काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
आयोगले निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर भइरहेको जनाएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा उपलब्ध गराउन सम्बन्धित मतदानस्थलमा आवश्यक व्यवस्था गर्न भनिएको छ ।
यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । साथै आपतकालीन उपचार सेवा सुनिश्चित गर्न देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उक्त मन्त्रालयमार्फत सम्बन्धित निकायलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले नेपाल सरकार लगायत सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको छ । मतदाताको सहभागिता सुनिश्चित गर्न मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरिसकेको छ ।
मतदान प्रक्रिया व्यवस्थित बनाउन तहगत सरकार तथा सरोकारवालासँग सहकार्यको अवधारणाअनुसार मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सरकारी संरचना र तिनका भौतिक सम्पत्ति फागुन १९ देखि २१ गतेसम्म प्रयोग गर्न मिल्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको छ । यस सम्बन्धमा गृह मन्त्रालयमार्फत आवश्यक पत्राचार भइसकेको आयोगले जनाएको छ ।
आयोगले निर्णयअनुसार आवश्यक सहयोग गर्न संघीय, प्रदेश, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ ।
