भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मुग्लिन–पोखरा सडक विस्तार, पूर्वी खण्डमा ९ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक विस्तार, पूर्वी खण्डमा ९ किमी कालोपत्र

दमौली । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा ४२ प्रतिशत प्रगति हासिल भएको हो।

सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अघि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। ४१।५ किलोमिटर खण्डमध्ये हालसम्म ९ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए।

त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबार शुरू भएको छ। आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र शुरु गरिएको उनले बताए। ‘गाउँपालिका चोकबाट शुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ’, उनले भने।

यसअघि आँबुखैरेनी –१ सत्रसयबाट शुरु गरेर मार्किचोकसम्म गरी ३।५ किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ। अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ। उनका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म ५.५ किलोमिटर र आँबुखैरेनी –१ बरादीमा ३।५ किलोमिटर खण्ड कालोपत्र सकिएको छ। उनले भने, ‘दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ। केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ।’

पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उनको भनाइ छ। पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ। यो खण्डमा ६३१ घरटहरा भत्काइने छ। त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो। ४१।४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म रहेको छ। पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ।

२०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ। चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ। रासस

 

 


Thali Mobile Pvt.Ltd.