भर्खरै : Sorry, your browser does not support inline SVG.

आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना

आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं, १८ साउन । जल तथा मौसम विज्ञान विभागले आउँदो तीन दिन देशभर मनसुन सक्रिय रहने र विभिन्न स्थानमा भारीदेखि अति भारी (आरिघोप्टे) वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक/दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा मुसलधारे वर्षा हुन सक्छ। साथै कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ। बर्दियाको ताराताल, कास्कीको याङ्जाकोट तथा चितवनका केही स्थानमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ।

विभागका अनुसार भोलि र पर्सि पनि देशभर मनसुन सक्रिय रहनेछ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.