एजेन्सी /न्यूयोर्क । न्यूयोर्कको म्यानह्याटनको व्यस्त क्षेत्र मिडटाउनस्थित ३४५ पार्क एभेन्यूमा सोमबार साँझ भएको गोलीकाण्डमा अफ-ड्युटी एनवाईपीडी अफिसरसहित चार जनाको ज्यान गएको छ । आक्रमणकारी एक्लै थिए र पछि सोही भवनको ३३औँ तलामा आत्महत्या गरेका थिए, स्रोतहरूले जनाएका छन् ।
घटना साँझ करिब ६:३० बजे घटेको हो । आक्रमणकारी एक लामो बन्दूक र शरीरमा बुलेटप्रुफ ज्याकेट लगाएर भवनभित्र प्रवेश गरेका थिए । सुरक्षामा खटिएका एक अफ-ड्युटी प्रहरीलाई उनले गोली हानी हत्या गरेपछि अन्य तीन सर्वसाधारणलाई पनि गोली हानेका थिए ।
एनवाईपीडी कमिश्नर जेसिका टिशले सामाजिक सञ्जाल ‘X’ मा लेखेकी छन् :
“हाल अवस्था नियन्त्रणमा छ र आक्रमणकारीलाई निष्क्रिय बनाइएको छ ।”
उक्त भवनमा ब्ल्याकस्टोन कम्पनी र नेशनल फुटबल लिग (NFL) को मुख्य कार्यालय पनि रहेको छ । घटनापछि भवनभित्रका कर्मचारीहरूलाई प्रहरीको निगरानीमा सुरक्षित रुपमा बाहिर ल्याउने काम भइरहेको छ । कतिपयलाई अझै पनि shelter-in-place को सूचनाअनुसार रहन भनिएको छ । ३२औं तलामा रहेका कर्मचारीहरूले ढोका थुन्न कुर्सीहरू पल्टाएर बारिकेड बनाएको एक फोटो सार्वजनिक भएको छ । घाइते प्रहरीलाई वेल कोर्नेल मेडिकल सेन्टर पुर्याइयो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरे । अन्य घाइतेलाई बेल्भ्यु अस्पताल लगिएको छ ।

सुरक्षा क्यामेराले आक्रमणकारीको तस्बिर खिचेको छ जसमा उनी हातमा लामो बन्दूक बोकेर भवनबाहिर हिँडिरहेको देखिन्छ । प्रहरीले आक्रमणकारी किन ३३औँ तलामा पुगे भन्ने अनुसन्धान गरिरहेको छ । उनी विशेष रूपमा त्यहीँ जान चाहन्थे वा संयोगले त्यहाँ पुगे भन्ने विषयमा अझै पुष्टि हुन बाँकी छ ।
घटनाको प्रत्यक्षदर्शी जेसिका चेनले: “म र ढोकाबीच एक पल्टिएको कुर्सी मात्र थियो । मैले आमाबुबालाई सन्देश पठाएँ । त्यो क्षणको डर र अन्योल शब्दमा बयान गर्न सकिन्न ।”
प्रहरीले जनतालाई ईस्ट ५२औँ स्ट्रिटको पार्क एभेन्यूदेखि लेक्सिङ्टन एभेन्यूसम्मको क्षेत्र नजिक नजान अनुरोध गरेको छ ।
