काठमाडौं । सौतेनी बाबुबाट बलात्कृत काठमाडौंको जोरपाटी बस्ने एक युवती अस्पतालमा जीवनमरणको संघर्षमा छिन् । गत १४ माघमा भएको बलात्कारका क्रममा प्रतिकार गर्दा २३ वर्षीया युवतीको हत्या प्रयास भएको थियो । युवतीको टाउकोमा गम्भीर चोट लागेको छ भने घाँटीको हड्डी भाँचिएको छ । दाँतहरूसमेत फुटेका छन् । वीर अस्पतालमा उपचाररत उनी अझै अर्धचेत रहेको उनकी आमाले बताइन् ।
‘हिजोबाट अलिकति होस आयो,’ सोमबार साँझ उनले भनिन्, ‘वेलावेला होस आउँछ, डाक्टरले अझै केही भन्न सकिने अवस्था छैन भनेका छन् ।’ पीडित युवती होस खुल्दा चिच्याउने गर्छिन् । त्यतिखेर अस्पतालको शैय्यामा समेत उनका हात बाँधेर राख्ने गरिन्छ । डेरामा एक्लै भएको वेला सौतेनी बुबा रमेश नाम परिवर्तनले उनीमाथि बलात्कार गरेका हुन् ।
पीडित युवती चार वर्षकी हुँदा उनकी आमा र रमेशले विवाह गरेका थिए । धनुषा घर भएका रमेशले त्यतिखेर आफू अविवाहित रहेको बताएका थिए । तर, पछि उनको घरमा श्रीमती, एक छोरा र छोरी रहेको थाहा भयो । उनीहरू गाउँमै बस्थे । बिहेपछि उनीहरूबाट पनि एक छोरी पनि जन्मिइन् । श्रीमान्–श्रीमती र दुई छोरी काठमाडौंमा बसिरहेका थिए । केही समयअघि मात्रै जेठी श्रीमतीपट्टिको छोरा पनि काठमाडौं आएर उनीहरूसँगै बस्न थालेका थिए ।
घटना भएका दिन पीडित युवतीकी आमा उपचारका लागि अस्पताल भर्ना भएकी कान्छी छोरीको कुरुवा बसेकी थिइन् । उनीसँगै रमेशको जेठी श्रीमतीतिरका छोरा पनि अस्पतालमै थिए । बलात्कार र हत्या प्रयासपछि रमेश भागेर धनुषा गएका थिए । उनलाई १५ माघमा धनुषाबाटै पक्राउ गरी ल्याइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
‘भोलिपल्ट बिहान अस्पतालमा खाना ल्याउन फोन गर्दा उसले ९अभियुक्त रमेश०ले कोठामा गएर हेर, तेरी छोरीको के हाल गराएको छु भन्यो,’ पीडित युवतीकी आमाले भनिन्, ‘नभन्दै कोठामा गएर हेर्दा छोरी रक्ताम्य अवस्थामा बेहोस थिइन् ।’ रमेशको जेठी श्रीमतीपट्टिका छोराले नै उनलाई ट्याक्सीमा राखेर उपचारका लागि नेपाल मेडिकल कलेज पुर्याएका थिए । ‘अनुहार र टाउको पूरै रक्ताम्य थियो,’ पीडित युवतीकी आमाले भनिन्, ‘आफ्नै मान्छेबाट यस्तो नसोचेको अपराध भयो ।’
बलात्कार प्रतिकार गर्ने क्रममा युवतीले रमेशको हात टोकिदिएकी थिइन् । त्यसपछि रिसाएका उनले ढुंगाले टाउकोमा हान्नुका साथै फलाममा टाउको ठोक्काएका थिए । प्रहरीको बयानमा उनले रक्सीको नसामा त्यस्तो अपराध गरेको बयान दिएका छन् ।
उनलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाइएको बौद्ध वृत्तका डिएसपी नवीन कार्कीले बताए । पीडित युवतीको परिवार निम्न आर्थिक अवस्थाको छ । सबैजना नजिकै ऊनी कारखानामा काम गर्छन । मजदुरी गरेको पैसाबाट अहिले उपचार खर्च जुटाउनसमेत गाह्रो भइरहेको उनकी आमाले बताइन् ।
पीडित युवतीकी आमा भन्छिन्– ऋण खोजेर उपचार गराइरहेकी छु
आर्थिक अवस्था कमजोर छ, त्यसैले हामी नजिकैको ऊनी फ्याक्ट्रीमा मजदुरी गर्छौँ । त्यस दिन म अस्पतालमा थिएँ । त्यही दिन कान्छी छोरीको खुट्टाको अप्रेसन भएको थियो । उसको ९अभियुक्त रमेश०को छोरो र म अस्पतालमै बस्यौैँ । राति जेठी छोरी ९पीडित युवती० र ऊ ९रमेश० पनि अस्पताल आएका थिए । केहीबेरपछि बुबा–छोरी कोठामा फर्किए, हामी अस्पतालमै बस्यौँ । राति करिब ९ बजेतिर छोरी ९पीडित युवती०ले फोन गरेर ‘बहिनीको होस आउनेबित्तिकै मलाई बोलाउनुस् ल’ भनेकी थिई ।
भोलिपल्ट बिहान ‘ममी मेरो मोबाइलबाट बुबालाई फोन लागेन, तपाईंको मोबाइल दिनु न’ भनेर छोरा ९रमेशको०ले माग्यो । फोनमा उसले बुबा ९रमेश०लाई ‘खाना लिएर आउँदा औषधि पनि लिएर आउन’ भन्यो । तर, उताबाट उसले रमेश ‘मैले त्यसको छोरीलाई मारिसकेँ, त्यहाँबाट तँ पनि भाग’ भन्यो । त्यसपछि मोबाइल तानेर मैले कुरा गरेँ । उसले ‘कोठामा गएर हेर तेरी छोरीको के हाल गराएको छु’ भन्यो ।
नभन्दै कोठामा गएर हेर्दा छोरी बेहोस थिई, टाउको पूरै रक्ताम्य थियो । उसैको ९रमेशको० छोराले बेहोस भएकी छोरीलाई गाडीमा राखेर नेपाल मेडिकल कलेज ल्यायो । एमआरआई गर्नुपर्ने भएकाले त्यहाँबाट वीर अस्पतालमा रिफर गरियो । बाँच्छे भन्ने लागेकै थिएन । हिजोबाट बल्ल अलिअलि होस आएको छ ।
होस आएको वेला पनि के–के भनेर कराउँछे । होस आउँदा हातखुट्टा बाँधेर राख्नुपर्छ । अस्पतालमा कुरेको १२ दिन भइसकेको छ । सहयोग गर्ने कोही पनि छैनन् । आफन्तहरूसँग ऋण खोजेर उपचार गराइरहेकी छु । नयाँ पत्रिका दैनिकबाट…
