एजेन्सी । बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा जर्मनीका विभिन्न सहरमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही पसलमा लुटपाटसमेत भएको बीबीसीले जनाएको छ ।
जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका हुन् । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी, ढुङ्गा र बोतल प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरी भीडलाई तितरबितर पारेको समाचारमा उल्लेख छ ।
प्रदर्शनमा हजारौँ युवाले सहभागिता जनाएका थिए । उनीहरूले विद्यालय तथा शिक्षामा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, स्वास्थ्य र सामाजिक सेवामा बजेट कटौती रोक्नुपर्ने तथा बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग पनि प्रदर्शनकारीले अघि सारेका छन् ।
यसैबीच, फ्रान्समा पनि महँगीविरुद्ध युवाहरूको नेतृत्वमा प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा करिब एक लाख २० हजारभन्दा बढी मानिस सहभागी भएको समाचारमा उल्लेख छ । युरोपका विभिन्न देशमा बढ्दो महँगी, सार्वजनिक सेवामा बजेट कटौती र सरकारी नीतिको विरोधमा युवाहरूको प्रदर्शन चर्किंदै गएको छ ।
