मध्यविन्दु, १४ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा किसानहरू तेलहन बाली (तोरी) खेतीतर्फ आकर्षित भएका छन् । पछिल्ला केही वर्षयता तोरीको मूल्य बढ्दै गएपछि जिल्लामा यो बाली लगाउने किसानको सङ्ख्या बढेको हो ।
कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार अन्य बालीको तुलनामा तोरीखेतीबाट राम्रो आम्दानी हुने तथा बजारमा पाइने तेलभन्दा आफ्नै उत्पादनको तेल प्रयोग गर्न सकिने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।
यस वर्ष जिल्लामा तीन हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती गरिएको छ । गत वर्ष तीन हजार ७२५ हेक्टरमा खेती भएकोमा यस वर्ष थप २१ हेक्टर क्षेत्रफलमा विस्तार भएको जानकारी दिइएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ७२५ हेक्टरमा खेती हुँदा चार हजार ४३० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने तीन हजार ७४६ हेक्टरबाट चार हजार ६६७ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।
जिल्लाका कावासोती, देवचुली, गैँडाकोट लगायत क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार यस वर्ष प्रतिहेक्टर करिब १.२५ मेट्रिक टन उत्पादन हुने अनुमान छ ।
उनका अनुसार तोरी खेती गर्न सजिलो हुने, धेरै मेहनत नलाग्ने र बजारमा तेलमा मिसावट हुने गुनासो बढ्दै जाँदा किसानहरू आफ्नै उत्पादनको तेल प्रयोग गर्नतर्फ उन्मुख भएका छन् ।
तोरी बाली करिब ८० देखि ९० दिनभित्र तयार हुन्छ । यसबाट निस्कने पिना मलका रूपमा प्रयोग गर्न मिल्ने भएकाले पनि यसको खेती लाभदायक मानिन्छ ।
धनपति अधिकारी, जो वर्षौंदेखि तोरी खेती गर्दै आएका छन्, उनले घरमा वर्षभरि खान पुग्ने र केही बिक्री गर्न सकिने भएकाले खेती बढाउँदै लगेको बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा गाउँमै तोरीको माग बढेकाले उत्पादन पनि बढाइएको हो ।
