DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

राष्ट्र संघमा नेपालले रुस र युक्रेनलाई भन्यो: वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान खोज


  • फाल्गुन १८, २०७८
  • 383 Views
राष्ट्र संघमा नेपालले रुस र युक्रेनलाई भन्यो:  वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान खोज image

काठमाडौँ । नेपालले रुस र युक्रेनलाई वार्तामाफर्त शान्ति स्थापना गर्न आग्रह गरेको छ । हिंसाले थप हिंसा निम्त्याउने उल्लेख गर्दै नेपालले शान्ति स्थापनाका लागि अर्को विकल्प नभएको बताएको छ ।

मंगलबार संयुक्त राष्ट्र संघको महासभाको आपत्कालीन सत्रलाई सम्बोधन गर्दै राष्ट्र संघका लागि नेपालका राजदूत अमृत राईले कुनै पनि सार्वभौम मुलुकको क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताका विरुद्धमा बल प्रयोगको विरोध गर्ने कुरामा अडिग रहेको जनाएका हुन् ।

शान्तिको बाटोमा फर्किने कुरामा कहिल्यै ढिला भन्ने कुरा हुँदैन । हामी रुस र युक्रेनलाई वार्तामार्फत नै शान्ति स्थापनाका लागि आग्रह गर्छौँ,ु राजदूत राईले भने । उनले रुस र युक्रेनलाई शान्तिपूर्ण वार्तामार्फत नै दीर्घकालीन राजनीतिक समाधान निकाल्न पनि आग्रह गरेका छन् । रुस र युक्रेनबीच वार्ता सुरु हुनु सकारात्मक भएको पनि नेपालको उल्लेख गरेको छ ।

राजदूत राईले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको मातहतमा रहेर सबै नागरिक र उनीहरूको सम्पत्तिको रक्षा हुनुपर्नेमा पनि जोड दिए । त्यस्तै युक्रेनमा रहेका नेपाली नागरिकको सुरक्षाका बारेमा नेपाल चिन्तित रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि सहजीकरण गर्न पनि सबै सरोकारवालालाई राजदूत राईले आग्रह गरे ।

जर्मनीका लागि नेपालका राजदूत रामकाजी श्रेष्ठका अनुसार किभमा रहेका सबै नेपाली सुरक्षित स्थलमा पुगेका छन् । गैरआवासीय नेपाली संघका अनुसार अहिलेसम्म ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । संघअन्तर्गतको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ जना मोल्डोभा पुगेका छन् ।

Source: kantipur daily

 


Thali Mobile Pvt.Ltd.