काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल चलिरहेको छ । नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अधिकांश युवा खेलाडी समावेश गरेर बुधबार नेपालाई लाओससँग २–० को जित निकाल्न सफल भए । तर, राष्ट्रिय टोलीमा लामो समय व्यतित गरेका मिडफिल्डर सुजल श्रेष्ठ, डिफेन्डर रन्जित धिमाल र सरोज दाहाल भने अस्ट्रेलिया उड्न ब्याकिङमा व्यस्त थिए ।
सुजल र रन्जित बिहीबार नै अस्ट्रेलिया उडे भने सरोज शुक्रबार उड्दै छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरू विदेश पलायन हुनेक्रम रोकिएको छैन ।माघको पहिलो साता राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया भासिए । यू–१२ देखि राष्ट्रिय टोलीसम्मका उनका सहकर्मी सुजल श्रेष्ठले कठै मेरो देश उज्ज्वल भविष्य र सफलताको शुभकामना प्रियमित्र विशाल राई । भनेर बिदाई गरेका थिए ।
त्यसको ठीक दुई महिनापछि सुजलले पनि अस्ट्रेलियाको गन्तव्य रोजे । सुजलले पछिल्लोपटक नेपालमा गत ३० कात्तिकमा पाकिस्तानविरुद्धको खेल खेलेका थिए । सुजलले अस्ट्रेलिया उड्नुअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
रोकिएन खेलाडी बिदेसिनेक्रम
‘सम्पूर्णमा मेरो न्यानो नमन । ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुशीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षण । यी सबै तीतामिठा सम्झना मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफनो सन्न्यास घोषणा गर्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने यो मेरा लागि उपयुक्त समय हो । अब पालो नया पुस्ताको हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टोली यू–२३० ले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले १९ मार्च २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले ४५ खेलमा ३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अस्ट्रेलियामा बेनी एफसीबाट खेल्ने योजनामा रहेका सुजलले स्वदेशमा क्लब फुटबललाई निरन्तरता दिने सम्भावना पनि रहेको बताए ।
एन्फा एकेडेमीका उत्पादन सुजल राष्ट्रिय टोलीको ठूलो सफलताका सदस्यसमेत हुन् । चोटका कारण सुजल गत वर्ष मैदानबाहिर रहनुपरेको थियो । उनकै कप्तानीमा मछिन्द्र फुटबल क्लब लगातार दुईपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो । मनाङ–मस्याङ्दी क्लबबाट पनि उनले दुईपटक नै सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि चुमे । २०७३ सालमा मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलले नै गोल गरेका थिए ।
मनाङसँग झन्डै एक दशकको यात्राको अन्त्य गर्दै २०७६ सालमा सुजल मछिन्द्रमा आबद्ध भएका थिए । उत्कृष्ट प्रदर्शन गरिरहेका सुजल यस सिजनको लिगको अन्तिम खेलमा चोट बोक्न पुगेपछि उनी राष्ट्रिय टोलीमा समेटिन सकेनन् । खेलाडी बिदेसिनुमा नियमित रूपमा फुटबल नहुनु, पारिवारिक जिम्मेवारी बढ्नु र बिदेसिने ट्रेन दोषी भएको खेलकुदविज्ञ दिवाकारलाल आमात्य बताउँछन् । एन्फामा स्वार्थको राजनीति मौलाएका कारण पनि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन विदेश रोज्न थालेका छन् । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सँग फुटबल विकासको दीर्घकालीन योजना नै छैन । जसका कारण पछिल्लो समय प्रत्येक महिनाजसो खेलाडी बिदेसिएका समाचार बन्छ ।
हालसम्म ४० भन्दा बढी खेलाडीले सुरक्षित भविष्यको सपना बोकेर अस्ट्रेलिया, न्युजिल्यान्ड र दुबई पुगेका छन् । नेपाली फुटबल खेलाडीलाई अस्ट्रेलियाले किन आकर्षित र मोहित बनाइरहेको छ रु यसको सहज उत्तर छ । अस्ट्रेलियामा खेलसँगै राम्रो आम्दानी हुन्छ । फुटबल खेल्न जाने त माध्यम मात्र हो । उनीहरू त्यहाँ फुटबलसँगै काम गरी राम्रो धन आर्जन गर्ने लक्ष्यका साथ पुगेका देखिन्छन् । एन्फाले भने आफूखुशी बिदेसिने खेलाडीलाई रोक्न नसकिने बताउँदै आएको छ । उसले खेलाडी विदेशी ट्रेनको भने अध्ययन गर्न आवश्यक ठानेको देखिँदैन ।
कुन खेलाडी कहाँ ?
जगजित श्रेष्ठ (अस्ट्रेलिया– लिग खेल्न फर्किएको), सुलभ मास्के (अस्ट्रेलिया), विमल बस्नेत (अस्ट्रेलिया), सविन्द्र श्रेष्ठ (अस्ट्रेलिया), हेमन गुरुङ (अस्ट्रेलिया) र एलन न्यौपाने (अस्ट्रेलिया)
पछिल्लो एक वर्षमा बिदेसिएका फुटबल खेलाडीहरू
सुमन लामा (अस्ट्रेलिया), आशिष लामा (अस्ट्रेलिया), दर्शन गुरुङ (अस्ट्रेलिया), सन्तोष तामाङ (अस्ट्रेलिया), अमिर श्रेष्ठ (अस्ट्रेलिया), विमल राना अस्ट्रेलिया, शिव गुरुङ अस्ट्रेलिया, राजन गुरुङ अस्ट्रेलिया, नवीन गुरुङ अस्ट्रेलिया, अभिषेक रिजाल अस्ट्रेलिया, हेमन्त थापामगर अस्ट्रेलिया, सुमन अर्याल अस्ट्रेलिया, गौतम श्रेष्ठ अस्ट्रेलिया, तेज तामाङ अस्ट्रेलिया, दिनेश राजवंशी अस्ट्रेलिया, नितिन थापा अस्ट्रेलिया, विश्व अधिकारी अस्ट्रेलिया, प्रविण शैजु अस्ट्रेलिया, दिलेन लोक्ताम
अस्ट्रेलिया, सन्जोक राई अस्ट्रेलिया, रोहित कार्की अस्ट्रेलिया, सूर्य अधिकारी अस्ट्रेलिया, रूपबहादुर लामा अस्ट्रेलिया, त्रिदेव गुरुङ अस्ट्रेलिया, मिक्चेन तामाङ अस्ट्रेलिया, रवि थिङ अस्ट्रेलिया, रन्जन विष्ट अस्ट्रेलिया, विवेक बस्नेत दुबई, रोशन खड्का दुबई, सरोज कोइराला दुबई, निरकुमार राई दुबई, निरज बस्नेत न्युजिल्यान्ड, राजेन्द्र रावल अस्ट्रेलिया, रवि थापा अस्ट्रेलिया, अजित प्रजापति अस्ट्रेलिया, रेजिन सुब्बा अस्ट्रेलिया– लिग खेल्न फर्किएको, आकाश बुढा मगर अस्ट्रेलिया, रमेश बर्तौला अस्ट्रेलिया, विशाल राई अस्ट्रेलिया, सुनिल बल अस्ट्रेलिया, सुजल श्रेष्ठ अस्ट्रेलिया, रन्जित धिमाल अस्ट्रेलिया र सरोज दाहाल अस्ट्रेलिया
