नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा

नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा

काठमाडौं, ८ साउन । नेपालले आर्थिक वर्ष २०८२/०८३ मा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार कुल व्यापारमध्ये आयातको हिस्सा झन्डै ८७ प्रतिशत रहेको छ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यसअनुसार कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ। उक्त वर्ष कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबर रहेको थियो।

नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तुमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री र स्मार्टफोन रहेका छन्।

त्यस्तै, सबैभन्दा बढी निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल, अलैँची, गलैँचा, सनफ्लावर तेल, जुटजन्य सामग्री तथा पाम तेल रहेका छन्।

तथ्याङ्कले नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको देखाएको छ। निर्यातमा सुधार भए पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेकाले व्यापार घाटा न्यूनीकरणका लागि उत्पादन र निर्यात प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.