा आकांक्षीको व्यवस्थापन माओवादीका लागि मुख्य चुनौती बनेको छ ।

प्रदेश १ मा आकांक्षी धेरै हुँदा पदाधिकारीको टुंगो लागेन
पदाधिकारी चयनमा सकस भएपछि प्रदेश १ को सम्मेलन नै स्थगित भएको छ । मोरङको विराटचोकमा २५, २६ र २७ चैतमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनमा पदाधिकारीमा आकांक्षीहरूको प्रतिस्पर्धा तीव्र भएपछि पदाधिकारी चयनविनै अधिवेशन स्थगित भएको हो । २५ र २६ मंसिरमा सम्पन्न हुने भनिएको अधिवेशन पदाधिकारीहरूको आकांक्षाले गर्दा २७ मंसिरसम्म लम्बिएको थियो ।

अधिवेशनले सर्वसम्मत रूपले दुई सय ४१ सदस्यीय प्रदेश समिति र ९६ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । तर, आकांक्षीहरूको चर्को प्रतिस्पर्धाले गर्दा पदाधिकारी भने टुंगो लगाउन सकेन । प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षमा उदयपुरका सुरेश राई, पाँचथरका इन्द्रबहादुर आङ्बो र धनकुटाका हेमराज भण्डारी आकांक्षी छन् । प्रदेश १ इन्चार्ज राम कार्कीका अनुसार २९ मंसिरमा विराटनगरमा बस्ने प्रदेश कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्नेछ । नयाँ विधानअनुसार पहिले कार्यसमित चयन हुन्छन् ।

बागमतीमा प्रदेश कमिटी गठन, तर पदाधिकारी चयन हुन सकेन
बागमती प्रदेशमा माओवादीले पदाधिकारी चयन गर्न नसके पनि कमिटी भने गठन गरेको छ । काठमाडौंमा भएको सम्मेलनले बागमतीमा दुई सय ४५ सदस्यीय कमिटी चयन गरेको हो । एक साताभित्र चयन भएकामध्येबाट अध्यक्षसहित पदाधिकारी छनोट गर्ने गरी कमिटी गठन गरिएको प्रदेश सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

‘सम्मेलनले हाल दुई सय ४५ सदस्य चयन गरेको छ । बागमती कमिटीमा ३० जना मनोनीतसहित दुई सय ७५ जना हुनेछन्,’ उनले भने, ‘अध्यक्षसहित पदाधिकारी मनोनीत भएका सदस्यबाट छनोट गरेर एक साताभित्र कमिटीलाई पूर्णता दिइने छ ।’ बागमतीमा माओवादी केन्द्रका एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एकजना कोषाध्यक्ष रहने पुलामीले बताए । उनका अनुसार कमिटीमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला र २० प्रतिशत संख्या युवा अनिवार्य हुनुपर्नेछ । सोमबार बसेको बैठकले टुंग्याउन नसकेपछि मंगलबारबाट पुनः छलफल अघि बढाइने पुलामीले जानकारी दिए ।

सुदूरपश्चिममा पनि जुटेन सहमति
सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि आकांक्षीको संख्या धेरै हुँदा प्रदेश सम्मेलन नै लम्बिएको छ । नेतृत्वमै सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रक्रिया लम्बिएको छ । शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश सम्मेलन तोकिएको थियो । तर, सोमबार बेलुकी अबेरसम्म पनि नेतृत्वका लागि सहमति जुट्न सकेन । सहमति नभएपछि बन्दसत्र मंगलबार बिहान ८ बजे पुनः बोलाइएको छ ।

प्रदेश इन्चार्ज खगराज भट्टसहित नेताहरू सोमबार दिनभरजसो सम्मेलनस्थलबाहिर छलफलमा जुटेका थिए । सुदूरपश्चिम प्रदेश अध्यक्षमा आधा दर्जनभन्दा बढी नेताहरूले दाबी गरेका छन् । वर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय सभा सदस्य हरि चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर र प्रदेश कमिटी सदस्य हरि ज्ञवाली अध्यक्षका प्रबल दाबेदार देखिएका छन् ।

यस्तै प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि अध्यक्षका आकांक्षी छन् । अधिवेशनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ । दुई सय एकजना सम्मेलनबाट र बाँकी सदस्य मनोनीत गरिने माओवादीले जनाएको छ ।

लुम्बिनीमा पदाधिकारीको टुंगो अर्को बैठकले लगाउने
माओवादी केन्द्र लुम्बिनी प्रदेशले अर्को बैठकबाट पदाधिकारी टुंगो लगाउने गरी सम्मेलन नै स्थगित गरेको छ । पार्टीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन स्थगित भएको हो । प्रदेशमा नौजना पदाधिकारी चयन हुनुपर्नेमा अध्यक्ष र सचिवमा लगभग टुंगो लागिसके पनि अन्य पदाधिकारीमा सहमति जुट्न नसकेपछि सम्मेलन स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सम्मेलनले प्रदेश सदस्यहरूको नाम भने टुंगो लगाइसकेको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । उनका अनुसार दुई सय १७ जना प्रदेश सदस्यलाई सोमबार शपथग्रहण गराइएको छ । मंगलबारदेखि संसद् अधिवेशन सुरु हुने भएकाले अधिवेशनपछि बैठक बसेर टुंगो लगाउने गरी सम्मेलन स्थगित गरिएको हो । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सम्मेलनमा एक सय पाँचजना प्रतिनिधि सहभागी हुनेछन् ।

गण्डकीको अध्यक्षमा गायत्री गुरुङ
माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीले अध्यक्ष निर्वाचित गरेको छ । पोखरामा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले अध्यक्षमा गायत्री गुरुङ निर्वाचित गरेको छ । तर, २९ सदस्यीय कमिटी गठन गरेको गण्डकीले २८ जना सदस्य भने पछि थप्ने निर्णय गरेको छ ।

अधिवेशनमा अध्यक्षका आकांक्षी धेरै हुँदा पनि सर्वसम्मत प्रदेश समिति चयन गर्दै त्यसको पहिलो बैठकबाट गुरुङलाई अध्यक्षमा प्रस्ताव गरी निर्वाचित गरिएको माओवादी केन्द्रका नेता राजकाजी गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेशका उपाध्यक्ष, सचिवसहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाटै चयन गरिनेछ ।

कर्णालीमा पुरानै नेतृत्व दोहोर्‍याउने प्रयास
कर्णाली प्रदेशमा पनि नेतृत्व चयन हुन नसक्दा आइतबार सकिने भनेको सम्मेलन अझैसम्म जारी छ । प्रदेशमा शीर्ष तहमा सहमतिका लागि छलफल चलिरहेको छ भने तल्ला तहका प्रतिनिधि फुर्सदिला बनेका छन् । माओवादी केन्द्रको प्रदेश अधिवेशनले २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्नेछ ।

कर्णालीमा अहिलेसम्म अध्यक्षका लागि तीनजनाको नाम चर्चामा छ । प्रदेश अध्यक्षका लागि महेन्द्रबहादुर शाही, वर्तमान अध्यक्ष राजकुमार शर्मा र विमला केसीको नाम चर्चामा छ । तर, केन्द्रबाट सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिन दबाब दिएका कारण सहमति जुट्न सकेको छैन । नयाँपत्रिका दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.