भर्खरै : Sorry, your browser does not support inline SVG.

इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु

इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु

काठमाडौं, १८ साउन । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै रहेको जाभा समुद्रमा २५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक जहाजमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ। घटनापछि ३९ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

सुराबाया खोज तथा उद्धार कार्यालयका अनुसार उक्त जहाज आइतबार पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुको मकासरतर्फ प्रस्थान गरेको थियो। सापुदी टापुबाट करिब ३५ किलोमिटर उत्तर पुगेपछि जहाजमा अचानक आगलागी भएको थियो।

आगलागी भएपछि यात्रुहरू ज्यान बचाउन जहाजको ब्रिज र अगाडिको भाग (बो) मा जम्मा भएका थिए। केही यात्रुले समुद्रमा हाम फालेका थिए, जसलाई नजिकै रहेका अन्य जहाजले तत्काल उद्धार गरेको समाचार संस्था एपीले जनाएको छ।

घटनास्थलमा अहिले पनि खोज तथा उद्धार कार्य जारी रहेको छ। आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेको छ।उक्त १६० मिटर लामो जहाज सन् १९९२ मा जापानमा निर्माण गरिएको थियो भने २०१५ मा इण्डोनेसियालाई बिक्री गरिएको थियो।

सत्र हजारभन्दा बढी टापु भएको इण्डोनेसियामा समुद्री यातायात प्रमुख आवागमनको माध्यम हो। तर कमजोर सुरक्षा मापदण्डका कारण त्यहाँ बेला–बेलामा यस्ता समुद्री दुर्घटनाहरू दोहोरिने गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.