नेपाल बाल संगठनको रकम अपचलन आरोपमा तीन जना पक्राउ परेका छन्।
आशा श्रेष्ठले १८ महिनासम्म दोहोरो तलब लिएको आरोप।
राजेन्द्र कुमार श्रेष्ठले संस्थाको रकमबाट आफ्नै नाममा कार खरिद गरेको अनुसन्धानमा खुलेको दाबी।
ओमकृष्ण कर्माचार्यमाथि ललितपुर शाखाबाट डेढ लाख रुपैयाँ हिनामिना गरेको आरोप।
सीआईबीले ठगी र आपराधिक विश्वासघात कसुरमा अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ, ३१ असार । नेपाल बाल संगठन (बालमन्दिर) को रकम अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात कसुरमा अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ निवासी ५४ वर्षीया आशा श्रेष्ठ, ललितपुर महानगरपालिका–५ थसिखेल निवासी ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र गोकर्णेश्वर नगरपालिका–१ निवासी ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ रहेका छन्।
सीआईबीका अनुसार उनीहरूलाई उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराई नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग (२०७७) को प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो। उनीहरूलाई असार २४ गते पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले नेपाल बाल संगठनको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको देखिएको प्रहरीको दाबी छ।
आशा श्रेष्ठमाथि १८ महिनाको दोहोरो तलब लिएको आरोप
आशा श्रेष्ठ बालमन्दिरको योजना तथा छात्रवृत्ति शाखा प्रमुखका रूपमा कार्यरत रहँदा १८ महिनासम्म दोहोरो तलब लिएको आरोप लागेको छ। जाँचबुझ आयोगको प्रतिवेदनपछि उनलाई जिम्मेवारीबाट हटाइएको थियो।
नेपाल बाल संगठनले नियमविपरीत लिएको रकम तथा त्यसको ब्याज फिर्ता गर्न पत्राचार गरे पनि उनले कानुनी प्रक्रियामा जाने जवाफ दिएको संस्थाकी अध्यक्ष विद्या न्यौपानेले बताएकी छन्। संस्थाका अनुसार आशाले दुई लाख रुपैयाँभन्दा बढी रकम बुझाउन बाँकी रहेको देखिएको छ।
ललितपुर शाखाबाट डेढ लाख हिनामिना गरेको आरोप
पक्राउ परेका ओमकृष्ण कर्माचार्य नेपाल बाल संगठन ललितपुर जिल्ला कार्यसमितिका तत्कालीन सभापति हुन्। अनुसन्धानका क्रममा उनले ललितपुर शाखाबाट करिब डेढ लाख रुपैयाँ हिनामिना गरेको खुलेको सीआईबीले जनाएको छ। संस्थाले रकम फिर्ता गर्न आग्रह गरे पनि उनले अस्वीकार गर्दै कानुनी बाटो रोज्ने बताएका थिए।
संस्थाको रकमबाट व्यक्तिगत नाममा कार खरिद
अनुसन्धानमा राजेन्द्र कुमार श्रेष्ठले नेपाल बाल संगठनको रकमबाट मारुती सुजुकी कार खरिद गरी आफ्नै व्यक्तिगत नाममा दर्ता गरेको भेटिएको प्रहरीको दाबी छ।
हाल उक्त गाडी नेपाल बाल संगठनले आफ्नो नियन्त्रणमा ल्याइसकेको छ। यद्यपि श्रेष्ठले गाडी खरिदका लागि सहकारीबाट पनि ऋण लिएको दाबी गरेका छन्, जसबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
आयोगको प्रतिवेदनपछि अनुसन्धान
सीआईबीका अनुसार जाँचबुझ आयोगले औंल्याएको हिनामिना रकम फिर्ता नगरेका व्यक्तिहरूमाथि मात्र हाल अनुसन्धान भइरहेको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसपछि गृह मन्त्रालयमार्फत अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिइएको थियो।
यसअघि पनि बाल संगठनको २८ रोपनी ५ आना जग्गा न्यून मूल्यमा लिजमा दिएको प्रकरणमा सीआईबीले अनुसन्धान गरी तत्कालीन अध्यक्ष रीता सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। उक्त मुद्दा हाल अदालतमा विचाराधीन रहेको छ।
