सिन्धुपाल्चोक, २३ जेठ । मेलम्चि नगरपालिका वडा नं २ भोटेचौरमा रहेको प्रसिद्ध चियावगान विगतमा पर्यटक र चिया प्रेमीहरूको लागि महत्वपूर्ण गन्तव्य थियो । काठमाडौंबाट करिब ४० किलोमिटरको दुरीमा अवस्थित यो स्थानलाई ‘सानो इलाम’ भनेर पनि चिनिन्छ । यहाँको एभरेस्ट चियावगान, जुगल र लाङटाङ हिमालका सुन्दर दृश्यहरूले पर्यटकहरूलाई आकर्षित गर्दै आएको थियो ।

यस क्षेत्रमा जैविक खेतीमा समेत विशेष ध्यान दिइन्थ्यो । ट्राउट माछापालन, जैविक तरकारी उत्पादन र गुणस्तरीय चिया उत्पादन यहाँको मुख्य पेशा थियो । स्थानीय किसानहरू र फार्म सञ्चालकहरू यस क्षेत्रमा कृषि र पर्यटनलाई समेटेर आर्थिक विकासमा लागेका थिए । शनिबार र विदाका दिन पर्यटकहरूको उपस्थिति उच्च हुने गरेको थियो, जसले भोटेचौरलाई घरेलु पर्यटनको केन्द्र बनाएको थियो ।

तर, पछिल्लो समय यो चियावगानको अवस्था अत्यन्तै वेवारिसे बनेको छ । मलिन भएका चियाका बोटहरूले पहाडलाई खाली बनाउँदै गएका छन् । स्थानीय किसानहरूकाे जग्गा प्रयोग र कम्पनीले जिम्मेवारी लिन नसकिन बताएपछि फार्म बन्द भएकाे हाे । यसले नजिकको क्षेत्रका आर्थिक क्रियाकलापमा पनि नकारात्मक प्रभाव पारेको छ ।

पर्यटकहरूको रोजाइमा पर्ने यो रमणीय स्थल व्यवस्थापनको अभाव र आर्थिक कठिनाइका कारण शुन्य जस्तो बनेको छ । यसले न केवल स्थानीय किसानहरूलाई मात्र प्रभावित बनाएको नभइ यस क्षेत्रको पर्यटन र जैविक कृषिमा पनि ठूलो असर परेको छ ।
स्थानीय तह र सम्बन्धित निकायहरूले व्यवस्थापन सुधार गरी संरक्षणमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ । भोटेचौर जस्तो प्राकृतिक सौन्दर्य र जैविक खेतीले सम्पन्न क्षेत्र फेरि पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक कदम चालिनुपर्नेमा स्थानीयहरूको जोड छ ।

पर्यटन प्रवर्द्धन, आधुनिक कृषि प्रविधि अपनाउने र व्यवस्थापनमा सुधार ल्याउने काम अगाडि बढाएमा भोटेचौर फेरि ‘सानो इलाम’को उपमा अनुसार हरियाली र समृद्धिको प्रतीक बन्न सक्छ ।
यसरी, मेलम्चिको भोटेचौरको चियावगान हामीलाई संरक्षण र व्यवस्थापनको महत्व सम्झाउने क्रममा रहेको छ । स्थानीय समुदायको जीविकोपार्जन र पर्यावरणीय संरक्षणका लागि यस क्षेत्रमा पुनः जीवन फर्काउनुपर्ने आवश्यकता रहेकाे छ ।



