भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना


  • मंसिर ३०, २०७७
  • 664 Views
सुर्खेतमा मेलम्चीपछिको ठूलो खानेपानी आयोजना image

सुर्खेत । सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो । यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारेको छ । आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जानकारी दिनुभयो ।

चार वर्षदेखिको प्रयास
उपत्यकामा भेरीको पानी ल्याउन सङ्घीय र प्रदेश सरकारले पटक पटक बजेट विनियोजन गरे पनि योजना अगाडि नबढ्दा बजेट फ्रिज हुँदै आएको थियो । भेरी नदीको पानी उपत्यकामा ल्याउन चार वर्ष अघिदेखि चर्चा चल्दै आए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन । अब विभागले यहाँको खानेपानी समस्या समधान गर्न दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी सक्रियता देखाएको छ । खानेपानी आयोजना दीर्घकालीन रूपमा अगाडि बढाउन खानेपानी तथा ढल व्यवस्था विभागको प्राविधिक सहितको टोली अहिले सुर्खेतमा छ । पहिले भएको अध्ययनमा भेरी पुुल र झुप्रा खोलाको दोभान बीचबाट पानी पम्पिङ गरेर ल्याउने उल्लेख गरिएको थियो ।

तर उक्त ठाउँ उपयुक्त नभएपछि ५७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अगाडि बढाइएको विभागले जनाएको छ । अबको एक हप्ताभित्र भेरीमा इन्टेक गराउने ठाउँमा गहिराइ नाप्ने र संरचना डिजाइनको काम दुई महिनाभित्र सक्ने गरी प्राविधिक टोली अगाडि बढेको छ ।

चार सय मिटर माथि पम्पिङ
उक्त ठाउँबाट पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिने छ । भेरीबाट चार सय मिटरमाथि पम्पिङ गरेर अमृतडाँडासम्म पानी ल्याउन मात्रै करिब दुई अर्ब रुपियाँ लगानी गर्नुपर्ने अनुमान गरिएको छ । अमृतडाँडामा १२ हजार क्युबिक लिटर क्षमताको ट्याङ्की निर्माण गरिने छ । मुहानदेखि अमृतडाँडासम्म पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा पानी वितरणका लागि संरचना तयार गर्न चार अर्ब ६३ करोड ७९ लाख नौ हजार रुपियाँ लाग्ने अनुमान छ ।
विभागका महानिर्देशक सूर्यराज कँडेलले ठूलो लगानीको आयोजना भएकाले विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिनुहुँदै अब काम तीव्र गतिमा अगाडि बढ्ने बताउनुभयो ।

अहिले सुर्खेत खानेपानी उपभोक्ता संस्थाले सुर्खेत उपत्यकामा खानेपानी उपलब्ध गराइरहेको छ । विभिन्न स्रोतबाट सङ्कलन गरेर अहिले सुर्खेत उपत्यकामा १५७ लिटर प्रतिसेकेन्ड पानी आउँछ । तर उपत्यकाको खानेपानी समस्या समाधान गर्न २५७ लिटर प्रतिसेकेन्ड पानी आउनुपर्छ । अहिले वीरेन्द्रनगरमा १८ हजारको हारहारीमा धारा जडान गरिएको छ । अबको ३० वर्षसम्मको मागलाई हेरेर वीरेन्द्रनगरमा खानेपानी योजना निर्माण गरिने र तत्कालको समस्या समाधान गर्नेगरी दीर्घकालीन योजना अगाडि बढाउन विभागले सक्रियता देखाएको हो । अहिले वीरेन्द्रनगरको जनसङ्ख्या दुई लाख जति रहेको र अबको ३० वर्षमा चार लाख पुग्ने अनुमान गरिएको छ । सोहीअनुसार दीर्घकालीन रूपमा योजना अगाडि बढाउने गरी विभाग लागिपरेको हो । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.